पश्चिम एसिया युद्धको प्रभाव सुनसरी मोरङ औद्योगिक क्षेत्रमा: कच्चा पदार्थको मूल्य बढ्यो, आपूर्तिमा समस्या


विराटनगर । युद्धग्रस्त पश्चिम एसियाको तनावको प्रभाव सुनसरी मोरङ औद्योगिक क्षेत्रमा देखिन थालेको छ ।

औद्योगिक करिडोरका उद्योगका लागि आवश्यक कच्चा पदार्थको अभावसँगै उपलब्ध कच्चा पदार्थको मूल्य वृद्धि र बढ्दो ढुवानी लागतले औद्योगिक क्षेत्र प्रभावित बनेको सम्बद्ध उद्योगीको भनाइ छ ।

मध्यपूर्वको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा औद्योगिक कच्चा पदार्थको मूल्य ह्वात्तै बढेको छ । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेलले भने, ‘बढेको मूल्यमा पनि पाइएको छैन र पाइए पनि ढुवानी हुन नसक्दा औद्योगिक क्षेत्र युद्धका नाममा प्रभावित बनेको छ ।’

इरान, अमेरिका र इजरायल बीचको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा वनस्पति तेल र प्लास्टिक दानाको मूल्यमा ४० प्रतिशतसम्म वृद्धि हुँदा उद्योगहरू संकटउन्मुख बनेका छन् । ‘निर्यातकर्ताले आयातकर्ताको अर्डर लिन छाडेका छन् । नेपालका उद्योगीबाट आयातका लागि अर्डर भइसकेको औद्योगिक कच्चा पदार्थको पनि लोडिङ र सिपमेन्ट हुन सकेको छैन,’ प्याकुरेलले भने ।

भारत र तेस्रो मुलुकबाट नेपालमा औद्योगिक कच्चा पदार्थ ढुवानी गर्ने सिपमेन्ट कम्पनीहरूले सामान पठाउन सकिँदैन भन्न सुरु गरिसकेका छन् । औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान आयात गर्न उद्योगी व्यवसायीले पछिल्लो समय नयाँ एलसी खोलेका छैनन् । प्याकुरेलले भने, ‘पुरानो एलसी (प्रतितपत्र) कै सामान ल्याउन सकिएको छैन, नयाँ खोल्ने त कुरै भएन ।’

एमएम प्लास्टिक उद्योगका सञ्चालक समेत रहेका प्याकुरेलले दानाको मुख्य स्रोत क्रुड पेट्रोलियम भएको र यसकै उत्पादन कम हुँदा विश्वबजारमा दानाको हाहाकारको अवस्था रहेको बताए ।

युद्धले सबै प्रकारका पेट्रोलियम पदार्थको आपूर्ति शृंखला बिग्रिएको छ । आपूर्ति शृंखला अवरुद्ध भएपछि लजिस्टिक खर्च पनि बढेको छ । तेल प्रशोधन कम्पनीले उत्पादन घटाउँदा दानाको उपलब्धता कम भएको उनको भनाइ छ ।

समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’को अवस्था युद्धग्रस्त भएपछि समस्या भएको हो । प्याकुरेलले भने, ‘कुनै पनि आपूर्तिकर्ताले निर्यातको अर्डर लिन मानिरहेका छैनन् र खुलिसकेको एलसीको सिपमेन्ट पनि गरिरहेका छैनन् ।’

अमेरिका, इजरायल र इरानबीच जारी लडाइँले खाडी मुलुकमा तनाव बढेको छ । ओमान, इरान र युएईसँग सीमा जोडिएको समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पनि लडाइँबाट प्रभावित हुँदा उक्त मार्ग हुँदै भारत र नेपालमा आयात हुने ग्यास र पेट्रोलियम पदार्थ ढुवानी प्रभावित भएसँगै त्यसको प्रभाव भारत र नेपालमा देखिन थालेको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको प्रतिक्रिया छ ।

‘मध्यपूर्वको तनावका कारण भारतमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको समस्या सुरु भइसक्यो,’ राठीले भने, ‘नेपालमा भारतबाट ग्यास र तेल आयात हुन्छ । त्यसको प्रभाव नेपालमा पनि सुरु भइसकेको अवस्था छ ।’

