याम्बालिङ हाइड्रोपावर आईपीओ खुल्यो, क-कसले भर्न मिल्छ ?


काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलेको छ ।

कम्पनीले पहिलो चरणमा चैत ८ गते आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशतले हुने २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न विवरणपत्र स्वीकृत गराएको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो ।

आईपीओ निष्कासनको लागि स्वीकृति पाएकोमध्ये पहिलो चरणमा जारी पूँजीको १० प्रतिशतले हुने ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन खुला गरेको हो ।

आयोजना प्रभावितलाई निष्कासन खुला भएको सेयरमा सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको २१ लाख कित्ता सेयरको १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन खुला गरेको छ ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले छिटोमा चैत २२ गतेसम्म र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिने म्याद थप हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन बन्द छिटोमा चैत ११ गते र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद चैत २२ गतेसम्म थप हुनेछ ।

कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले सञ्चालन गरेको ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख ५६ हजार ३१५ रुपैयाँ रहेको र प्रतिमेगावाट लागत २५ करोड ७३ लाख ८० हजार ५११ रुपैयाँ रहेको छ ।

सो जलविद्युत आयोजनाको विद्युत् अनुमतिपत्र २५ वर्ष ६ महिना बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.७६ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १९.८७ वर्ष रहेको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंकको चौतारा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

गत आर्थिक वर्षमा कम्पनीको सञ्चिति नाफा ७६ लाख ३४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ८२ पैसा रहेको छ ।