
काठमाडौं । देशैभर फोरजीको पहुँच पुगिसक्दा पनि नेपाल टेलिकमका ३ लाख ५६ हजार ग्राहक भने अझै फोरजी सेटमा थ्रीजी इन्टरनेट चलाइरहेका छन् । नेपाल टेलिकमले क्लिकमान्डुलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार देशैभर ७ लाख ग्राहकले अझै थ्रीजी डेटा प्रयोग गरिरहेका छन् ।
यीमध्ये साढे तीन लाख ग्राहकको मोबाइलमा भने फोरजी चल्ने भए पनि उनीहरूले सिमकार्ड नयाँ लिने वा फोरजीमा अपग्रेड गर्ने काम भने गरेका छैनन् । टेलिकमले यी ग्राहकलाई फोरजीमा अपग्रेड गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ भित्रै सबै थ्रीजी विस्थापन गर्ने निर्णयसमेत गरेको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।
प्राधिकरणको तथ्याङ्क अनुसार नेपाल टेलिकमका फोरजी प्रयोगकर्ताको सङ्ख्या १ करोड ४४ लाख ८४ हजार पुगिसक्दासमेत अझै ७ लाख ग्राहक भने थ्रीजीमै छन् । टेलिकमले भने अब तीव्र गतिको मोबाइल इन्टरनेट सेवाका लागि सबै ग्राहकलाई फोरजीमा अपग्रेड गराएर थ्रीजी सेवा बन्द गर्ने घोषणा गरेको छ ।
टेलिकमले अब थ्रीजीका सिमकार्डलाई निःशुल्क फोरजीमा अपग्रेड गर्ने सुविधा दिएको भन्दै सेवाग्राहीलाई सन्देश दिन थालेको छ । टेलिकमले ग्राहकलाई मोबाइलमा सन्देशमार्फत र ०१४९८ बाट फोन गरी स्वचालित कलमार्फत सन्देश सुनाउन थालेको छ।
नेपाल टेलिकमका प्रवक्ता मानन्धरका अनुसार थ्रीजी नेटवर्क निकट भविष्यमै बन्द गर्न लागिएकोले सम्बन्धित ग्राहकलाई फोरजी सिमकार्ड लिन आग्रह गर्दै मोबाइलमा सन्देश पठाउन थालिएको हो ।
उनका अनुसार हालसम्म थ्रीजी सिमकार्ड लिएका र फोरजीमा अपग्रेड नभएका ग्राहकको मोबाइलमा सन्देशमार्फत उच्च गतिको इन्टरनेट तथा गुणस्तरीय कलको अनुभवका लागि नजिकैको टेलिकम काउन्टरमा गएर सिमकार्ड साट्न आग्रह गरिएको छ ।
पहिलो चरणमा सन्देशमार्फत गरिएको आग्रहबाट पनि थ्रीजीलाई परिवर्तन गरेर फोरजी चल्ने सिमकार्डमा नजाने ग्राहकलाई भने ‘आउटबाउन्ड आइभीआर’ सेवा दिने टेलिकमले जानकारी दिएको छ । यो सेवा अन्तर्गत नेपाल टेलिकमको सिस्टमले आफैँ ग्राहकको मोबाइल नम्बरमा फोन गर्छ ।
टेलिकमले रेकर्ड गरिएको आवाजमार्फत सम्बन्धित ग्राहकको मोबाइलमा थ्रीजी नचल्ने भन्दै फोरजी सिमकार्ड लिन आग्रहसहितको रेकर्ड भएको आवाज सुनाउँछ । यस्तो स्वचालित कल पनि सम्बन्धित ग्राहकलाई मात्रै जाने टेलिकमका प्रवक्ता मानन्धरले जानकारी दिए ।
नेपाल दूरसञ्चार प्राधिकरणले माघ महिनामा सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल नेपाल टेलिकमका ७ लाख थ्रीजी प्रयोगकर्ता छन् । यो तथ्याङ्कमा थप अद्यावधिक भइसकेकोले सोभन्दा कम ग्राहकले मात्रै फोरजीमा अपग्रेड हुन बाँकी रहेको टेलिकमका प्रवक्ता मानन्धर बताउँछन् । उनका अनुसार टेलिकमले थ्रीजी नेटवर्क बन्द गर्ने निर्णय गरेकोले अब अद्यावधिक तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ ।
एनसेलले भने यसअघि नै थ्रीजी सटडाउन गर्ने काम थालिसकेको छ । एनसेलले सन् २०२५ भित्रै थ्रीजी विस्थापन गरिसक्ने लक्ष्य लिएर काम गरेको भए पनि प्राविधिक समस्याका कारण प्रक्रिया लम्बिएको जानकारी दिएको छ ।
कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएका, फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि ग्राहक सचेतनाको कमीले थ्रीजी नै चलाइरहेको पाइएको छ । त्यस्ता ग्राहकलाई पनि फोरजीमा लैजानुपर्ने भएकोले तोकिएको समयभन्दा ढिलो गरेर एनसेलको थ्रीजी विस्थापनको काम भइरहेको छ ।
एनसेलका अनुसार पूर्वको झापाबाट थ्रीजी नेटवर्क बन्द गर्न थालिसकिएको छ । विस्तारै यसलाई थप जिल्लातर्फ लैजाने र छिट्टै सबै ग्राहकलाई फोरजीमा नै अभ्यस्त बनाउने दाबी एनसेलको छ । नेपाल दूरसञ्चार प्राधिकरणकै पुससम्मको तथ्याङ्क अनुसार पनि एनसेलका थ्रीजी प्रयोगकर्ता ९१ हजार मात्रै छन् । यो अवधिसम्ममा फोरजीको प्रयोगकर्ता भने १ करोड १९ लाख ८१ हजार पुगेको छ ।










प्रतिक्रिया