लोकसेवाको वैकल्पिक सूचीमा रहेका व्यक्ति नै सब–इन्जिनियर हत्याका मुख्य योजनाकार, ३ जना पक्राउ

294
Shares

जनकपुरधाम । सर्लाहीमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा सनसनीपूर्ण तथ्य बाहिर आएको छ । लोकसेवा आयोगको परीक्षामा वैकल्पिक उम्मेदवार रहेका व्यक्तिले नै स्थायी जागिर पाउने लोभमा मुख्य उम्मेदवार (सिफारिस भएका) को योजनाबद्ध हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले हत्याका मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ घर भई हाल सर्लाहीको बरहथवा–९ शान्तिटोल बस्ने ३४ वर्षीय गणेश कुमार महतो, उनका साला नाता पर्ने २२ वर्षीय चन्द्रकिशोर सिंह कुशवाहा र आफ्नै भाइ २२ वर्षीय विजय कुमार महतो रहेका छन् ।

यस्तो थियो हत्याको कारण ?

प्रहरीका अनुसार मृतक प्रमोद कुमार यादव र मुख्य अभियुक्त गणेश महतो मधेश प्रदेश लोकसेवा आयोगको सब–इन्जिनियर पदका प्रतिस्पर्धी थिए । यादव मुख्य सूचीमा सिफारिस भई नियुक्ति पाएर जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत थिए भने महतो वैकल्पिकतर्फ एक नम्बरमा थिए ।

लोकसेवाको नियमअनुसार मुख्य सिफारिसमा परेका व्यक्तिको नियुक्ति भएको एक वर्षभित्र पद रिक्त भएमा वैकल्पिक उम्मेदवारले स्थायी नियुक्ति पाउने व्यवस्था छ ।

सोही प्रावधानको फाइदा उठाउँदै यादवको हत्या गरे आफूले जागिर पाउने आशयले महतोले हत्याको योजना बुनेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सरोज राईले जानकारी दिए ।

यसरी भयो घटना

जिल्ला सिरहाको सुखीपुर नगरपालिका–९ बैशाखा घर भई मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका ३६ वर्षीय सब–इन्जिनियर प्रमोद कुमार यादवमाथि मिति २०८२ फागुन ३ गते राति करिब ७:५५ बजे गोली प्रहार भएको थियो ।

मुख्य योजनाकार गणेश महतोले आफूलाई ‘राकेश यादव’ भनेर चिनाउँदै ह्वाट्सएपमार्फत फोन गरेर यादवलाई डेरा बाहिर बोलाएका थिए । बाहिर निस्कनेबित्तिकै उनीमाथि पेस्तोलबाट गोली प्रहार गरिएको थियो । छातीमा गोली लागेका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार विजय महतोले ८० हजार रुपैयाँमा हतियार खरिद गरी उपलब्ध गराएका थिए । घटनास्थलबाट प्रहरीले गोलीको खोका १ थान, हत्यामा प्रयोग गरिएको पेस्तोल १ थान, मोबाइल फोन ३ थान र अभियुक्तहरूले फरार हुन प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल (बी आर ०१ एफ जेड १०८२) बरामद गरेको छ ।

उक्त पेस्तोल यसअघि मलंगवा–४ स्थित निर्माणाधीन हनुमान मन्दिरमा बालकले फेला पारी खेलाउने क्रममा पड्किँदा एक बालक घाइते भएको घटनासँग समेत जोडिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले अदालतबाट १५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार कर्तव्य ज्यान तथा हातहतियार खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । ज्यान मार्ने नियतले गरिएको यस्तो पूर्वनियोजित आपराधिक षड्यन्त्रमा जन्मकैदसम्मको सजाय हुने कानुनी व्यवस्था छ ।