चालु खाता बचत ५ खर्ब नजिक, शोधनान्तर बचत करिब पौने ६ खर्ब

98
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामै चालु खाता बचत करिब ५ खर्ब रुपैयाँ पुगेको छ । आयातमा वृद्धि देखिए पनि रेमिट्यान्समा देखिएको उच्च वृद्धि र निर्यातमा पनि सुधार हुँदा चालु खातासँगै शोधनान्तर स्थिति पनि उच्च बचतमा देखिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८२ माघसम्मको तथ्यांक अनुसार चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोडले बचतमा छ । गत आर्थिक वर्ष २०८१/८२ को माघसम्म चालु खाता १ खर्ब ८४ अर्ब १४ करोडले मात्रै बचतमा थियो । अमेरिकी डलरमा गत आवको माघसम्म १ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता चालु आवको सोही अवधिमा ३ अर्ब ४७ करोडले बचतमा छ ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर ११ अर्ब ४३ करोड रहेको छ । गत आवको माघसम्म खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ८३ करोड रहेको थियो । यस्तै माघसम्म १० अर्ब २२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आवको यही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ४३ करोड रुपैयाँ थियो ।

माघसम्म भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) ५ खर्ब ७२ अर्ब ७३ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आवको माघसम्म शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आवको माघसम्म २ अर्ब ११ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ३ करोडले बचतमा छ ।