सम्पूर्ण अपडेट

कति दिनसम्म लम्बिएला इरान युद्ध ? अमेरिकाले नभई बजार प्रणालीले गर्नेछ निर्धारण

210
Shares

एजेन्सी । इरान युद्ध कति अवधिसम्म जाला भन्ने चासोका बीच ह्वाइट हाउसले ४ देखि ६ हप्ता भनिरहेको छ ।

बजारको प्रणालीले चाहिँ ६ देखि १८ महिना भनिरहेको छ ।

यीमध्ये एक पूरै गलत छ । कुन चाहिँ सही हो भन्ने कुरामा नै सम्पूर्ण विश्वव्यापी स्रोत बाँडफाँटको संरचना निर्भर गर्छ ।

अपरेशन एपिक फ्युरी सुरु भएको ९ दिनमा हरेक परम्परागत सैन्य मापदण्ड अनुसार अभियान सफल भइरहेको छ । इरानको हवाई रक्षा प्रणाली ८० प्रतिशत नष्ट भएको छ ।

इरानको मिसाइल प्रहार सुरुवाती दिनको उच्चतम विन्दुको तुलनामा ८६ प्रतिशतले घटेको छ । ४३ वटा युद्धपोत डुबाइएका छन् । तीन हजार लक्ष्यहरूमा प्रहार गरिएको छ । ४८ घण्टामा हवाई प्रभुत्व हासिल गरिएको छ ।

अक्सफोर्ड इकोनोमिक्सले तीव्र आक्रमणहरू १ देखि ३ हप्ताभित्र सकिने र सम्झौताका प्रयासहरू २ महिनाभित्र हुने प्रक्षेपण गरेको छ । ट्रम्पकी प्रेस सचिवले ४ देखि ६ हप्ताको समयसीमालाई तीनपटक दोहोर्याइसकेकी छन् ।

तर, विश्व बजारको मूल्य निर्धारण गर्ने वास्तविक प्रश्नका लागि यी कुनै पनि कुराको अर्थ छैन ।

मिसाइल प्रहार रोकिँदैमा युद्ध समाप्त हुँदैन । युद्ध तब समाप्त हुन्छ जब लन्डनको पुनर्बिमा बजारले हर्मुज जलयोजकबाट ठूला कच्चा तेलवाहक जहाज ओसारपसार गर्न सुरक्षित छ भनी निर्णय गर्छ ।

यो एक क्रमिक संस्थागत प्रक्रिया हो जसमा बिमाको प्राविधिक पुनर्गणना, पुनर्बिमा सन्धिको पुँजीकरण, व्यक्तिगत जहाजको पुनर्बिमा र सुरक्षित पारवहनको निरन्तर तथ्यांक संकलन समावेश हुन्छ । यसलाई कुनै कार्यकारी आदेशले छोट्याउन सकिँदैन । जलसैनिक उपस्थितिले यसलाई तीव्रता दिन सक्दैन । यो आफ्नै गतिमा चल्छ ।

लाल सागरमा हुतीहरूले २६ महिनासम्म गरेको आक्रमणमा चारवटा जहाज डुबे र सयभन्दा बढी क्षतिग्रस्त भए जसका कारण युद्ध–जोखिम शुल्क कहिल्यै पुरानो अवस्थामा फर्किएन । यातायातको मात्रा पनि कहिल्यै पूर्ण रूपमा सुधार भएन ।

त्यो त नेतृत्वको अन्त्य वा बिमा बजारको बहिर्गमन नभएको अवस्थामा एउटा गैरराज्य पक्षद्वारा गरिएको कम तीव्रताको र बीच–बीचमा हुने अभियान मात्र थियो । तर, सन् २०२६ को हर्मुज संकट उच्च–तीव्रताको अन्तर–राज्यीय युद्ध हो जसमा सर्वोच्च नेताको हत्या भएको छ, ३१ वटा स्वायत्त आईआरजीसी कमान्डहरू सक्रिय छन्, सातवटा ए७ई क्लबहरू (बिमा समूह) पछि हटेका छन्, ट्यांकरहरूको आवतजावत शून्य छ र आणविक भण्डारको स्थिति अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले पत्ता लगाउन सकेको छैन ।

