कालोसूचीमा रहेको प्रमाणपछि रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

511
Shares

काठमाडौं । कालोसूचीमा परेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ ।

धनुषा निर्वाचन क्षेत्र १ का निर्वाचन अधिकृत मनोज बरालले रास्वपा उम्मेदवार साहबिरुद्ध कालोसूचीमा परेको प्रमाणसहित आएको उजुरीको आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको बताए । उनले आफूसंग पनि उम्मेदवारी खारेजीको आधिकारिक पत्र नआएको बताए ।

‘रास्वपाको उम्मेदवारी खारेज भएको आधिकारीक आएको छैन । निर्वाचन आयोगले नै खारेज गर्ने हो । हामीसँग खबर आइसकेको छैन । उजुरी हामीले पठाएको हो, निर्वाचन आयोगले निर्णय गरेको हो,’ निर्वाचन अधिकृत बरालले भने ।

रास्वपा उम्मेदवार साहको कमल कन्स्ट्रक्सन कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको प्रमाणसहित उनको उम्मेदवारी खारेजका लागि निर्वाचन क्षेत्र नं. १ को कार्यालयमा उजुरी परेको थियो । कार्यालयले सो उजुरीमाथि कार्वाही गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको बरालले बताए ।

यस क्षेत्रमा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह, र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मातृका प्रसाद यादव रहेका छन् । बिहीबार निर्वाचन हुने छ ।