
काठमाडौं । एसियन पेन्ट्सको व्यापार रिबाउन्ड हुँदै गएको छ।
कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा सुधारिएको हो । सन् २०२४ मा ४० प्रतिशतले घटेको व्यापार सन् २०२५ मा २६ प्रतिशतले बढेको छ ।
कम्पनीले सन् २०२४ मा ४ अर्ब ६७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । गत आव (सन् २०२५) मा व्यापार २६ प्रतिशतले बढेर ५ अर्ब ८९ करोड ८० लाख रुपैयाँ पुगेको छ।
यसअघि कम्पनीले सन् २०२३ मा ७ अर्ब ८० करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ८ अर्ब ५७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
नाफातर्फ, कम्पनीले गत आवमा १४ प्रतिशत नाफा कमाएको छ भने सन् २०२४ मा ९ प्रतिशत नाफा आर्जन गरेको थियो ।
सन् १९८३ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका पेन्ट उत्पादन गरी बजारमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीसँग वार्षिक १ लाख १ हजार ८ सय मेट्रिक टन उत्पादन क्षमताको लाइसेन्स छ।
कम्पनी भारतको एसियन पेन्ट्स लिमिटेडको सहायक कम्पनी हो । कम्पनीमा भारतीय कम्पनीको ५३ प्रतिशत स्वामित्व, ९ प्रतिशत रवी एसोसिएट्सको स्वामित्व तथा बाँकी स्वामित्व २६ जना व्यक्तिमा रहेको छ।
कम्पनीले सिमेन्ट पेन्ट, इमल्सन, डिस्टेम्पर, निफिङ पेस्ट, सोल्भेन्ट तथा प्राइम अन्डरकोटका लागि आवश्यक पेन्ट उत्पादन गर्दै आएको छ । हाल ४४ वटा ब्रान्डमार्फत उत्पादित पेन्ट बिक्री–वितरण गर्दै आएको कम्पनीले सन् २०२२ देखि बाथरुम फिटिङ प्लान्ट स्थापना गरी उत्पादन तथा व्यावसायिक कारोबारसमेत सुरु गरेको छ।
कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । पछिल्लो पाँच वर्षदेखि कम्पनीले ३५ प्रतिशत लाभांश वितरण गर्दै आएको छ । कम्पनीको नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ रहेको छ।








प्रतिक्रिया