इरानका सर्वोच्च नेता मोजतबा खामेनेईको अवस्था कस्तो छ ?


एजेन्सी । इरानका सर्वोच्च नेता स्वस्थ रहेको युद्धकालीन अवस्थाको पूर्ण रूपमा व्यवस्थापन गरिरहेको त्यहाँका विदेशमन्त्री अब्बास अराग्चीले बताएका छन् ।

अराग्चीले युद्धको न्यायोचित अन्त्यतर्फ लैजाने कुनै पनि क्षेत्रीय पहललाई स्वागत गर्ने पनि बताए । साथै, हालसम्म त्यस्तो कुनै विशिष्ट प्रस्तावमा छलफल नगरेको पनि उनले थपे ।

इरानी अधिकारीहरूले युद्धको सुरुवात गर्ने इजरायली आक्रमणमा खामेनेई घाइते भएको स्वीकार गरेका छन् तर ५६ वर्षीय नेताको चोट गम्भीर नभएको दाबी गरेका छन् ।

अमेरिकी–इजरायली आक्रमणमा मारिएका आफ्ना पिता आयातोल्लाह अली खामेनेईको उत्तराधिकारीका रूपमा भर्खरै नियुक्त भएका खामेनेई सत्ता सम्हालेदेखि सार्वजनिक रूपमा देखापरेका छैनन् जसले गर्दा उनको स्वास्थ्यको बारेमा अफवाहहरू फैलिएका छन् ।

उनको पहिलो सार्वजनिक सम्बोधन १२ मार्चमा सरकारी सञ्चारमाध्यमबाट प्रसारित गरिएको थियो । तर, यो सम्बोधन एक प्रस्तोताले पढेका थिए जसले अड्कलबाजीलाई झन् बढाएको छ ।

हिजो एनबीसी न्युजसँगको अन्तर्वार्तामा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता जीवितै छन् वा छैनन् भन्नेमा प्रश्न उठाए ।

ट्रम्पले थपे, ‘मैले उनी जीवित नभएको कुरा सुनिरहेको छु र उनी जीवितै छन् भने उनले आफ्नो देशको लागि एउटा बुद्धिमानी काम गर्नुपर्छ र त्यो काम हो आत्मसमर्पण ।’