ग्यासको अभाव भएपछि विश्वबजारमा विद्युतीय चुलोको माग उच्च


काठमाडौं । अमेरिकी-इरान-इजराइलबीच बढेको पश्चिमी एशियाली तनाव र युद्धको असर विश्व ऊर्जा बजारसँगै घरायसी भान्छा प्रविधिमा पनि स्पष्ट रूपमा देखा पर्न थालेको छ ।

खाना पकाउने ग्यास (एलपीजी) को आपूर्ति अवरुद्ध हुने डर र पेट्रोलियम पदार्थको आपूर्ति मार्ग अस्थिर हुँदा दर्जनौं मुलुकका उपभोक्ताहरूले विकल्पको रूपमा इन्डक्सन र इन्फ्रारेड चुलो रोज्न थालेका छन् ।

विश्व बजारमा अहिले यी दुबै चुलोको बजार निकै बढेको छ । केही मुलुकमा त यसको माग १० दोब्बरसम्म बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले औंल्याएका छन् ।

फ्युचर मार्केट इनसाइडका अनुसार सन् २०२५ सम्म इन्डक्सन चुलोको बजार २३.६ अर्ब अमेरिकी डलरको थियो । आगामी सन् २०३५ सम्ममा यो बजार बढेर ३७ अर्ब अमेरिकी डलरसम्म पुग्ने आँकलन गरिएको छ । यस्तै इन्फ्रारेड चुलोको बजार आगामी सन् २०३३ सम्ममा २३३ मिलियन अमेरिकी डलर पुग्ने बताइएको छ ।

ऊर्जा दक्षता, कम ताप उत्सर्जन, सुरक्षित खाना पकाउने प्रविधि र स्मार्ट किचेन प्रविधिका कारण यस्ता चुलोको बजार हिस्सा बढ्ने भएको छ ।

युद्धपछि किन माग अत्यधिक बढ्यो ?

युद्धपछि तेल र ग्यासको आपूर्ति श्रृंखला प्रभावित भएकाले विद्युतीय चुलोको बजार अत्यधिक परिमाणमा बढेको हो । यस्तै एलपी ग्यासको आपूर्ति प्रणाली घट्ने र मूल्य बढ्न सक्ने आशंकाका कारण पनि यस्ता चुलोको बजार हिस्सा बढ्दै गएको हो ।

पछिल्लो समयमा भारतमा मात्रै इन्डक्सन चुलोको बिक्री ३० गुणासम्म वृद्धि भएको पाइएको छ । केही ई–कमर्स प्लेटफर्ममा विद्युतीय चुलोको स्टकसमेत सकिएको छ । यस्तै खुद्रा बजारमा १० दोब्बर बिक्री बढेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भारतमा ग्यासको आपूर्तिमा आएको संकटका कारण विद्युतीय चुलोको ठूलो माग बढेको छ । घरपरिवार र रेष्टुरेन्टमा समेत विद्युतीय चुलोको अत्यधिक प्रयोग दर बढेपछि माग बढेको हो ।

बजारको मागलाई धान्न भारतको इन्डक्सन चुलो उत्पादकहरूले उत्पादन क्षमता ७० प्रतिशतबाट वृद्धि गरी अहिले शतप्रतिशत पुर्याएका छन् ।

इन्डक्सन र इन्फ्रारेड चुलोको सबैभन्दा ठूलो उत्पादक मुलुक चीनमा पनि ग्यासको अभाव हुन थालेपछि यस्ता चुलोको अत्यधिक माग बढेको छ ।

जर्मनी, फ्रान्स, नेदरल्याण्ड, अमेरिका, थाइल्याण्ड, भियतनाम र इन्डोनेशियालगायतका मुलुकमा पनि पछिल्लो समयमा विद्युतीय चुलोको मागमा उच्च परिमाणमा वृद्धि भएको छ ।

युद्धअघिसम्म भारतमा दैनिक करिब १५ हजार गोटासम्म बिक्री हुने यस्ता चुलोको बिक्री अहिले दैनिक १ लाखसम्म पुगेको छ । भारतमै ई–कमर्सबाट यस्ता चुलो खरिद गर्ने उपभोक्ताको संख्यामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

ई–कमर्स प्लेटफर्म अमेजनमा ३० र फ्लिपकार्टमा ३ दोब्बरले विद्युतीय चुलोको माग बढेको छ ।

युद्धपछि भारतमा अहिले ८५, चीनमा ४०, अमेरिकामा ७०, युरोपमा ५०, जापानमा ४०, दक्षिण कोरियामा ५० र दक्षिण पूर्व एशियामा ६० प्रतिशतले विद्युतीय चुलोको माग बढेको छ ।

युद्धपछि एशियाली मुलुकमा दैनिक ४ लाख, युरोपमा १ लाख र अमेरिकामा ६० हजार गोटासम्म विद्युतीय चुलोको बिक्री भइरहेको छ ।

माग बढेसँग मूल्य पनि बढ्यो

एलपी ग्यासको विकल्पमा आम उपभोक्ताले इन्डक्सन र इन्फ्रारेड चुलो विकल्पको रूपमा प्रयोगमा ल्याएपछि अहिले यस्ता चुलोको मूल्यसमेत ह्वात्तै बढेको छ ।

