एआई प्रविधिसहित ‘अर्थसाथी’ एप सार्वजनिक, नेप्से लगानीकर्तालाई बजार विश्लेषणमा सहयोग गर्ने दाबी

273
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगानी गर्ने सर्वसाधारणलाई बजार बुझ्न सहज बनाउने उद्देश्यले ‘अर्थसाथी’ नामक नयाँ मोबाइल एप सार्वजनिक भएको छ।

एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध यो एप सञ्चालनमा आएको करिब एक महिनामै एक हजारभन्दा बढी प्रयोगकर्ताले साइन–इन गरिसकेका छन्।

शेयर बजारमा लगानी गर्न चाहने धेरै मानिसलाई बजारका तथ्यांक, फ्लोरसिट, ब्रोकर गतिविधि र विभिन्न बजार रिपोर्टहरू अध्ययन गर्नुपर्ने भएकाले बजार बुझ्न कठिन हुने गरेको छ।

यस्तो जानकारी संकलन गर्न धेरै समय लाग्ने र धेरै लगानीकर्ता अन्योलमा पर्ने समस्या देखिएपछि ‘अर्थसाथी’ एप विकास गरिएको हो।

एप विकासकर्ताका अनुसार अहिलेको व्यस्त जीवनशैलीमा अधिकांश मानिससँग बजारसम्बन्धी डेटा घण्टौँ अध्ययन गर्ने समय हुँदैन। त्यसैले बजारसम्बन्धी महत्त्वपूर्ण जानकारी सरल रूपमा प्रस्तुत गर्ने उद्देश्यले यो एप तयार गरिएको हो, जसले प्रयोगकर्तालाई छोटो समयमै बजारको अवस्थाबारे बुझ्न सहयोग गर्छ।

एपको मुख्य विशेषता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित बजार विश्लेषण हो। प्रणालीले विगतका बजार डेटा र प्रवृत्तिको अध्ययन गरेर बजारमा के भइरहेको छ भन्नेबारे प्रयोगकर्तालाई सरल संकेत (इन्साइट) प्रदान गर्छ। यसले कुन शेयर किन्न, होल्ड गर्न वा बेच्न उपयुक्त हुन सक्छ भन्नेबारे संकेत दिन सहयोग गर्ने दाबी गरिएको छ।

एपमा उपलब्ध ‘एआई पोर्टफोलियो एनालिसिस’ सुविधा अर्को महत्वपूर्ण पक्ष हो। प्रयोगकर्ताले आफ्नो पोर्टफोलियो खोलेर ‘एनालाइज पोर्टफोलियो’ ट्याप गरेपछि प्रणालीले पोर्टफोलियोमा रहेका सबै शेयरहरूको अध्ययन गर्छ।
यस क्रममा प्रणालीले करिब एक वर्षको बजार डेटा र प्राविधिक प्रवृत्तिको विश्लेषण गर्छ।

जटिल तथ्यांक देखाउने सट्टा प्रयोगकर्ताको पोर्टफोलियोका लागि स्पष्ट सुझाव प्रदान गरिन्छ। यसले कुन शेयर बलियो देखिएको छ, कुनमा ध्यान दिन आवश्यक छ र आगामी कदम के हुन सक्छ भन्ने संकेत दिन्छ। यसले अनुमान वा अपूर्ण जानकारीका आधारमा निर्णय गर्ने प्रवृत्ति घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

एपमा पोर्टफोलियो व्यवस्थापन प्रणाली पनि समावेश गरिएको छ, जसबाट प्रयोगकर्ताले आफूले किनेका सबै शेयरको प्रदर्शन सजिलै हेर्न सक्छन्।

यसका अतिरिक्त ‘वाचलिस्ट’ सुविधा पनि छ, जहाँ प्रयोगकर्ताले कुनै शेयरका लागि किन्ने र बेच्ने लक्ष्य मूल्य निर्धारण गर्न सक्छन्। शेयरको मूल्य उक्त लक्ष्यमा पुगेपछि एपले वाचलिस्टमै जानकारी देखाउँछ।

प्रयोगकर्ताले दुई वटा शेयरलाई सँगै तुलना गर्ने सुविधा पनि एपमा उपलब्ध छ, जसले कुन कम्पनीको प्रदर्शन राम्रो छ भन्ने बुझ्न सहयोग गर्छ।

एपमा आईपीओ सम्बन्धी जानकारी र नतिजा हेर्न सकिने छुट्टै सेक्सन पनि छ। यसले परिवारका विभिन्न सदस्यका लागि आईपीओ आवेदन दिने लगानीकर्तालाई सहज बनाउने अपेक्षा गरिएको छ।

शुरुआती लगानीकर्तालाई लक्षित गर्दै ‘भर्चुअल ट्रेडिङ’ सुविधा पनि समावेश गरिएको छ, जसलाई ‘भाले कप’ नाम दिइएको छ। यसमा प्रयोगकर्ताले वास्तविक पैसा प्रयोग नगरी भर्चुअल अंक प्रयोग गरेर ट्रेडिङ अभ्यास गर्न सक्छन्।

एपमा समूह छलफल (ग्रुप डिस्कसन) सुविधा पनि छ, जहाँ प्रयोगकर्ताले बजारबारे छलफल गर्न, शेयरसम्बन्धी विचार आदानप्रदान गर्न र अन्य लगानीकर्ताबाट सिक्न सक्छन्।

इन्टरनेट उपलब्ध नभएको अवस्थामा पनि प्रयोगकर्ताले अन्तिम पटक लोड भएको बजार डेटा हेर्न र आफ्नो पोर्टफोलियो वा वाचलिस्ट व्यवस्थापन गर्न सक्ने अफलाइन मोड पनि एपमा समावेश गरिएको छ।

‘अर्थसाथी’ एप ‘आर्था एआई सफ्ट प्रालि’ले विकास गरेको हो। यसलाई तीन जनाको टोली राहुल रिसाल, आशिष अर्याल र सुजन पोखरेलले संयुक्त रूपमा तयार पारेका हुन्। उनीहरूले बजारसम्बन्धी ज्ञान र प्राविधिक विकासलाई संयोजन गर्दै शेयर बजार विश्लेषणलाई सरल बनाउने प्लेटफर्म निर्माण गरेका हुन्।

विकासकर्ताहरूका अनुसार ‘अर्थसाथी’को दीर्घकालीन लक्ष्य नेपालमा शेयर बजार बुझ्ने तरिकालाई आधुनिक बनाउनु हो। यसले अनुभवी ट्रेडरहरूको समय बचत गर्ने र नयाँ लगानीकर्तालाई चरणबद्ध रूपमा लगानी सिक्न सहयोग गर्ने विश्वास लिइएको छ।

आगामी दिनमा एपमा एआई आधारित ट्रेडिङ चार्ट र थप उन्नत बजार उपकरणहरू थप्ने योजना रहेको टोलीले जनाएको छ। ‘अर्थसाथी’ एप हाल एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ।