पुँजीबजारमा मानक बनेका सूचीकृत अब्बल कम्पनी, कुनको स्थिति कस्तो?

119
Shares

काठमाडौं । हुन त बिना आधार पुँजीबजारका कुनै पनि कम्पनीहरुलाई अब्बल र मानक भन्न सकिँदैन । हरेक क्षेत्रका कम्पनीका बेग्लाबेग्लै किसिमका कमजोर तथा मजबुद पक्ष हुन्छन् । यी नै पक्ष तथा सूचकका आधारमा नै सेयर बजारमा लगानीकर्ताले कम्पनी छनौट गर्ने गर्दछन् ।

यहाँ उत्कृष्ट भन्दा पनि लगानीकर्तालाई लगातार प्रतिफल दिइरहेका र सम्बन्धित क्षेत्रमा आफ्नो ब्रान्ड बनाइरहेका कम्पनीलाई अगाडि सारिएको छ । यसको अर्थ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत अन्य कम्पनी कमजोर हुन् भनेर भन्न खोजिएको भने होइन । खासगरी, दोस्रो बजार (सेकेन्डरी मार्केट)मा लगानी गर्नेले कम्पनीको यथार्थ धरातल हेरेर लगानी गर्नुपर्ने भएको यो विषय महत्वपूर्ण भने पक्कै छ ।

समूहगत रूपमा कम्पनीहरूको उपलब्ध तथ्यांकमा आधारित भएर उच्च नाफा गरेका, बढी लाभांश दिइरहेका र दिने क्षमता भएका, चुक्ता पुँजीलाई सामान्य आधारका रूपमा लिएर समूहभित्र आकर्षित कम्पनीलाई अब्बल कम्पनीका रुपमा हेरिएको छ । लगानीका हिसाबमा लगातार राम्रो व्यवसाय गर्ने र नाफा कमाउने कम्पनीलाई लगानीका लागि सुरक्षित कम्पनीको रुपमा लिइन्छ ।

अधिकांश लगानीकर्ता सफल र आर्थिक रूपमा स्थिर कम्पनीमा हिस्सेदारी खोज्ने भएकाले पनि यस्ता कम्पनीका लागि उनीहरु बढी प्रिमियम तिर्न तयार हुने गर्दछन् । आशाजनक भविष्य भएका कम्पनीमा लगानीकर्ताले भविष्यमा राम्रो आम्दानी हुने अपेक्षा गर्छन् । नियमित रूपमा लाभांश वितरण गर्ने वा सेयरधनीलाई आकर्षक प्रतिफल दिने कम्पनीहरूलाई लगानीकर्ताले बढी महत्व दिन्छन् ।

राम्रो प्रदर्शन गरिरहेका, कम्पनीको व्यवस्थापक राम्रो भएको कम्पनी पनि लगानीकर्ताको रोजाइमा पर्नेगर्दछन् । नेप्सेमा सूचीकृत केही कम्पनीले पछिल्लो एक दशक बढी समयदेखि लगानीकर्तालाई निकै राम्रो प्रतिफल दिइरहेका छन् । ती कम्पनी लगानीका हिसाबमा आज पनि उतिकै सुरक्षित र उत्कृष्ट मानिन्छन् । हामी यहाँ लामो समयदेखि लगानीकर्तालाई राम्रो प्रतिफल दिएकामध्येका केही कम्पनीको वर्तमान अवस्था र वित्तीय सूचकलाई केलाएर हेर्ने छौं ।

युनिलिभर नेपाल
नेपालको सेयर बजारमा सबैभन्दा बढी लाभांश दिने कम्पनीहरूको सूचीमा युनिलिभर नेपाल पर्दछ । यस कम्पनीको सेयर हाल ४६ हजार रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ । पछिल्लो १३ वर्षको इतिहास हेर्ने हो भने यस कम्पनीले न्यूनमा १०० रुपैयाँदेखि बढीमा १८४२ रुपैयाँसम्म लाभांश वितरण गरेको छ ।

यसको ९ लाख २० हजार ७०० कित्ता सेयर नेप्सेमा सूचीकृत छ । त्यसमध्ये १५ प्रतिशत अर्थात् १ लाख ३८ हजार १०५ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा र ८५ प्रतिशत अर्थात् ७ लाख ८२ हजार ५९५ कित्ता सेयर संस्थापक सेयरधनीको स्वामित्वमा छ ।

