
विराटनगर । पश्चिम एसिया युद्धले प्लास्टिकको बोतल बनाउने कच्चा पदार्थ दानाको अभाव हुँदा पूर्वी औद्योगिक करिडोरका उद्योगहरू बन्द भएका छन् ।
कच्चा पदार्थको अभाव भएपछि मोरङको बूढीगंगास्थित एलेक्जा लाइफ साइन्सेस प्राइभेट लिमिटेडको उत्पादन आजदेखि बन्द भएको छ । बिरामीलाई उपचारको क्रममा आवश्यक पर्ने स्लाइन पानी यो उद्योगबाट उत्पादन भइरहेको थियो ।
यो उद्योगबाट दैनिक ३० हजार बोतल स्लाइन पानी उत्पादन हुँदै आएको थियो । उद्योगका सञ्चालक दिनेश ठाकुरका अनुसार पश्चिम एसिया युद्धले बोतल बनाउने कच्चा पदार्थ प्लास्टिकको दाना अभावले बिहीबारदेखि उद्योगको उत्पादन ठप्प भएको हो ।
‘उद्योगमा रहेको स्टक कच्चा पदार्थ सकियो । युद्धसँगै कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि भयो । बढेको मूल्यमा पनि आयात भएन,’ ठाकुरले भने, ‘आपूर्तिकर्ताले बढेको मूल्यमा पनि प्लास्टिकका दाना नपठाएपछि उद्योग नै बन्द गर्नुपर्ने बाध्यता आयो ।’
वीरगञ्जमा रहेको अर्को स्लाइन पानी उद्योग एभरेष्ट प्यारेन्टेरल प्रालिको उत्पादन पनि १५ प्रतिशतमा झरेको छ । उद्योगले दैनिक ९० हजार बोतल स्लाइन पानी उत्पादन गर्दै आएको थियो ।
उद्योगका सञ्चालक उमंग सरियाले कच्चा पदार्थको अभावमा अहिले दैनिक १५ हजार बोतल स्लाइन मात्र उत्पादन हुँदै आएको क्लिकमान्डुलाई जानकारी दिए ।
‘दैनिक १०–१५ हजार बोतल स्लाइन पानी उत्पादन गर्न करिब एक साताका लागि पुग्ने कच्चा पदार्थ उद्योगमा स्टक छ । यो बीचमा कच्चा पदार्थ आयात नभए उद्योग पूर्ण रूपमा बन्द हुने अवस्था आएको छ,’ सरियाले भने, ‘युद्धसँगै बोतल बनाउने कच्चा पदार्थ प्लास्टिकका दानालगायतको कच्चा पदार्थको मूल्य दुई गुणा बढ्दा पनि आपूर्ति हुन सकेको छैन । आपूर्तिकर्ताले कन्साइनमेन्ट नै लिन छाड्यो । सात दिनभित्रमा कच्चा पदार्थ आपूर्ति हुन सकेन भने उद्योग स्वतः बन्द हुने स्थिति छ ।’
चार सयभन्दा बढी इन्टरमिडिएट प्लास्टिकका प्याकेजिङका सामग्री उत्पादन गर्दै आएको एमएम प्लास्टिक उद्योग पनि कच्चा पदार्थको अभावमा बढीमा सातासम्म मात्र चल्ने स्थिति छ ।
‘उद्योगमा स्टक कच्चा पदार्थ सकिन लाग्यो । बुक भएको कच्चा पदार्थ सप्लायर्सले पठाउन मानेको छैन । युद्धसँगै कच्चा पदार्थको मूल्य ७० प्रतिशतसम्म बढेको छ । बढेको मूल्यमा पनि कच्चा पदार्थ ल्याउन सकिएको छैन,’ उद्योगका सञ्चालक सुयश प्याकुरेलले भने, ‘एक–डेढ सातासम्म युद्ध जारी रहने र कच्चा आयात नहुने हो भने उद्योग स्वतः बन्द हुन्छ।’
एमएम प्लास्टिक उद्योगले नुनदेखि सुनसम्म प्याकिङ गर्ने ४ सयभन्दा बढी स्वदेशी र बहुराष्ट्रिय कम्पनीलाई प्याकिङ सामग्री उपलब्ध गर्दै आएको छ । प्याकुरेलले भने, ‘यही अवस्था रहे उद्योगमा रहेको कच्चा पदार्थको स्टक सकिएसँगै उद्योगको उत्पादन स्वतः बन्द हुने स्थिति रहँदा यसको असर सर्वत्र पर्ने निश्चित छ ।’
इरान, इजरायल र अमेरिकाबीचको युद्धको बाछिटा खाडी मुलुकमा पर्दा नेपालमा प्लास्टिक, औषधि, खाद्य तेल, कपडा, जुत्ता, निर्माण सामग्रीलगायत उद्योगमा कच्चा पदार्थको अभाव देखिन थालेको छ ।
कच्चा पदार्थको आयातमा अवरोध र मूल्यवृद्धिका कारण धेरै उद्योगले उत्पादन कटौती गरेका छन् । केही बन्द भए भने अधिकांश बन्द हुने अवस्थामा पुगेका छन् । प्याकुरेलले भने, ‘युद्ध लम्बिए आपूर्ति शृङ्खला थप प्रभावित भएर दैनिक उपभोग्य वस्तु मात्र नभएर औषधिको अभाव अनि मूल्यवृद्धि हुने चिन्ता बढेको छ ।’
