ट्रम्पले इरान युद्ध सुरु गरे, उनका छोराहरूले आर्थिक लाभ उठाए

1k
Shares

एजेन्सी । अमेरिकी सेनालाई राष्ट्रपति डोनल्ड ट्रम्पले सुरु गरेको इरान युद्धका लागि तत्काल र ठूलो मात्रामा ड्रोन क्षमताको आवश्यकता छ । संयोगवश, ट्रम्पका छोराहरू एरिक र डोनल्ड ट्रम्प जुनियर यसै काममा लागेका छन् ।

वास्तवमा, ट्रम्प दाजुभाइले रक्षा–प्रविधिमा आधारित ती कम्पनीहरूमा पैसा खन्याइरहेका छन् जसले या त पेन्टागनको ठेक्का सुरक्षित गरिसकेका छन् वा युद्धमैदानमा परीक्षण गरिएका उत्पादनहरू बजारमा ल्याइसकेका छन् ।

उदाहरणका लागि, उनीहरूले पावरस नामक नयाँ ड्रोन कम्पनीमा लगानी गरेका छन् । यस कम्पनीले युक्रेनसँगको आफ्नो बलियो सम्बन्धलाई उपयोग गर्दै युद्धमा परीक्षित युक्रेनी ड्रोन प्रविधिहरू अमेरिकी बजारमा ल्याउने लक्ष्य राखेको छ । धेरै प्रतिस्पर्धीहरूलाई किनिसकेको पावरसले पहिले नै अमेरिकी सेनासँग व्यापार गरिरहेको छ ।

अर्को शब्दमा भन्नुपर्दा, ट्रम्प परिवारले युद्धबाट आर्थिक लाभ उठाउने स्थितिमा छ र उठाइरहेको पनि छ ।

एरिक ट्रम्पले इजरायली ड्रोन कम्पनी र रक्षा मन्त्रालयको ठेकेदार एक्सटेन्डमा पनि लगानी गरेका छन् जसको कम लागतमा मार हान्ने ड्रोनहरू इजरायली सेनाले गाजामा प्रयोग गरिसकेको छ । अमेरिकामा आफ्नो सञ्जाल विस्तार गर्दै यस कम्पनीले गत वर्षको गर्मीयाममा ट्याम्पा नजिकै एउटा कार्यालय खोलेको थियो ।

ड्रोनका पार्टपुर्जा बनाउने डोनल्ड ट्रम्प जुनियरको स्टार्टअप अनयुजुअल मशिन्समा ४० लाख डलरको हिस्सेदारी छ र उनी यसको बोर्ड सदस्य पनि हुन् । डिसेम्बरमा यस कम्पनीले ड्रोनका पार्टपुर्जाहरू बनाउन पेन्टागनको अफिस अफ स्ट्य्राटेजिक क्यापिटलबाट ६२० मिलियन डलरको ऋण सुरक्षित गर्यो जुन सो कार्यालयको इतिहासकै सबैभन्दा ठूलो ऋण हो ।

जुनियर ट्रम्प १७८९ नामक देशभक्त पुँजीवादी भेन्चर क्यापिटल फर्मका साझेदार पनि हुन् जसले धेरै रक्षा–प्रविधि स्टार्टअपहरूलाई सहयोग गर्छ । सन् २०२४ को नोभेम्बरमा आफ्ना पिता दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएलगत्तै ट्रम्प जुनियर यस फर्ममा आबद्ध भएका थिए ।

त्यसयता यसको सम्पत्तिमा असाधारण वृद्धि देखिएको छ । यसले व्यवस्थापन गर्ने सम्पत्तिको मूल्य १५० मिलियन डलरबाट बढेर गत वर्षको अन्त्यसम्ममा २ अर्ब डलरभन्दा बढी पुगेको छ ।

यस फर्मले अमेरिकी नीतिमा सीधा प्रभाव पार्छ भन्ने संकेत दिँदै ट्रम्प जुनियरले गत वर्षको एक लगानी कार्यक्रममा १७८९ ले प्रशासनले के गर्न चाहन्छ भन्ने बुझ्दछ किनभने यस फर्मले प्रशासनको केही सन्देशहरू तयार पार्न मद्दत गरेको थियो भने ।
ट्रम्प परिवारको रक्षा–प्रविधि क्षेत्रको संलग्नतालाई प्रविधि कम्पनी र भेन्चर क्यापिटलिस्टहरूको एउटा ठूलो सञ्जालसँग जोड्न सकिन्छ जसको ट्रम्प प्रशासनभित्र महत्त्वपूर्ण प्रभाव छ ।

