सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा भारतले दियो नेपाललाई बधाई

0
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा छिमेकी मुलुक भारतले नेपाललाई औपचारिक रूपमा बधाई दिएको छ । भारतीय विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा र नेपाली नागरिकले लोकतान्त्रिक अधिकारको प्रयोग गरेकोमा खुसी व्यक्त गरेको हो ।

भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जैसवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपालमा आज सम्पन्न सफल निर्वाचन र नेपाली नागरिकले देखाएको उत्साहजनक सहभागिताको स्वागत गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘हामी प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार र सबै सरोकारवालाहरूलाई यो निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिन चाहन्छौँ । गत वर्षका कठीन परिस्थितिहरूको बावजुद यो सफलता हासिल हुनु सुखद छ ।’

भारतले नेपालको शान्ति, प्रगति र स्थायित्वका लागि सधैं समर्थन गर्दै आएको स्मरण गराउँदै निर्वाचनका लागि आवश्यक पर्ने लजिस्टिकल सहयोग उपलब्ध गराएको समेत उल्लेख गरेको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी नेपालको नयाँ सरकारसँग मिलेर दुई देश र यहाँका जनताको आपसी हितका लागि बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन उत्सुक छौँ ।’

यसअघि नेपालस्थित अमेरिकी दूतावासले दूतावासले नेपाललाई शुभकामना दिँदै भनेको थियो, ‘निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाई। हामी आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक छौँ ।’