युद्धका कारण औद्योगिक कच्चा पदार्थ उपलब्ध नहुँदा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका मात्र नभएर मुलुकभर रहेका प्लास्टिक उद्योग बन्दको अवस्थामा पुगेका छन् । युद्धसँगै प्लास्टिक उद्योगको कच्चा पदार्थको मूल्य ७० प्रतिशतले बढेको छ । उद्योगीले बढेकै मूल्यमा पनि कच्चा पदार्थ आयात गर्न नसक्दा कच्चा पदार्थको अभावमा उद्योग बन्द हुने स्थिति आएको सम्बद्ध उद्योगीको गुनासो छ ।
प्लास्टिक दाना नपाउँदा प्लास्टिकजन्य र प्याकेजिङ उद्योग बढी प्रभावित बनेका छन् । सलाइनसहित पानीका बोतल, बोतलका बिर्का, खानेपानी र भवन निर्माणमा प्रयोग हुने पाइप, प्लास्टिकका कुर्सी, प्याकेजिङका प्लास्टिक, कार्टुनलगायत सामग्रीको अभाव सुरु भएको अवस्था छ ।
कच्चा पदार्थ अभाव भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका मात्र सयभन्दा बढी प्लास्टिक उद्योगको उत्पादन प्रभावित भएको छ । भारत, चीन, कोरियासहित साउदी अरब, कतारलगायत खाडी मुलुकबाट भित्रिने कच्चा पदार्थ युद्ध सुरु भएयता नआएको बागमती प्लास्टिक उद्योगका संस्थापक नन्दकिशोर राठीले जनाए ।
खाडीका निर्यातकर्ताले कच्चा पदार्थ पठाउन सकेका छैनन् । खाडीको विकल्पका रूपमा भारतबाट समेत उद्योगले कच्चा पदार्थ आयात गर्थे । राठीले भने, ‘भारतले निर्यात रोकेपछि उद्योगहरूमा कच्चा पदार्थको अभाव शतप्रतिशत सुरु भयो ।’
हाइडेन्सिटी पोलिथिन पाइप म्यानुफ्याक्चरर्सका लागि प्रयोग हुने कच्चा पदार्थको मूल्य ६० प्रतिशतभन्दा बढीले बढेको छ । एचडीपी उद्योगमा प्रयोग गरिने कच्चा पदार्थ (एचडीपी ग्रानुयल्स) कच्चा तेलको प्रशोधन गरी उत्पादन गरिन्छ ।
पश्चिम एसियामा जारी तनावका कारण भारतलगायत तेस्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थको ढुवानी विगत केही सातादेखि अवरुद्ध भइरहेको छ । अधिकांश उद्योगमा कच्चा पदार्थको मौज्दात शून्य भएर बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूको भनाइ छ ।
प्लास्टिकजन्य उद्योगलाई आवश्यक औद्योगिक कच्चा पदार्थ पेट्रो केमिकल र पोलिमरको अभाव हुँदै गएको राठीले जनाए । भारतले अन्य मुलुकबाट ‘क्रुड आयल’ ल्याएर रिफाइन गरी नेपाललगायत अन्य मुलुकलाई पेट्रो केमिकल निर्यात गर्दै आएको छ । यति बेला भारतमै कच्चा तेलको समस्या रहेको र युद्ध लम्बिए नेपालका प्लास्टिकजन्य उद्योगसँगै अन्य उद्योग पनि बन्द हुने अवस्था आएको राठीको भनाइ छ ।
अहिले प्लास्टिकजन्य उद्योगमा प्रयोग हुने प्लास्टिक दानाको अभाव हुँदा यसको असर नेपालीको भान्सासहित चौतर्फी परेको छ । भारत हुँदै नेपाली भान्सासम्म पुग्ने भटमास र सूर्यमुखी तेलका लागि आवश्यक कच्चा पदार्थको आयातसमेत प्रभावित बनेको छ ।
कच्चा पदार्थ अभावकै कारण सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेका त्यस्ता उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
एक–डेढ साता कच्चा पदार्थ आयात नहुने हो भने प्लास्टिकका प्रायः सबै उद्योग नै बन्द हुने अवस्था छ । प्लास्टिकका उद्योग बन्द हुँदा प्याकेजिङ गर्ने सबै उद्योग बन्द हुने पक्का छ । राठीले भने, ‘युद्ध लम्बिए नेपालीको दैनिकी अभावमय हुने पक्का छ।’
कच्चा पदार्थको अभावमा प्लास्टिक उद्योगले प्याकेजिङका सामान उत्पादन कटौती गर्दा प्याकिङ सामानको अभावसँगै मूल्यवृद्धि भएर उपभोक्ता मारमा परेको उद्योगी ताराचन्द खेतानले बताए ।
