पश्चिम एसिया युद्धको असर

नेपालमा औषधीदेखि पानी उद्योगसम्म प्रभावित, के प्लास्टिकजन्य उद्योगहरु ‘सट डाउन’ हुँदैछ ?

462
Shares

काठमाडौं । पश्चिम एसिया क्षेत्रको युद्धका कारण समुद्री मार्गको अवरोधका कारण नेपालको प्लास्टिकजन्य उद्योग गम्भीर संकटमा परेका छन् ।

अमेरिका इरान युद्धका कारण हर्मुज स्ट्रेटमा आएको अवरोध र खाडी मुलुकस्थित पेट्रोलियम रिफाइनरी केन्द्रमा भएको हमलाका कारण कच्चा पदार्थको विश्वव्यापी रूपमा आपूर्ति शृङ्खला अवरुद्ध भएको छ। यसको प्रत्यक्ष मार नेपालको प्लास्टिकजन्य उद्योगमा पनि परेको छ ।

कच्चा पदार्थ आपूर्ति नहुँदा प्लास्टिकजन्य उद्योग, प्याकेजिङ उद्योग, बोटल वाटर उद्योगलगायतका क्षेत्र अहिले प्रभावित भएका छन् । यस्ता उद्योग मात्रै प्रभावित भएका छैनन् । यसमा आधारित अन्य सबै प्रकारका उद्योगहरू पनि प्रभावित भएका छन् ।

खानेपानी र ढल निकासको पाइपको उत्पादनमा समस्या आउँदा यसले पूर्वाधार क्षेत्रमा पनि समस्या ल्याउन सक्ने देखिएको छ । यस्तै टनेल प्लास्टिक, सिँचाइका पाइप र मलका बोराका कारण कृषि क्षेत्र पनि प्रभावित हुने भएको छ ।

प्लास्टिकको अभाव हुँदा खाद्यान्न, चाउचाउ, बिस्कुट, दुग्धजन्य, औषधीजन्य, पेयजन्य पदार्थ उद्योगसमेत प्रभावित भएको छ । घरायसी प्रयोगमा आउने प्लास्टिकको कुर्सी, टेबल, बाल्टिन, जग, बाटाहरूको उत्पादनमा समेत गिरावट आएको छ ।

प्लास्टिकजन्य सामग्रीहरू सिधै प्रकृतिबाट उपलब्ध हुन्न । पेट्रो केमिकल (नाफ्था) लाई विशेष रासायनिक प्रक्रियाबाट तयार पारिएको पदार्थलाई ‘पोलिमर’ भनिन्छ । नेपालमा प्लास्टिक उत्पादनका लागि प्रयोग हुने मुख्य कच्चा पदार्थहरूलाई ‘प्लास्टिक दाना’ अर्थात् पोलिमर भनिन्छ।

नेपालमा सञ्चालित सयौँ प्लास्टिक उद्योगहरू यतिबेला कच्चा पदार्थको चरम अभाव र मूल्य वृद्धिको चपेटामा परेका छन् । यसले एकातिर अर्बौँको लगानी जोखिममा पारेको छ भने अर्कोतिर हजारौँ श्रमिकको रोजगारी संकटमा परेको छ ।

नेपालका मुख्य औद्योगिक कोरिडोरहरूमा रहेका प्लास्टिक उद्योगहरू यतिबेला इतिहासकै कठिन मोडमा पुगेको उद्योगीहरूले बताएका छन् । उद्योगीहरूका अनुसार कच्चा पदार्थको आयात रोकिएपछि धेरै उद्योगहरूले आफ्नो उत्पादन क्षमतालाई ५० देखि ७० प्रतिशतमा झारेका छन् भने केही साना उद्योगहरू पूर्ण रूपमा बन्द भइसकेका छन् ।

नेपालको प्लास्टिक उद्योगमा करिब १ खर्ब रुपैयाँभन्दा बढीको लगानी छ । यसले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ५० हजारभन्दा बढीलाई रोजगारी दिएको छ । मध्यपूर्वी तनावका कारण सिर्जित यो संकटले नेपाली अर्थतन्त्रमा महँगीको नयाँ लहर ल्याउने जोखिम बढाएको छ ।

