
विराटनगर । पश्चिम एसियामा भइरहेको युद्धका कारण औद्योगिक कच्चा पदार्थ र तयारी वस्तुको ढुवानी गर्ने सिपिङ कम्पनीले फोर्स मेजरका नाममा ढुवानी भाडा बढाउँदा सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा उत्पादन लागत बढ्दा त्यसको प्रभाव चौतर्फी परेको छ ।
फोर्स मेजरका नाममा हरेक सिपिङ कम्पनीले प्रतिकन्टेनर १५ सयदेखि २ हजार डलरसम्म ढुवानी भाडा बढाएका छन् । भाडा बढाए पनि भनेको समयमा औद्योगिक कच्चा पदार्थको ढुवानी हुन सकेको छैन ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार भाडा बढाउँदा पनि समयमा औद्योगिक कच्चा पदार्थ ढुवानी नहुँदा उत्पादनको लागत बढेको छ । ‘सिपिङ कम्पनीले फोर्स मेजरका नाममा भाडा बढाउँदा र समयमा औद्योगिक कच्चा पदार्थ ढुवानी नगर्दा औद्योगिक उत्पादनको लागत बढेसँगै त्यसको असर चौतर्फी परेको छ,’ राठीले भने ।
सिपिङ कम्पनीले ढुवानी भाडा बढाउँदा औद्योगिक उत्पादनको लागत कम्तीमा पनि ८ देखि १० प्रतिशतसम्म बढेको उनको भनाइ छ । युद्धका कारण प्लास्टिकजन्य प्याकेजिङ सामग्री र इन्धनको मूल्य वृद्धि हुँदा थप भार बढेको छ ।
तीन सातामै प्लास्टिकजन्य प्याकेजिङका सामानको भाउ ५० प्रतिशतसम्म बढेको राठीको भनाइ छ । ‘इन्धनको मूल्य पनि बढ्दा ढुवानी, खाद्यान्न र दैनिक उपभोग्य वस्तुहरूको मूल्यसमेत उकालो लागेको छ,’ उनले भने, ‘यसले गर्दा व्यवसायीमात्र होइन सर्वसाधारण मारमा परेका छन् ।’
प्याकेजिङका प्लास्टिकजन्य वस्तु र पेट्रोलियम पदार्थको मूल्य बढ्दा तरकारी, खाद्यान्न मात्र नभएर ढुवानीदेखि उत्पादन लागतसमेत वृद्धि भई यसको प्रत्यक्ष असर सर्वसाधारणको घर र भान्सामा परेको छ ।
पश्चिम एसियाको युद्धले क्रुड पाम, पेट्रोलियम र प्लास्टिक दानाको ढुवानी अवरुद्ध भएपछि प्याकेजिङ सामग्रीको मूल्यमा ५० प्रतिशतले वृद्धि भएको उनको भनाइ छ । मूल्यवृद्धिले खाद्यान्न र एफएमसीजीदेखि औषधि उद्योगसम्मलाई असर पारेको राठी बताउँछन् ।
इरानले पश्चिम एसियाको मुख्य समुद्री मार्ग स्ट्रेट अफ हर्मुजलाई इजरायल, अमेरिका र उसका साझेदार बाहेक अन्य मुलुकका लागि खुला गरेको छ । तर, कुनै पनि समय त्यहाँ आक्रमण हुने भन्दै सिपिङ कम्पनीहरूले ढुवानी नगर्दा समस्या जटिल भएको हो । यो अवस्था लामो समयसम्म जारी रहे स्थिति भयावह हुने राठीको भनाइ छ ।
प्लास्टिक र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले ढुवानी भाडा बढेर दाल, तेल, चामलसँगै खाने तेलको मूल्यमा समेत वृद्धि भएको सम्बद्ध उद्योगीको भनाइ छ ।
प्याकेजिङ सामग्री उत्पादन गर्ने पशुपति प्लास्टिक उद्योगका सञ्चालक वीरेन्द्र राठीका अनुसार युद्ध सुरू भएयता प्लास्टिक दानाको मूल्य प्रतिटन ५ सय डलरले वृद्धि भइसके पनि समयमा ढुवानी हुन नसक्दा उद्योगको उत्पादन नै प्रभावित भएको छ ।
नेपाली प्लास्टिक उद्योगले प्रयोग गर्ने दानाको मूल्य यसबेला प्रतिकिलो १.२ बाट १.८ डलरसम्म पुगेको छ । ‘त्यस्तै सिपिङ कम्पनीले बढाएको प्रतिकन्टेनर १५ सयदेखि २ हजार डलरसम्म ढुवानी भाडा जोड्दा दाना ल्याएर प्याकिङ सामग्री उत्पादन गर्न सक्ने स्थिति नै छैन,’ उनले भने ।
दानाका आपूर्तिकर्ताले युद्धअघि खोलेको एलसी पनि यसबेला होल्ड गरेका छन् । ‘सप्लायरले एलसी नै होल्ड गरिदिएपछि न सामान आउँछ, न क्यान्सिल हुन्छ । यसबाट बैंकमा भएको ऋणको लिमिट पनि ब्लक हुँदा उद्योग थप संकटमा परेका छन्,’ उनले भने।
प्लास्टिकका प्याकिङ सामग्रीको अभावसँगै हरेक उद्योग मारमा परेको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको भनाइ छ ।
चामल, दाल, सिमेन्ट, चाउचाउ, दुग्ध, औषधि लगायतका दैनिक उपभोग्य सामग्री उत्पादन गर्ने उद्योगमा प्याकिङ सामग्रीको अभाव सुरु भएको उनको भनाइ छ । यसले हरेक सामानको मूल्य वृद्धि हुने स्थिति आएको राठी बताउँछन् ।










प्रतिक्रिया