क्विन्सी इन्स्टिच्युट सिनियर रिसर्च फेलो विलियम हर्टुङले भने, ‘उदीयमान सैन्य प्रविधि क्षेत्रको प्रशासनसँग गहिरो सम्बन्ध छ जसको सुरुवात उपराष्ट्रपति जेडी भान्स र पालन्टियरका संस्थापक पिटर थिलको सम्बन्धबाट हुन्छ । थिलले भान्सलाई रोजगारी दिएका थिए र उनको सिनेट चुनावमा आर्थिक सहयोग गरेका थिए । डोनल्ड ट्रम्प जुनियर राष्ट्रपतिका छोरा मात्र नभई निकट राजनीतिक सल्लाहकार र अनौपचारिक प्रवक्ता पनि हुन् । उनले अब विशिष्ट सैन्य प्रविधि फर्महरूको भाग्यबाट व्यक्तिगत लाभ उठाउनुले स्वार्थको गम्भीर द्वन्द्व निम्त्याउँछ ।’

यसै सन्दर्भमा १७८९ को पोर्टफोलियोमा एन्डुरिल, हेड्रियन, स्पेस एक्स र भल्कन एलिमेन्ट्स जस्ता रक्षा–केन्द्रित कम्पनीहरू समावेश छन् । यी कम्पनीहरूलाई विवादास्पद भेन्चर क्यापिटलिस्ट पिटर थिल वा उनको फर्म फाउन्डर्स फन्डले पनि सहयोग गर्छ ।

सिलिकन भ्यालीका शक्तिशाली व्यक्ति र पालन्टियरका सह–संस्थापक थिलले अमेरिकी राजनीतिलाई प्रभावित गर्न र कंग्रेसका चुनावी अभियानहरूमा पैसा खन्याउन सक्रिय रूपमा काम गरेका छन् । अहिले उनको निकट घेराका धेरै व्यक्तिहरू ट्रम्प प्रशासनमा प्रमुख पदहरूमा छन् ।

उल्लेखनीय रूपमा ट्रम्प जुनियर विवादास्पद भविष्यवाणी बजार पोलिमार्केटको सल्लाहकार बोर्डमा पनि छन् । त्यसलाई १७८९ र थिलको फाउन्डर्स फन्डले पनि समर्थन गर्छ । यसले यस्तो वातावरण सिर्जना गर्दछ जहाँ विश्वका घटनाहरूको नतिजाबारे भित्री जानकारी भएका व्यक्तिहरूले सैद्धान्तिक रूपमा सोही जानकारीबाट नाफा कमाउन सक्छन् ।

यस्तो राजनीतिक पहुँच र भेन्चर क्यापिटल लगानीले केही रक्षा–प्रविधि स्टार्टअपहरूलाई अनुचित फाइदा पुर्याउन सक्ने हर्टुङले चेतावनी दिएका छन् ।

‘भेन्चर क्यापिटलले कम्पनीहरूलाई पेन्टागन वा अन्य सरकारी निकायबाट ठूलो ठेक्का पाउनुअघि बजारमा लामो समयसम्म टिकिरहन मद्दत गर्छ,’ हर्टुङले भने, ‘तर, एकपटक यी प्रभावशाली फर्महरूले कुनै स्टार्टअपमा ठूलो रकम लगानी गरेपछि उनीहरूले आफ्नो प्रभाव प्रयोग गरेर सो फर्मलाई ठेक्का दिलाउन सक्छन्, चाहे उसको प्रविधि पूर्ण रूपमा तयार नै किन नहोस् । केवल आफ्नो लगानीको प्रतिफल प्राप्त गर्नु उनीहरूको उद्देश्य हुन्छ ।’

उनले अझै थपे, ‘उनीहरूले कुनै निश्चित फर्मलाई प्रवर्धन गर्न राष्ट्रपतिका छोरालाई भर्ती गर्न सक्छन् भने त्यसले प्रभावको एउटा नयाँ स्तर सिर्जना गर्छ । यसलाई सार्वजनिक हितको सट्टा उनीहरूको आफ्नै आर्थिक स्वार्थ पूरा गर्न प्रयोग गर्न सकिन्छ ।’