युद्धअघिसम्म ३ हजार ५ सय रुपैयाँमा पाइने सामान्य मोडेलको इन्डक्सन चुलोको मूल्य बढेर अहिले ४५०० रुपैयाँमा पुगेको छ । यस्तै ७ हजार रुपैयाँ पर्ने मध्यम मोडेलको मूल्य बढेर अहिले ९ हजार र २० हजार रुपैयाँ पर्ने प्रिमियम मोडेलको इन्डक्सनको मूल्य बढेर अहिले २५ हजार रुपैयाँ पुगेको छ ।

उता इन्फ्रारेड चुलोतर्फ ५ हजार रुपैयाँ पर्ने बेसिक मोडेलको मूल्य बढेर ६५०० रुपैयाँ पुगेको छ । ९ हजार रुपैयाँ पर्ने मध्यम मोडेलको मूल्य १२ हजार र ५० हजार रुपैयाँ पर्ने कमर्शियल मोडेलको मूल्य बढेर ७० हजार रुपैयाँ पुगेको छ ।

कहाँ हुन्छ उत्पादन ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस्ता इन्डक्सन चुलो र इन्फ्रारेड चुलो मुख्य गरी चीन, जापान, दक्षिण कोरिया, युरोप र भारतमा उत्पादन हुन्छ ।

यसमध्ये सबैभन्दा बढी चीनले माइडिया र हाइयर ब्रान्डमा उत्पादन गर्छ । यसपछि जापानले पानासोनिक ब्रान्ड, दक्षिण कोरियाले सैमसङ, युरोपले बोस्च र इलेक्ट्रोलक्स तथा भारतले टीटीके प्रेस्टिज, बजाज, बटरफ्लाइ ब्रान्डमा विद्युतीय चुलो उत्पादन गर्दै आएका छन् ।

चीनले दैनिक ३ लाख गोटा, भारतले ८० हजार र युरोपियन मुलुकबाट ३० हजारको हाराहारीमा उत्पादन हुँदै आएको छ । तर युद्ध सुरु भएयता माग बढेपछि अधिकांश यस्ता उत्पादक मुलुकले उत्पादन क्षमता शतप्रतिशतसम्म पुर्याएका छन् ।

उपभोक्तालाई कुन राम्रो ?

इन्डक्सन चुलो : कम ऊर्जा खपत गर्छ । छिटो खाना पकाउँछ । प्रयोग गर्न सुरक्षित, कम ताप उत्सर्जन गर्ने भएकाले उपभोक्ताको पहिलो रोजाइमा पर्छ । तर यो चुलोमा खाना पकाउने विशेष भाँडा आवश्यक पर्ने भएकाले फेरि भाँडा खरिदमा थप लगानी गर्नुपर्ने बाध्यता उपभोक्ताको हुन्छ ।

ऊर्जा विज्ञका अनुसार कम बिजुली खर्च, सुरक्षित प्रविधि र स्मार्ट नियन्त्रण सुविधा भएकाले उपभोक्ताले यो चुलो बढी मन पराउँछन् ।

इन्फ्रारेड चुलो : यसमा सबै प्रकारका भाँडा प्रयोग गर्न मिल्छ । मूल्य पनि सस्तो र प्रयोग गर्न सहज हुने भएकाले यो पनि उपभोक्ताको रोजाइमा पर्छ । तर यसमा ऊर्जा अत्यधिक खपत हुनुका साथै चुलोको सतह धेरै तातो हुनाले उपभोक्ताले त्यति सहज रूपमा रुचाएको पाइँदैन ।

कस्तो छ नेपालको बजार ?

नेपालमा पनि २०७२ असोजदेखि नेपालमा सुरु भएको अघोषित नाकाबन्दीको समयमा विद्युतीय चुलोतर्फ उपभोक्ता आकर्षित भएका थिए ।

खाना पकाउने ग्यासको चरम अभाव सिर्जना भएपछि तत्कालीन समयमा आम उपभोक्ताको रोजाइमा इन्डक्सन चुलो परेको थियो ।

चीन सरकारले अनुदानमा उपलब्ध गराएको उक्त इन्डक्सन चुलो साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी (तत्कालीन नेपाल खाद्य संस्थान) मार्फत बिक्री वितरण भएको थियो ।

पछिल्लो समयमा युद्धको प्रभावका कारण नेपालमा पनि खाना पकाउने ग्यासको आम उपभोक्ताले चरम अभाव व्यहोर्न बाध्य भएका छन् । ग्यासको लागि विक्रेता र ग्यास उद्योगमा उपभोक्ताको ठूलो लाइन लाग्न सुरु भएको छ ।

बजारमा ग्यासको अभाव सिर्जना हुन थालेपछि सरकारले गत शुक्रबारदेखि आधा तौल (७.१ किलो) को सिलिण्डरको उत्पादन र बजारीकरण गर्ने नीति लिएर आधा तौलको सिलिण्डरको बिक्री वितरण सुरु गरेको छ ।

विद्युतीय चुलोको आयातमा कर छुट, भान्छामा प्रयोग गर्न राज्यको प्रोत्साहन नीति र स्थानीय उत्पादनमा राज्यले प्रोत्साहन गर्न सके नेपालका उपभोक्ता पनि यो चुलोप्रति आकर्षित हुन सक्ने औंल्याइएको छ ।

यसले गर्दा ग्यास आयात दरलाई खुम्च्याएर व्यापार घाटालाई न्यूनीकरण गर्न पनि ठूलो सहयोग गर्न सक्छ ।