यसको तुलना जुन २०२५ को बाह्रदिने युद्धसँग हुन सक्दैन । त्यसमा न त हर्मुज बन्द भएको थियो, न बिमा बन्द भएको थियो, न त विपक्षी पक्ष नै विभाजित थियो । यसको तुलना सन् १९८७ देखि १९८८ को ट्यांकर युद्धसँग हुनुपर्छ, जहाँ अपरेशन अर्नेस्ट विल अन्तर्गत ३० वटा युद्धपोतहरूले पुनध्र्वजांकित ट्यांकरहरूलाई सामान्य अवस्थामा नफर्कुन्जेल १४ महिनासम्म सुरक्षा दिनुपरेको थियो ।

र त्यस युद्धमा युद्धविरामको लागि वार्ता गर्न सक्षम एक केन्द्रीकृत इरानी सरकार थियो ।

यसपटक त्यस्तो छैन । मोजाइक डिफेन्स सिद्धान्त अन्तर्गत सञ्चालित ३१ वटा स्वायत्त आईआरजीसी प्रादेशिक कमान्डहरू सामूहिक रूपमा युद्धविरामका लागि सहमत हुन सक्दैनन् किनभने उनीहरूको कुनै एकीकृत कमान्ड संरचना छैन ।

ट्रम्प बिना शर्त आत्मसमर्पणको माग गर्दैछन् । इरानका विदेशमन्त्री भन्छन्, ‘हामी युद्धविराम मागिरहेका छैनौं ।’

अली लारीजानी भन्छन्, ‘इरानले अमेरिकासँग वार्ता गर्ने छैन ।’ अमेरिकी सिनेटले ट्रम्पको वार पावर्स अन्त्य गर्ने प्रस्तावलाई ४७ विरुद्ध ५३ मतले अस्वीकार गर्यो । पेन्टागन ५० अर्ब डलरको पूरक बजेटको तयारीमा छ ।

इन्टरसेप्टर (मिसाइल रोक्ने यन्त्र) को गणितले सैन्य समयसीमालाई कठिन बनाउँछ । थाडको उत्पादन प्रति महिना ८ वटा मात्र हुन्छ । इरानले प्रति महिना १०० भन्दा बढी मिसाइल उत्पादन गर्छ ।

स्टिम्सन सेन्टरले निरन्तर अपरेशन भएमा ४ देखि ५ हप्ताभित्र महत्त्वपूर्ण हतियार भण्डार रित्तिने प्रक्षेपण गरेको छ ।

इन्टरसेप्टरहरू सकिनुअघि नै यो अभियान समाप्त हुनुपर्छ तर विपक्षी (जसलाई यस अभियानले नष्ट गरिरहेको छ) बिना यो समाप्त हुन सक्दैन ।

यो नै समयको जाल हो । भौतिक युद्धको समाप्ति मिति छ, तर व्यापारिक युद्धको छैन । ब्रेन्ट फ्युचर्सले अझै पनि तेस्रो त्रैमासिकसम्ममा स्थिति सामान्य हुने अनुमानमा मूल्य निर्धारण गरिरहेको छ । तर, बजारको संयन्त्रले यो अवरोध सन् २०२७ सम्म कायम रहने भनिरहेको छ ।

४ देखि ६ हप्तामा समाधान हुने अनुमानमा आधारित हरेक लगानी मोडलले समय अवधिलाई कम्तीमा तीन गुणाले गलत आकलन गरिरहेका छन् । ती मोडलहरूमा आधारित लगानीहरू अहिले विश्व बजारमा सबैभन्दा बढी जोखिममा छन् ।

युद्ध तब समाप्त हुन्छ जब पुनर्बिमा बजारले यो समाप्त भयो भन्छ । ह्वाइट हाउसले समाप्त भयो भन्दैमा यो समाप्त हुँदैन ।