सूर्यदर्शन सहकारी पीडितले नै सहकारीको रकम अपचलनमा संलग्न, अनुसन्धानको क्रममा पक्राउ

91
Shares

सूर्यदर्शन सहकारी पीडितले नै सहकारीको रकम अपचलनमा संलग्न, अनुसन्धानको क्रममा पक्राउ

चितवन । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाकोे बचत अपचलन मुद्दाका पीडित कृष्ण जैसीलाई आज प्रहरीले सहकारी ठगीकै आरोपमा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जैसीलाई पोखराकै धनुस बचत तथा ऋण सहकारी संस्थाको ठगी अभियोगमा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जैसीलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

सूर्यदर्शन सहकारी संस्थाको रकम अपचालन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादी विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ ।

जैसी प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसारका क्रममा आफू सूर्यदर्शन सहकारी पीडित भएको भन्दै कास्की निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार बिना गुरुङलाई बच्चाको स्कूलको बिल बुझाएर चर्चित समेत बनेका थिए ।

उनै जैसीलाई गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको हो । कास्की प्रहरी प्रमुख एसपी कार्कीका अनुसार उनीसहितका धनुस सहकारीका सञ्चलकमाथि १० करोड हाराहारीमा रकम अपचन गरेको आरोप छ ।

जैसी सोही सहकारीको सञ्चालक मध्ये एक हुन् । उनलाई आज प्रहरीले नियन्त्रणमा लिएपनि थप अनुसन्धानको लागि जिल्ला अदालत कास्कीबाट म्याद थप गर्न बाँकी रहेको प्रहरी प्रमुख एसपी कार्कीले नेपाल प्रेसलाई बताए ।

कास्कीको धनुस ऋण तथा बचत सहकारी साइनो र धनुस गरि दुईवटा सहकारी संस्था मर्ज भएर धनुस नामबाट पछिल्लो समय सञ्चालित सहकारी संस्था हो । गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले रकम हिनामिनाको जानकारी आएपछि यो सहकारीको अनुगमन गरेको थियो ।

संस्थाकै अध्यक्षसहितका सञ्चालकको अनुरोधमा १४ महिना अगाडिदेखि थालेको अनुगमको प्रारम्भिक चरणमै १९ करोड रुपैयाँ अपचलन देखिएपछि कार्यालयले एकल र संयुक्त दायित्वको रकम मिलाउन भनी सहकारीलाई समय दिएको थियो ।

कार्यालयका रजिष्ट्रार भेषराज रिजालका अनुसार १४ महिनाको बीचमा एकल दायित्व भएका र हालका अधिकांश सञ्चालकले आआफ्नो रकम तिरेर हिसाब मिलाए । तर, सहकारीका पूर्व म्यानेजर तथा केही सञ्चालक, ऋण समितिका पदाधिकारी लगायत १२ जनाले भने हिसाब मिलाउन बाँकी रह्यो ।

पटक पटक ताकेता गरेर समय दिँदा समेत रकमको हिसाकिताब नमिलाएपछि कार्यालयले हिजो आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई प्रतिवेदनसहित बाँकी व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न लेखि पठाएको थियो । सोही आधारमा प्रहरीले आज जैसीलाई नियन्त्रणमा लिएको हो ।

रिजालका अनुसार केही व्यक्तिले प्रतिव्यक्ति २ करोड रुपैयाँसम्म रकम हिनामिना गरेको प्रतिवेदन कार्यालयले निकालेको छ । भने प्रहरीले नियन्त्रणमा लिएको कृष्ण जैसीले ८० लाखभन्दा बढी रकम हिनामिना गरेको प्रतिवेदनले देखाएको छ । उनले ऋण समितिमा बसेर बचत गरेको रकमको लैजानुपर्ने भन्दा बढी ब्याज लगेको देखिएको रजिष्ट्रार रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रारम्भिक अनुगमनका क्रममा १९ करोड देखिएपनि धेरैजसो सञ्चालक सदस्यले आफ्नो भागमा परेको रकम चुक्ता गरिसकेकोले अहिले मिलाउन बाँकी दायित्व रकमको मूल ९ करोड र ब्याजसमेत गरेर १२ करोड हाराहारी अपचलन गरेको प्रतिवेदन कार्यालयले दिएको उनले बताए ।

सहकारीका अध्यक्ष राजाराम सुवेदी लगायतका सञ्चालकले आफूले तिर्नुपर्ने रकम तिरिसकेका पनि उनले जानकारी दिए । प्रतिवेदनले एक करोडदेखि २ करोड हाराहारी रकम तिर्नुपर्ने व्यक्तिहरुमा पूर्व व्यवस्थापक असिम बराल, बिराज सुवेदी, जगत भट्ट सिर्जना गुरुङ लगायत देखाएको पनि उनले जानकारी दिए ।