पासपोर्ट वितरण तीन सातासम्म बन्द हुन सक्ने

602
Shares

काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली लागू गर्ने तयारीका कारण राहदानी वितरण सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जनाएको छ। विभागले सूचना जारी गर्दै नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने क्रममा केही समय सेवा अवरुद्ध हुन सक्ने जानकारी दिएको हो।

विभागका अनुसार हाल राहदानी पुस्तिकासहित आवश्यक तयारी पूरा भइसकेको छ र एक–दुई महिनाभित्र अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा परिवर्तन गर्ने योजना रहेको छ । यस अन्तरिम अवधिमा प्रणाली पूर्ण रूपमा स्थिर नभएसम्म राहदानी वितरणमा अवरोध हुन सक्ने बताइएको छ।

विभागले जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राहदानी सेवा एकदेखि तीन सातासम्म बन्द हुन सक्ने जनाएको छ। त्यस्तै विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने सेवा भने करिब एक सातासम्म प्रभावित हुन सक्नेछ।

नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने विभागको भनाइ छ। यस अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भएर जारी हुन अहिलेभन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ।

त्यसैले असोजभित्र राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीलाई अन्तरिम व्यवस्था सुरु हुनुअघि नै सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा विभागबाट सेवा लिन आग्रह गरिएको छ।

नयाँ प्रणाली सुरु हुने मिति तथा त्यस अवधिमा अपनाइने व्यवस्थाबारे थप जानकारी अर्को सूचनामार्फत सार्वजनिक गरिने विभागले जनाएको छ।