
काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा आगामी बिहिबारदेखि राजधानीमा चारदिने २७ औं फ्लोरा एक्स्पोको आयोजना हुने भएको छ ।
‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नाराका साथ चैत ५ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा उक्त एक्स्पो आयोेजना हुने भएको छ ।
उक्त एक्स्पोमा व्यवसायीक स्टल ६५ वटा, अफिसियल स्टल ११ वटा, प्रतिस्पर्धा स्टल २ वटा, फूड स्टल २ वटा, ल्याण्डस्केप स्टल १ वटा, सेल्फी स्टल १ वटा तथा अन्य स्टल १ वटा सहित गरी जम्मा ८३ वटा स्टल रहने व्यवस्था गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक रामबहादुर तामाङ (सुनिल) ले जानकारी दिए ।
एक्स्पोमा एकै छानामुनि करिव ५ सय भन्दा बढी प्रजातिका फूल तथा फलफूल र आलंकारिक इनडोर र आउटडोर बिरुवाहरू, सिरेमिक र प्लास्टिकका गमलाहरु, अर्गानिक मल, गार्डनिंग तथा कौशी खेतीलाई आवश्यक पर्ने सामाग्रीहरु, उन्नत बिउबिजन र बगैँचाका आधुनिक औजारहरूबारे प्रत्यक्ष जानकारी र अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ ।
फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठका अनुसार एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरिय फूल तथा आलंकारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइने छ ।
उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग स्टल, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट तथा उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) विधामा पुरस्कृत गरिने छ ।
विजेताहरूलाई शिल्ड, नगद र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिने छ । उक्त एक्स्पोमा सहभागी हुने नर्सरी वा फर्मले ३ वटा विधामा मात्र प्रतिस्पर्धा गर्न पाउने छन् ।
पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात तथा निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता कम्पनी फर्महरू तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहने छ ।
एक्स्पोमा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनीहरू र विभिन्न संघ र संस्थाहरूको सहभागिता रहने छ ।
एक्स्पोमा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारिक बोटबिरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङ्गका सामाग्री, थोपा सिचाई प्रबिधि, आधुनिक पुष्प खेती प्रबिधि, जैविक बिषादी, विभिन्न प्रकारका गमलाहरू, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहने छन् ।
फूल तथा बोटबिरुवाहरूमा लाग्ने रोग किराहरू तथा बिरुवाको स्वास्थ्यता प्रशिक्षण सम्बन्धमा जिज्ञासा भएमा सोको समाधानका बालि रोग बिशेषज्ञहरू सहितको टिमद्वारा मेला स्थलमा प्लान्ट क्लिनिक स्टलबाट सेवा उपलब्ध गराईने छ ।
फ्यानका अनुसार यस वर्ष करिब ६० हजार अवलोकनकर्ताहरूद्वारा अवलोकन हुने तथा १ करोड २० लाख भन्दा बढीको व्यवसायिक कारोबार हुने अनुमान गरिएको छ ।







प्रतिक्रिया