त्रिशक्ति सिमेन्ट उद्योगका सञ्चालक समेत रहेका खेतानका अनुसार युद्ध हुनुअघि सिमेन्ट प्याक गर्ने बोरा प्रतिपिस १६ रुपैयाँमा पाइन्थ्यो । अहिले बढेर २८ रुपैयाँ पुगेको छ । त्यसैगरी वीरगञ्जबाट विराटनगरसम्मको ढुवानी प्रतिटन १६ हजार थियो । इन्धनको मूल्य बढेसँगै २३ हजार पुगेको छ । प्लास्टिकको कच्चा पदार्थ अभावमा प्याकिङका सामानको अभावसँगै मूल्यवृद्धि हुँदा चौतर्फी असर पुगेको खेतानको बुझाइ छ ।
आपूर्ति शृङ्खलामा आएको अवरोधसँगै मुलुकको निर्यात र उत्पादन लागत बढी प्रभावित हुने देखिएको छ । कार्गोलगायत सबै ढुवानीको भाडा बढेको छ । आयात–निर्यात ढुवानी बढ्दा उत्पादन लागत ५० प्रतिशतसम्म बढ्ने खेतानको अनुमान छ । पश्चिम एसियाबाट कार्गो आएनन् भने वस्तु आयात–निर्यात कसरी गर्ने ? यत्तिकै पनि अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न सकिँदैनथ्यो, अब झन् गाह्रो हुने खेतानको बुझाइ छ ।
उद्योगीका अनुसार सप्लायर्सले यहाँका उद्योगको अर्डर लिन छाडेका छन् । भारत र तेस्रो मुलुकबाट नेपाल आउने कच्चा पदार्थ ढुवानी गर्ने कम्पनीले अब पठाउन नसक्ने सन्देश दिइसकेका छन् । प्लास्टिकजन्य दानाको मूल्य ४० देखि ७० प्रतिशतसम्म बढ्दा र बढेको मूल्यमा पनि आयात गर्न नसक्दा उद्योग थप अप्ठ्यारोमा परिसकेका छन् । पेट्रोलियम बाइ–प्रोडक्टहरूको मूल्य धेरै बढेको छ । ९ सय डलर पर्ने सामानको मूल्य १ हजार ५ सय डलरसम्म पुगेको उद्योगीहरूको भनाइ छ ।
नेपाली उद्योगीले भारतको रिलायन्स र इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्लास्टिकका दाना खरिद गर्छन् । कोशीमा मात्र त्यस्ता प्लास्टिक दाना खरिद गरेर प्रशोधन गरी प्लास्टिकजन्य सामान उत्पादन गर्ने उद्योग दुई सयभन्दा बढी छन् । ती उद्योगले हरेक १५ दिनमा एलसी खोलेर सामान आयात गर्थे तर अहिले एलसी खोलेर पनि सामान आयात गर्न नसकेपछि भएको स्टकले १० दिन पनि धान्ने स्थिति नभएको उद्योगीको भनाइ छ ।
पेट्रो–केमिकलसँग सम्बन्धित कच्चा पदार्थ तेस्रो मुलुकबाट भारत हुँदै नेपाल भित्रिने गरेको छ । तर, अहिले भारतले आफ्नै बजारमा अभाव हुन नदिन निर्यातमा कडाइ गरेपछि यहाँका उद्योग संकटमा परेको उद्योगीहरूको गुनासो छ । पेट्रो–केमिकलसँग सम्बन्धित कच्चा पदार्थ अभावले अहिले प्लास्टिकजन्य उत्पादन मात्र होइन, दैनिक उपभोग्य वस्तु उत्पादनसमेत प्रभावित भएको उनीहरूको भनाइ छ ।
खासगरी जुत्ता–चप्पल उद्योगदेखि केवल तारलगायतका प्लास्टिकजन्य उद्योगमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ । चीनबाट आउने सामानको लागत पनि बढेको विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले बताए ।
यसको असर मुलुकका औषधि उत्पादक उद्योगमा समेत पर्ने देखिएको छ । नेपालमा उत्पादन हुने औषधिका कच्चा पदार्थ आयात गरिने भएकाले तिनको अभाव बढे उद्योगमा समस्या आउने देखिएको हो । युद्ध लम्बिए नेपालमा औषधि उत्पादन गर्न गाह्रो हुने औषधि उत्पादकहरूको गुनासो छ ।
युद्धका कारण औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मूल्य ३० प्रतिशत वृद्धि भएको छ । एक उद्योगीले भने, ‘विशेष गरी पेट्रोलियम पदार्थमा आधारित उत्पादन पाउन मुस्किल हुन सक्छ ।’ स्लाइन बोतल बनाउन प्रयोग हुने प्लास्टिक र अन्य कच्चा पदार्थको आपूर्तिमा भएको समस्याले स्लाइन उद्योग बन्द हुन थालेको ती उद्योगीले बताए ।








प्रतिक्रिया