
काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपालको स्टार्टअप इकोसिस्टमको चुनौती, अवसर र नीतिगत सुधारका विषयमा केन्द्रित ‘स्टार्टअप संवाद राउन्डटेबल’ कार्यक्रम आयोजना गरेको छ।
शुक्रबार आयोजित उक्त कार्यक्रममा उदीयमान नवउद्यमी युवा, शैक्षिक क्षेत्रका प्रतिनिधि तथा उद्योग–वाणिज्य क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले नेपालको स्टार्टअप क्षेत्रको वास्तविक अवस्था, संस्थागत सहयोगको आवश्यकता तथा नीतिगत सुधारका सम्भावित मार्गहरूबारे विस्तृत छलफल गरेका थिए।
कार्यक्रम कुणाल कयाल (निक्कीका उपाध्यक्ष तथा स्टार्टअप तथा प्राइभेट इक्विटी समितिका संयोजक) को अध्यक्षतामा सम्पन्न भएको थियो।
उनले नेपालका युवाहरूको बढ्दो विदेश पलायन कम गर्न स्वदेशमै उद्यमशील वातावरण सुदृढ बनाउन संघले विभिन्न पहलहरू अघि बढाइरहेको जानकारी दिए।
छलफलका क्रममा सहभागीहरूले नेपालमा स्टार्टअप विकासमा बाधा पु¥याइरहेका विभिन्न संरचनागत तथा नीतिगत समस्याहरू औंल्याएका थिए।
विशेषगरी वित्तीय पूर्वाधार, सरकारी खरिद प्रणाली तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने संरचनाको अभाव प्रमुख चुनौतीका रूपमा उठाइएको थियो।
एग्रो रेन्ज नेपालका सुबाश पाण्डे र दियो एआईका विजय भट्टराईले सरकारी खरिद प्रक्रियामा प्रायः आयातित वस्तुहरूलाई प्राथमिकता दिइने प्रवृत्तिका कारण स्थानीय नवप्रवर्तनकर्ताहरूलाई बजारमा प्रवेश गर्न कठिनाइ हुने गरेको बताए।
उनीहरूले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिए।
सहभागीहरूले स्टार्टअपद्वारा विकसित प्रविधि वा उत्पादन परीक्षणका लागि आवश्यक प्रयोगशाला, अनुसन्धान पार्क तथा परीक्षण पूर्वाधारको अभाव गम्भीर रहेको पनि उल्लेख गरे।
नवउद्यमीहरूले अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली प्रयोग गर्न कठिनाइ हुने, विदेशी लगानी भित्र्याउने प्रक्रिया जटिल हुने तथा बौद्धिक सम्पत्ति (आईपी) र पेटेन्ट सुरक्षालाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता रहेको विषय पनि उठाएका थिए।
कतिपय नेपाली युवाहरू अन्तरिक्ष प्रविधि (स्पेस टेक्नोलोजी) जस्ता उदीयमान क्षेत्रमा समेत काम गरिरहेका भए पनि आवश्यक उपकरण र सामग्री आयात गर्न विभिन्न प्रशासनिक कठिनाइ भोग्नुपरेको अनुभव उनीहरूले साझा गरेका थिए।
सहभागीहरूले सरकारी निकायहरूले स्वदेशी स्टार्टअप उत्पादनका प्रारम्भिक ग्राहक वा प्रयोगकर्ता बन्ने वातावरण बनाउनुपर्ने सुझाव पनि दिएका थिए।
यसले प्रारम्भिक चरणका स्टार्टअपहरूलाई बजारमा टिक्न सहयोग पुग्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै निक्कीका उपाध्यक्ष गौरव तयालले नेपालमा नवप्रवर्तनकर्ताहरूको सशक्त समूह भए पनि उनीहरूलाई सफल बनाउन संरचित मेन्टरशिप, लगानीका अवसर र सहज ‘एक्जिट’ प्रणाली आवश्यक रहेको बताए।
छलफलमा काठमाडौं युनिभर्ससिटीकी एसोसिएट प्रोफेसर रोशी लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघ का स्टार्टअप समितिकी संयोजक जुना माथेमा तथा नेपाल उद्योग परिसंघ का स्टार्टअप समितिका संयोजक अनुराग गोयल लगायतले स्टार्टअप इकोसिस्टमका विभिन्न आयामबारे अनुभव साझा गरेका थिए।
सहभागीहरूले नेपालमा विभिन्न इनक्युबेसन कार्यक्रम र केन्द्रहरू भए पनि ती प्रायः सीमित संस्थाभित्र केन्द्रित भएकाले व्यापक स्तरमा स्टार्टअपलाई सहयोग पुग्न नसकेको टिप्पणी गरेका थिए।
निक्कीका स्टार्टअप समितिका सदस्य सन्दीप कामत ले सिंगापुर र भारतको बैंगलोरजस्ता सफल स्टार्टअप इकोसिस्टमसँग तुलना गर्दै नेपालले प्रवासी नेपाली समुदायको अनुभव र सञ्जाललाई उपयोग गर्नुपर्ने बताए।
साथै शैक्षिक संस्था र उद्योगबीच अझ सुदृढ सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।
कार्यक्रमको समापन गर्दै निक्कीका उपाध्यक्ष कुणाल कयालले छलफलका क्रममा उठेका विषय र निष्कर्षहरूलाई नीतिगत तहसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे। उनले नियामक अवरोधदेखि बजार विश्वाससम्मका विषयहरूले स्टार्टअप क्षेत्रको विकासका लागि स्पष्ट मार्गचित्र प्रदान गरेको बताए।
उनका अनुसार संघले नेपाल–भारत व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपाली स्टार्टअपहरूको क्षमता विस्तार गर्न र ‘भिजन २०३०’ का लागि आवश्यक खाका तयार पार्न सहयोग गर्नेछ।







प्रतिक्रिया