
चितवन । बागमती प्रदेश सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा उक्त प्रदेशमा खटिएर सफलतापूर्वक कार्यसम्पादन गरेका निर्वाचन प्रहरी (म्यादी प्रहरी) हरूका लागि विशेष सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।
बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गतको उद्योग तथा वाणिज्य कार्यालय भरतपुरले यस्तो योजना सार्वजनिक गरेको हो।
कार्यालयले सूचना जारी गर्दै चालू र आगामी आर्थिक वर्षहरूमा सञ्चालन हुने विभिन्न सीपमूलक तालिमहरूमा सहभागी हुन इच्छुक पूर्व निर्वाचन प्रहरीहरूलाई आवेदन दिन आह्वान गरेको छ।
सूचना अनुसार बोटे, माझी, मुसहर, हायू र वनकरिया समुदायका निर्वाचन प्रहरीहरूका लागि तालिम कार्यक्रम तत्कालै सुरु गरिनेछ।
अन्य समुदायका निर्वाचन प्रहरीहरूलाई भने उद्योग तथा वाणिज्य कार्यालय र चितवनस्थित सिटिइभिटीका आङ्गिक शिक्षालयहरू मार्फत नियमित तालिममा सहभागी गराइने कार्यालयले जनाएको छ।
यो कार्यक्रमको मुख्य उद्देश्य निर्वाचनको समयमा छोटो अवधिका लागि खटिएका युवाहरूलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउनु रहेको देखिन्छ। विगतमा कुनै सीप प्राप्त गरिसकेका व्यक्तिहरूले सम्बन्धित क्षेत्रमा ‘जब’ गर्न चाहने इच्छुक वा सुरक्षा गार्डका रूपमा काम गर्न इच्छुक भएमा उनीहरूलाई सहजीकरण गरिने सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारहरूले कार्यालयले उपलब्ध गराएको गुगल फर्म भरेर आफ्नो विवरण पेश गर्नुपर्नेछ।
रोजगारीका लागि आवेदन दिन चाहनेहरूले आफूले पाएको तालिमको प्रमाणपत्र वा निर्वाचन प्रहरीमा नियुक्ति र कार्य सम्पन्न गरेको प्रमाणपत्रको स्क्यान कपी अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस कार्यक्रमले निर्वाचन पछि बेरोजगार हुने युवाहरूलाई प्राविधिक सीप सिकाएर श्रम बजारमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। थप जानकारीका लागि भरतपुरस्थित उद्योग तथा वाणिज्य कार्यालयमा सम्पर्क गर्न वा कार्यालयको आधिकारिक इमेलमा पत्राचार गर्न सकिने कम्प्युटर अधिकृत शक्तिमान कुमालले जानकारी दिए।









प्रतिक्रिया