
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि पर्याप्त रकम संकलन भएको जानकारी दिँदै अब सहयोग रकम पठाउन बन्द गर्न अपिल गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत एक भावुक सन्देश लेख्दै साम्बाले पछिल्लो २४ घण्टामा प्राप्त माया, विश्वास र आर्थिक सहयोगप्रति आभार प्रकट गरेकी हुन् । उनले आफ्नो उपचारका लागि हालसम्म १ करोड ४५ लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको जानकारी दिएकी छन् ।
साम्बाका अनुसार नेपाली बैंक खातामा १ करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत ५२ हजार न्युजिल्यान्ड डलर (करिब ४५ लाख नेपाली रुपैयाँ) जम्मा भएको छ ।
‘मेरो उपचार खर्च मात्र नभएर कतारमा उपचारका क्रममा लाग्ने आवास र यातायातका लागि पनि यो रकम पर्याप्त देखिन्छ,’ उनले लेखेकी छन्, ‘त्यसैले म आजैबाट दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।’
मैदान फर्कने दृढ संकल्प
घुँडाको चोटका कारण मैदान बाहिर रहेकी साम्बाले यो सहयोग नै आफ्नो खेल जीवनको वास्तविक कमाइ भएको बताएकी छन् । उनले भनेकी छन्, ‘खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन हो ।’
उनले आफू आवद्ध क्लब वेलिङ्टन फिनिक्सले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि बिमा रकम निकासा गरी थप सहयोग गरिरहेको स्पष्ट पारेकी छन् । चाँडै शल्यक्रियाको मिति तय हुने र आफू अझ मजबुत भएर मैदान फर्कने उनले वाचा गरेकी छन्।
‘म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । तपाईंहरूको यो मायाको साँचो धन्यवाद मेरो पुनरागमन नै हुनेछ,’ उनले प्रतिबद्धता जनाएकी छन् ।
चोटका कारण मानसिक रूपमा थकित महसुस गरिरहेका बेला खेलप्रेमी नेपालीहरूले देखाएको यो साथले आफूलाई फेरि उठ्ने साहस दिएको साम्बाले बताएकी छन् ।









प्रतिक्रिया