अनावश्यक रुपमा ग्यास सञ्चित गर्दा अभाव भयो, आयातमा समस्या छैन: निगम

21
Shares

काठमाडौं । नेपाल आयल निगमले शुक्रबारदेखि देशभर ग्यास अभाव कम गर्न आधा भरिएको सिलिण्डर बजारमा पठाउन सुरु गरेको छ ।

देशमा ग्यास आयात खपतअनुसार नै भइरहे पनि उपभोक्तामा फैलिएको त्रासका कारण ग्यास सञ्चिति बढ्दा बजारमा वितरणमा समस्या देखिएपछि निगमले आधा भरिएका सिलिण्डर बजारमा पठाएको हो ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सुरुमा चुनावको सन्दर्भलाई लिएर ग्यासको आपूर्तिमा समस्या हुन सक्ने आशंकाले उपभोक्ताले ग्यास जोहो गरेका थिए । त्यसपछि सञ्चारमाध्यममा भारत लगायतका देशमा ग्यास अभावबारे समाचार आएपछि उपभोक्तामा थप त्रास फैलिएको र सञ्चिति गर्ने क्रम झन् बढ्दा अभाव चर्किएको उनले बताए ।

उनका अनुसार सुरुमा एक–दुई वटा कम्पनीको मात्रै ग्यास अभाव देखिए पनि अहिले अन्य कम्पनीका ग्याससमेत सहज रूपमा नपाइने अवस्था आएपछि त्यसलाई सहजीकरण गर्न आधा सिलिण्डर बजारमा पठाइएको हो ।

निगमका अनुसार देशमा ग्यास आयात भने खपतअनुसार नै भइरहेको छ । गत पुस महिनामा ४७ हजार मेट्रिक टन ग्यास आयात भएको थियो भने माघ महिनामा करिब ४६ हजार मेट्रिक टन ग्यास आयात गरिएको छ । नेपालको मासिक खपत करिब ४५ देखि ४६ हजार मेट्रिक टन रहेको निगमले जनाएको छ । यसैगरी, फागुन २६ गतेसम्म करिब साढे ४६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको ठाकुरले बताए ।

तर उपभोक्ताले सहज रूपमा ग्यास नपाएपछि समस्या समाधानका लागि निगमले बृहत छलफल गरेर आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गरेको उनले बताए ।

ठाकुरका अनुसार ग्यास अभावको असर विशेषगरी हुनेखानेभन्दा विद्यार्थी र मजदुर वर्गमा बढी देखिएको छ । उनीहरूलाई एउटा ग्यास सिलिण्डर पाउन महिनौँ कुर्नुपर्ने अवस्था देखिएपछि समस्या समाधानका लागि ७.१ केजी ग्यास भरेर वितरण गर्ने निर्णय गरिएको हो ।

यसअघि पूर्ण सिलिण्डर ग्यासको मूल्य १ हजार ९ सय १० रुपैयाँ रहेकोमा अब आधा सिलिण्डर अर्थात् ७.१ केजी ग्यासको मूल्य ९ सय ५५ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय स्तरमा देखिएको युद्धका कारण हालसम्म ग्यास तथा इन्धन आयातमा कुनै समस्या आएको छैन।