सुतली बम र सुँगुरको टाउकोसहित वीरगञ्जबाट ३ जना पक्राउ

126
Shares

वीरगञ्ज । पर्साको वीरगञ्जबाट प्रहरीले सुतली बम र सुँगुरको टाउकोसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतका अनुसार बुधबार बिहान करिब पौने ३ बजे वीरगञ्ज महानगरपालिका–१६ इनरवागाउँ क्षेत्रमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाहरूबाट ९ वटा सुतली बम, एउटा सुँगुरको टाउको र करिब १० मिटर तार बरामद गरिएको प्रहरीले जनाएको छ । हालसम्म पक्राउ परेकाहरूको परिचय सार्वजनिक गरिएको छैन ।

धार्मिक सदभाव भड्काउने उनीहरूले तयारी गरेको स्रोतको भनाइ छ । सुँगुरको टाउको मस्जिदमा लगेर फ्याँक्ने तयारीका साथ उनीहरू हिँडेका थिए ।

विशेष सूचनाका आधारमा निर्वाचन लक्षित एकीकृत सुरक्षाकर्मीको संयुक्त टोली परिचालन गरिएको थियो ।

यसैबीच, गएराति पर्सागढी नगरपालिका–३ बाट एक जना उम्मेदवारसहित चार जनालाई पनि विस्फोटक पदार्थसहित पक्राउ गरिएको डीएसपी बस्नेतले जानकारी दिए । बा १० च १२५० नम्बरको गाडी शंकास्पद देखिएपछि जाँच गर्दा डिक्कीभित्र पहेँलो टेपले बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो ।

उक्त गाडीमा पर्सा–२ बाट नेकपाका उम्मेदवार मनोजकुमार चौधरी सवार रहेका थिए । प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएको छ । उनीसँगै बाराका सहाब आलम अन्सारी, सुरज कार्की र सत्नारायण थारू पनि पक्राउ परेका छन् ।

उनीहरूमाथि विस्फोटक पदार्थ सम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचन सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।