उनका अनुसार औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम पदार्थको मूल्य बढ्नु भनेको सबै वस्तुको मूल्य स्वतः बढ्नु हो र यसले सबै पक्षलाई प्रभाव पार्ने निश्चित छ ।

युद्धका कारण कच्चा तेलको प्रशोधनमा ठूलो असर परेको छ र मूल्यमा लगातार वृद्धि भइरहेको छ । यसका कारण रिफाइनरी उद्योगले नियमित दाना उत्पादन गरेर विश्व बजारमा आपूर्ति गर्न नसक्दा समस्या सुरु भएको हो । यसले गर्दा नेपालमा प्लास्टिक दानामा आधारित उद्योग प्रभावित भएका हुन् । उद्योगीले आफूसित जति दाना छ त्यतिले उद्योग चलाउँदै गर्ने र नयाँ दाना ल्याएर उत्पादन गर्ने अवस्था नभएको सम्बद्ध उद्योगीको गुनासो छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले युद्धयता प्लास्टिक दानाको मूल्यमा ४० प्रतिशतले वृद्धि हुँदा समग्र प्लास्टिक उद्योग प्रभावित भइसकेको अवस्था रहेको बताए ।

लोटस प्लास्टिक उद्योगका सञ्चालक राठीका अनुसार युद्धअघि टनको ९ सय डलर पर्ने एचडीपीई र पीपी दानाको मूल्य हाल १ हजार ३ सय डलरसम्म पुगे पनि त्यही मूल्यमा पनि पाइने अवस्था छैन ।

‘भारतका निर्यातकर्ताले मार्चको क्लोजिङ देखाउँदै नयाँ दानाको अर्डर लिन मानेका छैनन् । त्यस्तै अर्डर भइसकेको वस्तुको पनि सिपमेन्ट गरिरहेका छैनन्,’ उनले भने ।

नेपालका व्यवसायीले खासगरी भारतको रिलायन्स, ओपल र भारतीय आयल कर्पोरेसनबाट दाना मगाउने गर्छन् । त्यस्तै भियतनाम, कोरिया, मध्यपूर्व, थाइल्यान्ड लगायतका स्थानबाट पनि दाना आयात हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा दानाको मूल्य वृद्धिसँगै अभावका कारण प्लास्टिकका भाँडाकुँडा, खेलौना, फर्निचर, त्रिपाल, बोरा, पाइप, पेट बोतलहरू, प्याकेजिङ म्याटेरियल, जुत्ताचप्पल सबै उद्योग प्रभावित भएका छन् ।

युद्धको प्रभावले कच्चा वनस्पति तेलको पनि मूल्य वृद्धि भएको छ । कच्चा तेलका निर्यातकर्ताले आयातकर्ताको अर्डर लिन छाडेका छन् । नेपालका उद्योगीबाट आयातका लागि अर्डर भइसकेको कच्चा तेलको पनि लोडिङ र सिपमेन्ट हुन नसकेको उद्योगीले बताएका छन् ।

युद्धका कारण पश्चिम एसियाको मुख्य सामुद्रिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’मा आएको अवरोधका कारण कच्चा तेलको मूल्य वृद्धि, आपूर्ति र ढुवानीमा असर परेको हो ।

युद्ध सुरु हुनुभन्दा अघि टनको १ हजार २२० डलर रहेको भटमासको कच्चा तेलको मूल्य अहिले १ हजार २८० पुगेको बताए । भटमासको कच्चा तेल अर्जेन्टिना र ब्राजिलबाट आयात गरिन्छ । त्यस्तै युद्धअघि सूर्यमुखीको कच्चा तेलको मूल्य टनको १ हजार ४ सय डलर रहेकोमा १ हजार ५२० पुगिसकेको छ । यो तेल युक्रेन र अर्जेन्टिनाबाट आयात गरिन्छ ।

पशुपति खाद्य तेल उद्योगका सञ्चालक अमित शारडाले कच्चा तेलका निर्यातकर्ताले नेपालका उद्योगीलाई मूल्य वृद्धि र अभाव देखाउँदै नयाँ अर्डर नपठाउन भनिसकेको बताएका छन् ।