उद्योगीहरूले यस्तो विषम परिस्थितिमा कच्चा पदार्थको आयातमा लाग्ने भन्सार महसुलमा केही सहुलियत दिनुपर्ने र पारवहन लागत घटाउन सरकारबाट कूटनीतिक पहल हुनुपर्ने बताएका छन् ।

यदि यो समस्या समयमै सम्बोधन भएन भने, नेपाली बजारमा प्लास्टिकजन्य सामग्रीको चरम अभाव हुनुका साथै स्वदेशी उद्योगहरू धराशायी हुने र आयातित तयारी वस्तुले बजार ओगट्ने खतरा टड्कारो छ ।

नेपाल प्लास्टिक म्यानुफैक्चर्स एशोसिएसनका अध्यक्ष प्रवोद घिमिरेका अनुसार वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरअन्तर्गत झन्डै ६० भन्दा बढी साना–ठूला प्लास्टिक र पाइप उद्योगहरू छन् ।

‘उद्योगहरूले कच्चा पदार्थको अभावमा पालैपालो उत्पादन बन्द (ले–अफ) गरिरहेका छन् । विशेष गरी खानेपानी र बाथरुममा प्रयोग हुने विभिन्न प्रकारका पाइप, प्लास्टिक प्याकेजिङ, भाँडावर्तन, औषधीजन्य उत्पादन, बोटल वाटर र कृषिजन्य प्लास्टिक बनाउने उद्योगहरू बढी मारमा परेका छन्,’ घिमिरेले भने ।

यस्तै मोरङ–सुनसरी औद्योगिक कोरिडोरअन्तर्गतको विराटनगर र इटहरी क्षेत्रका प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योगहरूमा कच्चा पदार्थको मौज्दात सकिँदै गएको छ । खाद्यान्न प्याक गर्ने प्लास्टिक र सिमेन्टका बोरा बनाउने उद्योगहरूले पर्याप्त कच्चा पदार्थ नपाउँदा उत्पादन ठप्प पार्न थालेको उनले जानकारी दिए ।

भैरहवा–लुम्बिनी क्षेत्रअन्तर्गतको प्लास्टिकका घरायसी सामग्री उत्पादन गर्ने उद्योगहरू पनि कच्चा पदार्थको मूल्य वृद्धिका कारण प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन् । यस्तै काठमाडौँ, नारायणघाट, पोखरा, चितवन, जनकपुरलगायतका स्थानका प्लास्टिकजन्य उद्योगहरू पनि कच्चा पदार्थको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् ।

घिमिरेका अनुसार कच्चा पदार्थको आयात अवस्था यसरी नै अवरुद्ध भइरहने हो भने आगामी महिनामा सम्पूर्ण उद्योग पूर्ण रूपमै बन्द हुने अवस्था सिर्जना भएको छ ।

उनका अनुसार नेपालमा प्लास्टिकजन्य कच्चा पदार्थ मुख्य गरी भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी), रिलायन्स र ओपानलगायतका ठूला कम्पनीमार्फत आपूर्ति हुँदै आएको छ । पछिल्लो समयमा मध्यपूर्वी तनावका बीच भारतीय आपूर्तिकर्ताहरूले करिब २ हजार ५ सय मेट्रिक टन बराबरको कच्चा पदार्थको सिपमेन्ट नेपालका उद्योगहरूलाई उपलब्ध नगराएकाले प्लास्टिकमा आधारित उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् ।

‘प्लास्टिकजन्य सामग्री उत्पादन गर्नुपर्ने कच्चा पदार्थको मुख्य स्रोत केन्द्र खाडीको रिफाइनरीमा हमला गरेर ध्वस्त बनाएपछि कच्चा पदार्थको आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ,’ घिमिरेले भने, ‘युद्धअघि नै भारतले आयात गरेको कच्चा पदार्थ उसले आफैँ होल्ड गरेपछि नेपाली उद्योगलाई मार परेको हो ।’

