उद्योग संगठनद्वारा विराटनगरमा पहिलो पटक घर निर्माण प्रदर्शनी आयोजना, ५ दिनसम्म चल्ने

14
Shares

विराटनगर । उद्योग संगठन मोरङले बिहीबार कोशी प्रदेशमा पहिलो पटक घर निर्माण प्रदर्शनीको आयोजना गरेको छ । स्थानीय जैन भवनमा चैत १६ गते सम्म जारी रहने प्रदर्शनीको मुख्य उद्देश्य घर निर्माणसम्बन्धी सम्पूर्ण जानकारी, प्रविधि र सामग्रीलाई एउटै छानामुनि उपलब्ध गराउनु रहेको छ ।

शिथिल रहेको औद्योगिक तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन, स्वदेशी निर्माण सामग्रीको प्रवर्द्धन र सुरक्षित घर निर्माणबारे उपभोक्तामा सचेतना जगाउन प्रदर्शनीले भूमिका खेल्ने संगठनका उपाध्यक्ष तथा प्रदर्शनीका संयोजक सुरेन्द्र गोल्छाको भनाइ छ ।

प्रदर्शनी स्थलबाट अवलोकनकर्ताले सिमेन्ट, फलाम (रड), विद्युत सामग्री, जिप्सम बोर्ड, आन्तरिक सजावट, होम सेक्युरिटी सिस्टम, सौर्य प्रविधिलगायतका अनेकौं प्रविधिको जानकारी पाउनुका साथै सिभिल इन्जिनियर, आर्किटेक्ट र आन्तरिक सजावट लगायतका घर निर्माणसम्बन्धी प्राविधिक परामर्शसमेत उपलब्ध गराउँदै प्यानल छलफलबाट घर निर्माण क्षेत्रका जल्दाबल्दा सवालहरूमाथि विज्ञहरूको रायसमेत उपलब्ध हुने गोल्छाले बताए ।

प्रदर्शनीले नयाँ घर निर्माण गर्न चाहनेदेखि मर्मत (रिनोभेसन) गर्न इच्छुकसम्मलाई आवश्यक प्रविधि, लागत र डिजाइनबारे जानकारी दिने उद्देश्य राखिएको छ । प्रदर्शनी अवधिभर भवन मापदण्ड, भूकम्प प्रतिरोधी संरचना, विद्युत तथा अग्नि सुरक्षा, आधुनिक डिजाइनलगायत विषयमा पनि छलफल हुनेछ ।

प्रदर्शनीकै अवसरमा सरकारी निकाय, प्राविधिक शिक्षालय र निजी क्षेत्रबीच सहकार्यमार्फत विद्यार्थी र व्यवसायीलाई नयाँ सिकाइको अवसर प्रदान गर्ने लक्ष्य लिइएको जनाइएको छ । सुरक्षित घर, स्मार्ट जीवन’ भन्ने मूल अवधारणालाई कार्यान्वयन गर्न प्रदर्शनी सफल हुने संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको छ ।

प्रदर्शनीले निर्माण क्षेत्रसँग सम्बन्धित उद्योग, व्यवसायी र उपभोक्ताबीच सहकार्य विस्तार गर्दै आर्थिक गतिविधि चलायमान बनाउन योगदान पु¥याउने राठीको अपेक्षा छ । उनले निजी क्षेत्रले प्रदर्शनी स्थलको अभावमा सधै महँगो भाँडा तिरेर प्रदर्शनी गर्नुपर्ने बिडम्बना रहेको दुखेसो गरेका थिए ।

संगठनले व्यवसाय देखि व्यवसाय तथा व्यवसाय देखि उपभोक्ता नेटवर्किङलाई प्रवर्द्धन गर्दै लक्षित बजार र क्षेत्र–विशेषलाई चलायमान बनाउने माध्यमको रूपमा विषयगत एक्स्पोहरूको आवश्यकता महसुस गरी निर्माण क्षेत्रको इकोसिस्टम विकासको प्रयास स्वरूप घर निर्माण प्रदर्शनीको आयोजना गरेको राठीले बताए ।

निर्माण क्षेत्रका नेपाली औद्योगिक उत्पादन तथा सेवाहरूको प्रवर्द्धन, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अभिप्रायका साथ सुरु भएको यो प्रदर्शनीमा घर निर्माणसंग सम्बन्धित कच्चा पदार्थदेखि लिएर आन्तरिक सजावटका सामग्रीसम्मका विविध उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछ ।

प्रदर्शनीको माध्यमबाट निर्माण मूल्य शृंखलामा संलग्न उत्पादक, सेवा प्रदायक, डिजाइनर, नीति–निर्माता र उपभोक्ता लगायत सबै सरोकारवालाहरूलाई एउटै छानामुनि एकत्रित गरिनेछ । यसले नवप्रवर्तनको प्रदर्शन, नयँ साझेदारी निर्माण तथा बजार सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यस प्रदर्शनीको मुख्य उद्देश्य नेपाली निर्माण सामग्री तथा सेवाहरूको प्रवर्द्धन, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आयात प्रतिस्थापन मार्फत देशको निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउनु रहेको छ ।

त्यसैगरी डिजाइन, सामग्री, प्रविधि तथा सेवाबीच सहकार्यलाई प्रोत्साहन गर्दै आधुनिक निर्माण अभ्यास, गुणस्तर र दिगोपनबारे उपभोक्तामा सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिर्ईएको छ । प्रदर्शनीले निर्माण क्षेत्रका उत्पादक, सेवा प्रदायक, नीति–निर्माता र प्रयोगकर्ताबीच सहकार्यको सेतु निर्माण गरी समग्र क्षेत्रको सुदृढीकरणमा योगदान पु¥याउने विश्वास आयोजकको छ । ७५ वटा स्टल राखिएको प्रदर्शनीको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गरेका थिए ।