
काठमाडौं । कैलाली जिल्लाको धनगढीमा निर्माणाधीन पाँचतारे होटल ‘क्लब चौलानी’को लागत उल्लेखनीय रूपमा बढेको पाइएको छ ।
होटलको लागत सुरुमा अनुमान गरिएकोभन्दा अहिले ८० प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले सुरुमा १ अर्ब २२ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरेको थियो । हाल उक्त लागत बढेर २ अर्ब २० करोड रुपैयाँ पुगेको जनाएको छ ।
कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ कर्जा लिएर लगानी गर्ने भएको छ भने ७७ करोड रुपैयाँ इक्विटीमार्फत लगानी गर्नेछ । कम्पनीले लगानीको अनुपात ६५:३५ राखेको जनाएको छ ।
कम्पनीले लेमन ट्री ब्रान्डलाई विस्तार गर्दै ‘आइजीएच होलिडे इन’ ब्रान्डअन्तर्गत सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
ब्रान्ड डिजाइनअनुसार कोठाको क्षमता बढाइएको छ । कम्पनीले ८० कोठाको प्रारम्भिक क्षमताबाट बढाएर १ सय १५ कोठा निर्माण गर्ने उल्लेख गरिएको छ । यसका लागि कोठाको क्षेत्रफल विस्तार गर्ने र इन्टेरियर सामग्री गुणस्तरीय राख्ने योजना रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हालसम्म ३३ करोड १० लाख रुपैयाँ इक्विटी व्यवस्थापन भइसकेको छ, जुन कुल इक्विटीको ४३ प्रतिशत हो। कम्पनीले ३० वटा कोठा स्ट्यान्डर्ड श्रेणीमा निर्माण गर्ने भएको छ । ती कोठाको निर्माण कार्य अप्रिलसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सन् २०१८ मा दर्ता भएको कम्पनी सन् २०२५ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो । चौलानी ग्रुपद्वारा सञ्चालित उक्त कम्पनीले इन्टरकन्टिनेन्टल होटल्स ग्रुपसँग व्यवस्थापनका लागि सम्झौता गरेको छ ।
राजेन्द्र केसी अध्यक्ष रहेको कम्पनीले होटल निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जासम्बन्धी १ अर्ब ४३ करोड रुपैयाँको रेटिङ गराएको छ । यसमध्ये दीर्घकालीन कर्जाका लागि १ अर्ब ४० करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड १० लाख रुपैयाँको रेटिङ गराइएको छ ।








प्रतिक्रिया