
काठमाडौं । बाग्लुङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गरेको छ । लामो समयदेखि राष्ट्रिय जनमोर्चाको ‘लालकिल्ला’ मानिँदै आएको बाग्लुङमा यसपटक रास्वपाका युवा उम्मेदवारहरूले पुराना विरासत भत्काइदिएका हुन् ।
बाग्लुङ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुशील खड्का भारी मतान्तरले विजयी भएका छन् । खड्काले २० हजार ९२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीम बहादुर श्रीस रानाले ११ हजार ९४४ मत मात्र पाएका छन् । खड्काले ८ हजार ९८३ को फराकिलो मतान्तरले जित दर्ता गरेका हुन् ।
यस क्षेत्रमा नेकपा (एमाले) का हीरा बहादुर खत्री ८ हजार ६४० मतका साथ तेस्रो स्थानमा रहे भने जनमोर्चाको गढ भनिएको यस क्षेत्रमा सो पार्टीका उम्मेदवार कृष्ण प्रसाद शर्मा अधिकारी ४ हजार ५२१ मतमा सीमित हुँदै चौथो स्थानमा पुगेका छन् ।
बाग्लुङ क्षेत्र नम्बर २ मा पनि रास्वपाकै उम्मेदवार सोम शर्मा निर्वाचित भएका छन् । शर्माले १२ हजार ६४७ मत प्राप्त गरे । उनले नेपाली कांग्रेसका टेक राज पौडेललाई ७७९ मतान्तरले पराजित गरेका हुन् । पराजित पौडेलले ११ हजार ८६८ मत ल्याएका छन् ।
यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका ज्ञाननाथ गैरे १० हजार ७०९ मतका साथ तेस्रो र एमालेकी मञ्जु शर्मा ७ हजार ८६४ मतका साथ चौथो स्थानमा रहे ।
बाग्लुङलाई नेपालको कम्युनिस्ट आन्दोलन र विशेष गरी राष्ट्रिय जनमोर्चाको बलियो आधार इलाका मानिन्थ्यो ।








प्रतिक्रिया