उनका अनुसार अमेरिका इजरायलको हमलाका कारण ध्वस्त भएको खाडीका रिफाइनरी केन्द्रहरूलाई मर्मत सम्भार गरेर सञ्चालनमा आउन कम्तिमा २ वर्ष लाग्ने भएकाले आगामी दिनमा विश्वभरका मुलुकसहित नेपालका उद्योगहरूलाई कच्चा पदार्थको उपलब्धता झन् कठिनाइ हुनेछ ।

नेपाल बोटल्ड वाटर इन्डस्ट्रिज एशोसिएसनका अध्यक्ष ध्रुव गौतमका अनुसार खानेपानी प्याकेजिङ गर्ने जार र बोटल तयार हुने कच्चा पदार्थको अभावमा खानेपानी उद्योगसमेत प्रभावित भएका छन् ।

बोटल र जारको अभाव हुँदा देशभरका ६ सय उद्योगमध्ये अहिले नै करिब एक दर्जनको सङ्ख्यामा उद्योगहरूले आफ्नो उत्पादन बन्द गरिसकेको गौतमले जानकारी दिए ।

‘कच्चा पदार्थको अभावमा प्लास्टिकजन्य उद्योगले जार र बोटल उत्पादन गर्न छाडेका छन्, जार र बोटल नै उपलब्धता नभएपछि उद्योगमा पानीको प्रशोधन र बजारमा पानी पठाउने काम पनि रोकिएको छ,’ गौतमले भने, ‘पानी बोटलिङ उद्योगले पानी प्याक गर्न बोटल र जार पाउनै छाडिसकेको छ । यही अवस्था रहिरह्यो भने आगामी सातादेखि बजारमा बोटल र जारको पानीको उपलब्धता नहुन सक्ने अवस्था सिर्जना हुन सक्छ ।’

उनका अनुसार कच्चा पदार्थको अभाव, अभावका बीच कच्चा पदार्थको मूल्य वृद्धि, ढुवानी खर्च महँगो भएका कारण पहिले १८० रुपैयाँ पर्ने खाली जारको मूल्य अहिले २५० र ४ रुपैयाँ प्रति बोटलबाट ७ रुपैयाँ मूल्य वृद्धि भएको छ ।

नेपाल औषधी उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले पनि प्लास्टिकजन्य कच्चा पदार्थको चर्को अभाव, मूल्य वृद्धि र ढुवानी भाडा वृद्धिका कारण औषधी उद्योगहरू धराशायी हुने अवस्थामा पुगेको जानकारी दिए ।

उनका अनुसार मध्यपूर्वी तनावका कारण तरल र ठोस (चक्की) औषधी प्याकेजिङ गर्न आवश्यक पर्ने कच्चा पदार्थ प्लास्टिक पोलिमरको उपलब्धता नै निकै कम भएको छ । उपलब्धता भएको कच्चा पदार्थको मूल्य पनि १५ प्रतिशतले बढेको छ ।

त्यसपछि ढुवानी भाडा ३० प्रतिशतले वृद्धि हुँदा औषधी उद्योगलाई औषधी उत्पादन गर्न निकै कठिनाइ भएको उनले बताए ।
‘कच्चा पदार्थको अभाव, मूल्य वृद्धि र ढुवानी भाडा वृद्धिका कारण अहिले नै बजारमा प्लास्टिक बोटलमा उपलब्ध हुने औषधीहरूको बजारमा अभाव हुन थालेको छ,’ अधिकारीले भने, ‘कच्चा पदार्थको अभाव अहिलेकै अवस्थामा कायम रहिरह्यो भने १५ दिनपछि उद्योगहरूबाट औषधीको उत्पादन पूर्ण रूपमा ठप्प हुने अवस्था सिर्जना हुनेछ ।’

उनका अनुसार नेपालमा तेस्रो मुलुक हुँदै भारत, चीन र जर्मनीबाट औषधीको कच्चा पदार्थ र प्याकेजिङ गर्ने कच्चा पदार्थ आपूर्ति हुँदै आएको छ । तर मध्यपूर्वी युद्धका कारण त्यस्ता कच्चा पदार्थको उपलब्धता साँघुरिँदै गएपछि मुलुकको समग्र औषधी उत्पादन प्रभावित भएको छ ।

