निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै आयोग, कहिले बन्ला बालेन सरकार ?

224
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन आज राष्ट्रपति कार्यालयमा बुझाउने भएको छ ।

निर्वाचन सकिएपछिको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसअघि आयोगले आजै समानुपातिक प्रणालीबाट दलहरूले पाएको मतका आधारमा निर्वाचित ११० जना सांसदहरूलाई प्रमाणपत्र दिने छ ।

आयोगले आज९चैत ५० अपराह्न ४ बजे प्रतिवेदन बुझाउन राष्ट्रपति कार्यालयमक्ष समय माग गरेको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिलाई अन्तिम प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठन र संसद्को काम सुरु गर्ने बाटो खुल्ने छ ।

त्यसपछि संसद् सचिवालयले नवनिर्वाचित सांसदको शपथ प्रक्रिया अघि बढाउनेछ ।

संसद् सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथग्रहण गर्ने तयारी गरेको छ । सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यले शपथ गराउने संवैधानिक व्यवस्था छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसद आवश्यक पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को एक्लै १८२ सिट भएकाले उसले स्पष्ट बहुमत पाएको छ ।

तर, सरकार गठन अघि रास्वपाले संसदीय दलको नेता चयन गर्नुपर्ने भएकाले प्रक्रिया केही ढिलो हुने देखिएको छ । रास्वपाका नेताहरूले सांसदहरूको शपथपछि मात्र संसदीय दलका नेता चयन हुने जनाएका छन् ।

रास्वपाले चुनावअघि बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो ।

त्यसका लागि रास्वपाले सुरूमा बालेनलाई पार्टीको संसदीय दलको नेता चयन गर्नु पर्ने छ । सांसदहरूको शपथ १२ गते भएपछि त्यसको केही दिनभित्र नयाँ सरकार बन्ने देखिएको छ ।