
काठमाडौं । विजयश्री स्टिलले चालु आर्थिक वर्षको ६ महिनामा साढे ३ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ६ महिनामा ३ अर्ब ६१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२५ मा ५ अर्ब ४० करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, सन् २०२४ मा ५ अर्ब ६१ करोड रुपैयाँ र सन् २०२३ मा ३ अर्ब ५५ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो।
कम्पनीको व्यापार गत आवमा ४ प्रतिशतले घटेको थियो । कम्पनीले गत आवमा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा १० करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, कम्पनीले चालु आवको ६ महिनाको अवधिमा ११ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ भने कुल नगद सञ्चय १७ करोड ५० लाख रुपैयाँ रहेको छ ।
सन् २०१७ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका डण्डी उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक १ लाख ३२ हजार मेट्रिक टन बिलेट र १ लाख २४ हजार मेट्रिक टन डण्डी उत्पादन गर्दै आएको छ । कम्पनीले आफै बिलेट उत्पादन गर्ने भएकोले स्पञ्ज आइरन र पिग आइरनजस्ता कच्चा पदार्थ भारतबाट आयात गर्ने गरेको छ ।
एम/एस शक्ति इन्भेष्टमेन्ट प्रालिको २० प्रतिशत, विकास केडियाको १७ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब ४ करोड २३ लाख रुपैयाँको रेटिङ गराएको छ ।
विजय ग्रुप अफ कम्पनीजद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ६७ करोड २३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ३७ करोड रुपैयाँको रेटिङ गराएको हो । कम्पनीको देशभर ४ सय डिलर छन् ।








प्रतिक्रिया