अधिकारीले आगामी दिनमा अझै विषम परिस्थिति आउन लागेको जानकारी गराउँदै बजारमा सुलभ र सरल रूपमा औषधीको आपूर्तिको लागि आवश्यक पहल गर्न औषधी व्यवस्था विभागलाई समेत जानकारी गराइसकेको बताए ।

‘निकै महँगो मूल्यमा कच्चा पदार्थ खरिद, महँगो मूल्यमा ढुवानी गरेर सरकारले तोकेको मूल्यमा औषधी उपलब्ध गराउन अहिलेको परिस्थितिमा औषधी उद्योगहरूले गर्न नसक्ने अवस्थामा पुगेका छन्,’ अधिकारीले भने, ‘सहज अवस्था सिर्जना नहुँदासम्म अहिलेको अवस्थामा लागत खर्चको आधारमा कम्तीमा औषधीको मूल्य समायोजन गरी बिक्री वितरणको अवस्था मिलाउन सकिए उद्योग पनि जोगिने थियो, उपभोक्ताले पनि औषधी पाउन सक्ने थिए ।’

नेपालगञ्जस्थित स्टार पोलीपाइप इण्डस्ट्रिजका अध्यक्ष कमल कार्कीले मध्यपूर्वको तनावले कच्चा पदार्थको अभावका कारण उद्योगहरू ‘सट डाउन’ हुने अवस्थामा पुगेको जानकारी दिए ।

विशेषगरी प्लास्टिकका पाइप उत्पादन गर्ने उद्योगहरू कच्चा पदार्थको आपूर्ति रोकिँदा संकटमा परेको उनले बताए ।

पाइप उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ ‘प्लास्टिक दाना’ को आयात ठप्प भएपछि धेरै उद्योगहरू अहिले बन्द हुने अवस्थामा पुगेको कार्कीले जानकारी दिए ।

‘पेट्रोलियम पदार्थबाट निकालिने यो ‘ग्रयानुअल दाना’ मुख्यतया इन्डियन आयल कर्पोरेसनले उत्पादन गरी एजेन्टमार्फत नेपाल लगायतका देशहरूमा आपूर्ति गर्दैआएको थियो,’कार्कीले भने,‘ मध्यपूर्वमा जारी युद्धका कारण कच्चा पदार्थको आयात बन्द भएको छ । हामीसँग अहिले स्टकमा रहेको केही थान बोराहरू मात्र बाँकी छन्, ती सकिएपछि उद्योग पूर्ण रूपमा बन्द हुन्छ ।’

मध्यपूर्वमा २८–३० दिनदेखि जारी युद्धका कारण पेट्रोलियम उत्पादनमा आएको उतारचढावलाई देखाउँदै भारत सरकारले छिमेकी देशहरूमा यसको आपूर्ति बन्द गरिदिएका छन् । नयाँ उत्पादन नभए पनि गोदाममा रहेका पुराना मौज्दात (स्टक) बाट केही हदसम्म बजारको माग धान्ने प्रयास भइरहेको बताउँदै उनले युद्ध लम्बिएमा र आपूर्ति सहज नभएमा बजारमा पाइपको चरम अभाव हुने र उद्योगहरू दीर्घकालीन रूपमा धराशायी हुने जोखिम बढेको बताए ।

नेपाल प्लास्टिकको कच्चा पदार्थमा पूर्ण रूपमा परनिर्भर छ । नेपालमा आयात हुने कुल कच्चा पदार्थको करिब ७० प्रतिशत हिस्सा मध्यपूर्वी मुलुकहरू साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार र कुवेतबाट आपूर्ति हुँदै आएको छ । बाँकी हिस्सा भारत, थाइल्यान्ड र दक्षिण कोरियाबाट आयात हुन्छ ।