कम्पनीले आर्थिक वर्ष २०६८/६९ मा ६८० रुपैयाँ, २०६९/७० मा ७६० रुपैयाँ, २०७०/७१ मा ८६० रुपैयाँ, २०७१/७२ मा ९९० रुपैयाँ, २०७२/७३ मा १०२० रुपैयाँ, २०७३/७४ मा १२७० रुपैयाँ लाभांश दिएको थियो ।

यस्तै, २०७४/७५ मा ७०० रुपैयाँ, २०७५/७६ मा ७७० रुपैयाँ र २०७६/७७ मा १०० रुपैयाँ, २०७७/७८ मा ६५० रुपैयाँ, ०७८/७९ मा १२१५ रुपैयाँ र २०७९/८० को नाफाबाट १५८० रुपैयाँ नगद लाभांश दिएको देखिन्छ ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १७१४ रुपैयाँ र गत आर्थिक वर्ष २०८१/८२ को नाफबाट १८४२ रुपैयाँ लाभांश दिएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म युनिलिभर नेपालको खुद नाफा ४३ करोड ९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ९.८२ प्रतिशत कम हो ।

गत वर्ष कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल आम्दानी ८ प्रतिशतभन्दा बढीले घट्दा खुद नाफामा असर परेको हो । कुल खर्च पनि यो वर्ष ७.६१ प्रतिशत कम भएको छ । गत वर्ष १ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी रहेको कुल आम्दानी यस वर्ष भने १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी मात्र भएको हो ।

बोटलर्स नेपाल (तराई)
बोटलर्स नेपाल लिमिटेडमा कोकाकोला साउथ वेस्ट एसिया होल्डिङको ७६.१६ प्रतिशत, गोर्खा बु्रअरी प्रालिको २२ प्रतिशत र सर्वसाधारण सेयरधनीको १.८४ प्रतिशत सेयर हिस्सा छ । बोटलर्स नेपाल (तराई)को सेयर हाल ११ हजार ८०० रुपैयाँ हाराहारीमा कारोबा भइरहेको छ । कम्पनीको १२ लाख १० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ, जसमा २५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको छ ।

बोटलर्स नेपाल (तराई)ले पछिल्लो १४ वर्षमा नौ वर्ष लाभांश वितरण गरेको छ । कम्पनीले २०६७/६८ मा ५५ प्रतिशत, २०६८/६९ मा ८५ प्रतिशत, २०७०/७१ मा २२ प्रतिशत, २०७१/७२ मा २५ प्रतिशत लाभांश दिएको छ ।

यस्तै, २०७३/७४ मा २४ प्रतिशत, २०७४/७५ मा ४० प्रतिशत, २०७८/७९ मा ६० प्रतिशत, २०७९/८० मा ६० प्रतिशत र २०८०/८१ मा ५० प्रतिशत लाभांश वितरण गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा बोटलर्स नेपाल (तराई)को खुद नाफा १३ करोड ५४ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुसमा यो कम्पनीको नाफा ११ करोड ८९ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो । ६ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ३६ करोड ८६ लाख ४१ हजार रुपैयाँ छ ।

गत वर्षको पुसमा कम्पनीले २ अर्ब ९६ करोड ८६ लाख ९५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यसकै अर्को कम्पनीको रुपमा रहेको बोटलर्स नेपाल (बालाजु) को चालु आवको दोस्रो त्रैमासमा खुद नाफा ३ करोड १२ लाख ६८ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुसमा यो कम्पनीको नाफा २४ करोड ५० लाख ४२ हजार रुपैयाँ ऋणात्मक थियो ।

हिमालयन डिस्टिलरी
हिमालयन डिस्टिलरीले पछिल्लो १२ वर्षदेखि लगातार नगद लाभांश र सात वर्षदेखि बोनस सेयर दिँदै आएको छ । पछिल्लो १२ वर्षमा कम्पनीले सबैभन्दा बढी नगद लाभांश आर्थिक वर्ष २०७४/७५ मा दिएको थियो । सो वर्ष कम्पनीले ६८.४२ प्रतिशत लाभांश दिएको थियो ।

यस्तै, कम्पनीले २०७६/७७ मा ५२.६३ प्रतिशत लाभांश र ५० प्रतिशत बोनस सेयर, २०७७/७८ मा ५० प्रतिशत नगद लाभांश र ७५ प्रतिशत बोनस सेयर दिएको थियो । पछिल्लो पटक कम्पनीले गत आव २०८१/८२ मा ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिएको थियो ।

हाल यस कम्पनीको सेयर १२०० रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ । ३ करोड ६८ लाख ८० हजार ८२२ कित्ता सेयर सूचीकृत भएकोमा सर्वसाधारणको स्वामित्वमा ४२ प्रतिशत अर्थात् १ करोड ५४ लाख ८९ हजार ९४५ कित्ता सेयर छ ।

हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४४ करोड ८३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यो वर्ष कम्पनीको खुद नाफा १०.७३ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ४० करोड ४९ लाख रुपैयाँभन्दा बढी थियो ।

यस वर्ष कम्पनीको आम्दानी करिब ७ प्रतिशत बढी भएको छ । गत वर्ष ३ अर्ब ३ करोड रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष २ अर्ब २३ करोड रुपैयाँभन्दा बढी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ६८ करोड ८० लाख ८२ हजार रुपैयाँ छ । २० प्रतिशत बोनस शेयरमार्फत कम्पनीले पूँजी बृद्धि गरेको हो ।

शिवम् सिमेन्ट
नेप्सेमा शिवम् सिमेन्ट कम्पनीको ५ करोड ५९ लाख ३२ हजार २८८ कित्ता सेयर सूचीकृत छ । यसमा १२ प्रतिशत अर्थात् ६७ लाख ११ हजा ८७४ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ । हाल कम्पनीको सेयर प्रतिकित्ता ६५० रुपैयाँ हाराहारीमा भइरहेको छ ।

शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा ३५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२८.५२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसै समयसम्म कम्पनीको खुद नाफा ५ करोड ६८ लाख रुपैयाँ मात्रै थियो ।

कम्पनीको जगेडा कोष ३ अर्ब १५ करोड रुपैयाँबाट बढेर ३ अर्ब ५३ करोड पुगेको छ । कुल चालु सम्पत्ति ४ अर्ब ३२ करोड र चालु दायित्व २ अर्ब ८४ करोड रुपैयाँ कायम छ । यस अवधिसम्म प्रतिसेयर आम्दानी १२.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८०.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३५.१० रुपैयाँ र तरलता अनुपात १.५२ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।

शिवम् सिमेन्टले आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले १५.७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछि २०७५/७६ मा पनि १५.७८ प्रतिशत नगद लाभांश दिएको कम्पनीले २०७६/७७ मा २४.२१ प्रतिशत, २०७७/७८ मा २८ प्रतिशत, २०७८/७९ मा १०.५३ प्रतिशत लाभांश दिएको थियो ।

आव २०७९/८० मा कम्पनीले ०.७५ प्रतिशत नगद लाभांशसँगै १४.२५ प्रतिशत बोनस सेयर, २०८०/८१ मा ०.४५ प्रतिशत नगद लाभांश र ८.५५ प्रतिशत बोनस सेयर र २०८१/८२ मा १० प्रतिशत नगद लाभांश र २.५० प्रतिशत बोनस सेयर वितरण गरेको छ ।

सोल्टी होटल
सोल्टी होटलले पछिल्लो १३ वर्षमा दुई वर्ष बाहेक सबै वर्ष आफ्ना लगानीकर्तालाई लाभांश दिएको छ । आर्थिक वर्ष २०६७÷६८ मा २० प्रतिशत बोनस र ३२.६३ प्रतिशत नगद लाभांश दिएकोमा २०६८÷६९ मा २० प्रतिशत बोनस र ३२.६३ प्रतिशत नगद लाभांश, २०६९/७० मा ४० प्रतिशत बोनस सेयर र १२.६३ प्रतिशत नगद लाभांश दिएको थियो ।

पछिल्लो पटक होटलले २०७९/८० मा ५ प्रतिशत बोनस सेयर र २६.५८ प्रतिशत नगद लाभांश, २०८०/८१ मा १० प्रतिशत बोनस सेयर र २६.८४ प्रतिशत नगद लाभांश र २०८१/८२ मा १५ प्रतिशत बोनस सेयर र १६.५८ प्रतिशत नगद लाभांश दिएको छ ।

हाल सोल्टी होटलको सेयर प्रतिकित्ता ५०० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । कम्पनीको ११ करोड ७५ लाख १५ हजार २५४ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । यसको १५ प्रतिशत अर्थात् १ करोड ७६ लाख २७ हजार १३१ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले यस होटलले कुल ३४ करोड ७५ लााख रुपैयाँ नाफा कमाएको छ जुन गत आवको सोही अवधिको तुलनामा १५.१९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीले ३० करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको ६ महिनाको सोल्टी होटलले १ अर्ब ४५ करोड रुपैयाँको आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १९.६९ प्रतिशतले बढी हो । होटलको प्रतिसेर आम्दानी ३.४० रुपैयाँ र प्रतिसेयर नेटवर्थ २८.७५ रुपैयाँ छ ।