गगन थापाले मधेशका ४ जिल्लाको कांग्रेस चुनावी सभालाई सम्बोधन गर्ने

175
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेश प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् ।

उनले सर्लाही, रौतहट, बारा र पर्सामा हुन गइरहेका चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।

चुनावी सभाहरूमा जाने क्रममा सभापति थापा रोड शोमा पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

त्यसअघि बिहीबार चुनावी सभाहरू सम्बोधन गर्न उनी सुर्खेत र बाँके पुगेका थिए । सभापति थापाले आइतबार काठमाडौंमा हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

६ फागुन जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि ७ फागुनमा उनले काठमाडौंको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रश्नहरूको जवाफ दिएका थिए ।

बुटवलको सभामा उपसभापति पुष्पा भुषाल गौतम पनि थिइन् भने पोखराको सभामा उपसभापति विश्वप्रकाश शर्मा रहेका थिए ।

शनिबार सभापति थापा एक्लै मधेशका चुनावी सभाहरूमा जानेछन् भने आइतबारको सभामा उपसभापति शर्मा पनि सहभागी हुने छन् ।