मध्यपूर्वबाट आउने जहाजहरू हर्मुज स्ट्रेटमार्फत आउनुपर्ने हुन्छ । हर्मुज स्ट्रेटमा जहाजहरूमाथि आक्रमण गरेपछि ठूला ढुवानी कम्पनीहरूले आफ्नो मार्ग परिवर्तन गरेका छन् । जहाजहरूमाथि आक्रमण गरेपछि केहि ठूला ढुवानी कम्पनीहरूले आफ्नो मार्ग परिवर्तन गरेका छन् । पछिल्लो समयमा यस्ता जहाजहरू अफ्रिकाको ‘केप अफ गुड होप’ हुँदै घुमेर आउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

यो मार्ग परिवर्तनका कारण ढुवानी समय १५ देखि २० दिन ढिलो भएको छ । साथै जहाजको भाडा (कन्टेनर भाडा) दुई गुणादेखि तीन गुणासम्म वृद्धि भएको छ । यसले गर्दा नेपाल आइपुग्ने कच्चा पदार्थको लागत खर्च निकै बढेको छ । यसका साथै सामुद्रिक बीमा शुल्क र कच्चा पदार्थको मूल्यसमेत बृद्धि भएकाले अन्तर्राष्ट्रिय बजारमा अत्यधिक मूल्य बृद्धि भएको छ ।

कसरी तयार हुन्छ पोलिमर?

प्लास्टिकको कच्चा पदार्थको मुख्य आधार जीवाष्म इन्धन (फोसिल फ्युल) हो । यसको उत्पादन प्रक्रिया जटिल रासायनिक प्रक्रियामा आधारित हुन्छ । जमिनमुनिबाट निकालिएको कच्चा तेललाई तेल प्रशोधन केन्द्रमा तताएर विभिन्न तहमा छुट्टाइन्छ । यो प्रक्रियाबाट ‘नेप्था’ नामक तरल पदार्थ निस्कन्छ ।

नेप्था वा प्राकृतिक ग्यासलाई उच्च तापक्रममा राखेर साना अणुहरूमा फुटाइन्छ । यसबाट इथिलिन र प्रोपिलिन जस्ता ग्यासहरू बन्दछन् । यी ग्यासहरूलाई उत्प्रेरकको उपस्थितिमा रासायनिक प्रतिक्रिया गराई लामा–लामा चेन बनाइन्छ, जसलाई पोलिमर भनिन्छ । यही पोलिमरलाई अन्त्यमा स–साना दानाको रूप दिइन्छ, जुन नेपालका उद्योगहरूले कच्चा पदार्थको रूपमा आयात गर्छन् ।

कस्ता प्रकारका हुन्छन् पोलिमर, के–के तयार हुन्छ?

पोलिमरका विभिन्न रूप हुन्छन् । विभिन्न रूपको पोलिमरबाट विभिन्न प्रकारका प्लास्टिकजन्य सामग्री उत्पादन हुन्छन् ।
पहिलो हो, उच्च घनत्व पोलिथिलिन (एचडीपीई) । यसको सहयोगमा खानेपानीको कालो पाइप, बाल्टिन, बाटाहरू तयार हुन्छन्।

यस्तै दोस्रो हो, न्यून घनत्व पोलिथिलिन (एलडीपीई/एलएलडीपीई) । यसको सहयोगमा नरम खालको प्लास्टिक तयार हुन्छ । दूधको प्याकेट, प्याकेजिङ झोलालगायत यसबाट तयार हुन्छन् ।

तेस्रो हो, पोलिप्रोप्लिन (पीपी) । यसको सहयोगमा सिमेन्टको बोरा, डोरी र प्लास्टिकका फर्निचरहरू तयार हुन्छन् । त्यस्तै अर्को रूप हो, पोलिभिनाइल क्लोराइड (पीभीसी) । यसको सहयोगमा घरमा प्रयोग हुने खानेपानी र शौचालयमा प्रयोग हुने सेतो र खैरो पाइप, बिजुली तारको कभर, जुत्ताको सोल बनाउने गरिन्छ ।

यस्तै पोलिमरको अर्को रूप हो, पोलिथिलिन टेरेफ्थालेट (पीईटी) । यसको सहयोगमा पानी तथा चिसो पेयजन्य पदार्थका बोतलहरू तयार हुन्छन् ।