हतियार उद्योगमा प्रवेश गर्न शक्तिशाली पारिवारिक सम्बन्धको प्रयोग गर्दै ट्रम्पका छोराहरू अझ धेरै नाफा कमाउन तयार देखिएका छन् । उनका पिताको प्रशासनले विदेशमा हुने द्वन्द्व र स्वदेशमा समेत सैन्यीकृत ड्रोन प्रविधिका लागि खर्च बढाइरहेको छ ।

एक्सटेन्डका आक्रमणकारी ड्रोनहरू पहिले नै इरानमा परिचालन भइसकेका छन् जुन मध्यपूर्वका एक सरकारी रक्षा ग्राहकसँग गरिएको २५ मिलियन डलरको ठेक्का अन्तर्गत हो । एन्डुरिलका कार्यकारी अध्यक्ष ट्रे स्टीफन्सले यसै महिनाको सुरुमा ब्लुमबर्ग टिभीलाई बताए अनुसार, एन्डुरिलका विभिन्न प्रकारका एयर–डिफेन्स प्रणालीहरू युद्धग्रस्त क्षेत्रहरूमा उपस्थित छन् ।

त्यहाँ कम्पनीले रक्षा मन्त्रालयसँग दिनरात सक्रिय रूपमा काम गरिरहेको छ । एन्डुरिलले यसै साता अमेरिकी सेनाबाट २० अर्ब डलरसम्मको १० वर्षे ठेक्का प्राप्त गरेको छ ।

यसैबीच, पेन्टागनले १.१ अर्ब डलरको ड्रोन प्रभुत्व पहल अगाडि बढाइरहेको छ । सन् २०२७ सम्ममा २ लाखभन्दा बढी अमेरिकी निर्मित आक्रमणकारी ड्रोनहरू मैदानमा उतार्ने यसको लक्ष्य छ । ट्रम्प दाजुभाइले समर्थन गरेका कम्पनीहरूले यो कोष प्राप्त गर्न सक्रिय रूपमा प्रयास गरिरहेका छन् ।

युद्धमैदानभन्दा बाहिर प्रहरी र सीमा सुरक्षा एजेन्सीहरूले पनि युद्धमा परीक्षण गरिएका ड्रोन प्रविधिहरू बढ्दो रूपमा अपनाइरहेका छन् । ट्रम्प दाजुभाइले लगानी गरेका ड्रोन ठेकेदारहरूका लागि थप अवसरहरू यसले सिर्जना गर्न सक्छ ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले आगामी विश्वकपलाई अनधिकृत ड्रोन वा साइबर आक्रमणको खतराबाट सुरक्षित राख्न ड्रोन प्रविधिहरू खरिद गर्न करोडौं डलर विनियोजन गरेको छ ।

विज्ञहरूका अनुसार, ट्रम्प दाजुभाइको रक्षा व्यवसायमा देखिएको स्वार्थको द्वन्द्व वाशिङटनका लागि कुनै नौलो कुरा होइन । त्यहाँ सरकार र हतियार उद्योग बीचको यस्तो सम्बन्धले लामो समयदेखि द्वन्द्वको सम्भावनालाई बढावा दिँदै आएको छ ।

‘कर्पोरेसन र सरकारबीचको यो घुम्ने ढोकाले पुस्ताौंदेखि अमेरिकामा लोकतन्त्र र जवाफदेहितालाई कमजोर बनाउँदै आएको छ । यसले अमेरिका किन सधैं युद्धमा रहन्छ भन्ने कुरा बुझ्न मद्दत गर्छ । जब अमेरिकाले हतियार बेच्दैन वा अर्को देशमाथि आक्रमण गर्दैन वा नागरिकहरूमाथि बमवर्षा गर्दैन, तब कोही पनि धनी हुँदैन,’ क्विन्सी इन्स्टिच्युटका शाना मार्शलले भनिन्, ‘तर त्यहाँ लबिइस्टहरू, थिंकट्यांकका विज्ञहरू, रणनीतिक सल्लाहकारहरू, कर्पोरेट कार्यकारीहरू र लगानीकर्ताहरूको एउटा विशाल सञ्जाल छ जो यी घटनाहरू हुँदा धेरै धनी हुन्छन् ।’

मार्शलले थपिन्, ‘ट्रम्प दाजुभाइको यो चरम भ्रष्टाचार त्यसकारण मात्र सम्भव भएको हो किनभने यसअघिका हरेक प्रशासनमा भएका सूक्ष्म प्रकारका नाफाखोरहरूलाई पनि कुनै सजाय दिइएन ।’

Skip This