
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गुरुराज घिमिरे मोरङ क्षेत्र नं. ६ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारसँग ठूलो मतान्तरले पराजित भएका छन्।
क्षेत्र नं. ६ मा कोइराला रास्वपाकी रुविना आचार्यसँग ४२ हजार ६६३ मतान्तरले पराजित भएका हुन् । रुविनाले ५५ हजार ५१३ मत ल्याउँदा कोइराला १२ हजार ८५० मतमा रोकिए । कोइराला यस क्षेत्रका निवर्तमान सांसद हुन् । २०७९ को निर्वाचनमा उनी तत्कालीन माओवादीसँगको गठबन्धनमा एमालेका लालबाबु पण्डितलाई हराएर निर्वाचित भएका थिए । यस क्षेत्रमा एमालेका विनोद ढकालले ८ हजार ३१७ मत पाए ।
त्यसैगरी क्षेत्र नं. ४ मा कांग्रेस नेता गुरुराज घिमिरे पनि रास्वपाका युवा उम्मेदवार सन्तोष राजवंशीसँग २८ हजार १५ मतान्तरले पराजित भएका छन् । राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरे १२ हजार ८१८ मतमा रोकिए ।
यस्तै, नेकपा (माओवादी केन्द्र) का अमनलाल मोदी १० हजार ७६२ मतमा रोकिएका छन् । उनी यसअघि २०७९ मा कांग्रेससँग र २०७४ मा एमालेसँगको चुनावी गठबन्धनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।
मोरङका बाँकी चार क्षेत्रमा पनि रास्वपाले ठूलो मतान्तरले अग्रता लिएको छ । क्षेत्र नं. १ मा रास्वपाका यज्ञमणि न्यौपानेले १२ हजार ३८८, श्रमशक्तिका शान्ति पाख्रिनले ८ हजार २६९ र कांग्रेसका खड्ग फागुले ५ हजार ६७७ मत पाएका छन् ।
क्षेत्र नं. २ मा रास्वपाका कृष्णकुमार कार्की १८ हजार ५८३ मत ल्याएर अग्रस्थानमा रहँदा एमालेका दिलीप अग्रवाल ७ हजार २५७ र कांग्रेसका मिनेन्द्र रिजाल ६ हजार ३ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
त्यसैगरी क्षेत्र नं. ३ मा रास्वपाका गणेश कार्कीले ८ हजार ११२ मत प्राप्त गरेका छन् भने श्रमशक्तिका अमिर मगरले ५ हजार ७११ र कांग्रेसका सुनिल शर्माले ५ हजार ६४२ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
क्षेत्र नं. ५ मा पनि रास्वपाकी आशा झाले १७ हजार १९४ मत ल्याएर ११ हजार ११४ मतको अग्रता लिएकी छन् । त्यहाँ कांग्रेसका फुकुमार लालवानीले ६ हजार ८० र नेकपाका शिवकुमार मण्डलले ५ हजार ७७५ मत पाएका छन् । अघिल्लो पटक स्वतन्त्रबाट निर्वाचित यस क्षेत्रका निवर्तमान सांसद योगेन्द्र मण्डलले १ हजार ८३४ मत ल्याएर मतान्तर छोट्याउने प्रयास गरिरहेका छन् ।








प्रतिक्रिया