उमेदवारी खारेज भएका किशोरी साहको मुद्दा पहिलो नम्बरमा सुनुवाई हुँदै


काठमाडौं । उमेदवारी खारेज भएका धनुषा क्षेत्र नम्बर १ का उमेदवार किशोरी साह कमलको मुद्दा सर्वोच्च अदालतको ७ नम्बर इजलासमा सुनुवाई भइरहेको छ । न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा साहको मुद्दाको सुनुनवाई हुँदै छ ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी परेपछिको छानविनबाट निर्वाचन आयोगले उमेदवार हुन अयोग्य भएको ठहर गर्दै साहको उमेदवारी १९ फागुनमा खारेज भएको थियो । २१ फागुनमा भएको निर्वाचनमा उमेदवारी खारेज भएपनि ३० हजार भन्दा बढी मत पाएका र निकटम प्रतिस्पर्धीभन्दा २० हजारको मतान्तर साहको थियो ।

साहले पाएको मतलाई निर्वाचन आयोगले अलग्गै राखेको छ । अन्य प्रतिस्पर्धीबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उमेदवार मातृका यादवलाई निर्वाचन आयोगले अदालतको फैसला मान्ने सर्तमा विजेता बनाएको छ ।

अदालतले साहको उमेदवारी खारेजलाई सदर गरेमा यादवको संसद यात्रा सुरक्षित हुने छ भने अन्यथा साहलाई मान्नुपर्ने हुन्छ । उक्त मुद्दामा सुनुवाई भइरहेकोले सर्वाेच्च अदालतले आइतबार नै आदेश दिन सक्ने छ ।