
काठमाडौं । खाना पकाउने ग्याँस र सवारी साधनका लागि इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ ।
ग्याँस भएर पनि उपभोक्तालाई छैन भनेर अत्यधिक रकम असुल्ने बिक्रेता महानगरपालिकाको निगरानीमा परेका छन् । यस्तै पम्पमा इन्धन भएर पनि उपभोक्तालाई उपलब्ध नगराउने पम्प सञ्चालकहरु पनि निगरानीमा परेका छन् ।
महानगरपालिकाका प्रशासन विभागका प्रमुख महेश काफ्ले भने, ‘ग्याँस छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारवाही गनेछौँ । नेपाल आयल निगमले ग्याँसको मूल्य प्रति सिलिण्डर १ हजार ९१० रुपियाँ तोकेको छ । यही मूल्यमा खरिद विक्री गर्न व्यावसायी र उपभोक्ताहरुमा हाम्रो अनुरोध छ ।’
ग्याँस र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका हटलाइन नम्बरहरु ११८० र ९८५१३५६५०९ मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा महानगरपालिकाले निगरानी गर्नेछ ।
ग्याँस विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्याँस अहिलेसम्म नियमित छ । माग धेरै भएकोले अभाव देखिएको हो । यसमा उपभोक्ताले सञ्चितीका लागि माग गर्नुभएन भने समस्या देखिँदैन ।







प्रतिक्रिया