एन्फाले हात झिकेपछि ८० हजार डलर जुटाउन साम्बाले खोजिन् समर्थकको साथ

4.4k
Shares

काठमाडौं । नेपाली महिला फुटबलकी कीर्तिमानी स्ट्राइकर तथा राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपील गरेकी छन् । पछिल्लो सात हप्तादेखि मैदान बाहिर रहेकी साम्बाले उपचारका लागि झन्डै ८० हजार अमेरिकी डलर (करिब १ करोड ७ लाख रुपैयाँ भन्दा बढी) आवश्यक पर्ने भन्दै समर्थक र सरकारसँग सहयोगको याचना गरेकी हुन् ।

न्युजिल्यान्डमा व्यवसायिक फुटबल खेल्ने क्रममा चोटग्रस्त भएकी सावित्राले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गर्दै अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले संकटको बेला साथ नदिएको गुनासो गरेकी छन् ।

उनले सुरुमा एन्फाले सहयोगको आश्वासन दिएका कारण क्लबमार्फत तय भइसकेको शल्यक्रियाको मिति टारेको तर पछि एन्फाले प्रशासनिक सहयोग गर्न नसकिने बताएको उल्लेख गरेकी छन् ।

‘एन्फा अध्यक्ष आफैंले मलाई प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । ५ लाख रुपैयाँसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं मिलाउन भनियो,’ सावित्राले फेसबुकमा लेखेकी छन्, ‘मैले क्लबका लागि खेल्दा चोट लागेको भन्ने तर्क एन्फाभित्र सुन्दा निकै निराश भएको छु । तर मैले जहाँ खेले पनि देशकै पहिचान बोकेर खेलेको छु ।’

सावित्राको घुँडाको एसीएल र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसअघि पनि कतारको ‘अस्पेटार’मा शल्यक्रिया गरेकी उनले यो पटकको चोट अझ जटिल रहेकाले पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा व्यक्त गरेकी छन् ।

न्यूजिल्याण्डको क्लबले बीमा रकम उपलब्ध गराउने भए तापनि कतारमा गरिने जटिल शल्यक्रिया र ७–८ महिनाको लामो पुनर्स्थापना (रिह्याब) का लागि उक्त रकम अपुग हुने उनको भनाइ छ । प्रारम्भिक आकलन अनुसार यो सबै प्रक्रियाका लागि ८० हजार अमेरिकी डलर खर्च हुनेछ ।

सरकारी प्रक्रिया सुस्त हुँदा र एन्फा पछि हटेपछि सावित्राले बाध्य भएर ‘क्राउड फन्डिङ’को बाटो रोजेकी हुन् । युरोपमा व्यावसायिक फुटबल खेलेर इतिहास रचेकी सावित्राले आफ्नो करियरको यो सबैभन्दा कठिन लडाइँ भएको बताएकी छन् ।
उनले भावुक हुँदै लेखेकी छन्, ‘यो चोटले मलाई शारीरिक र मानसिक रुपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कनेछु । थाकेको हो, हारेको छैन । पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु ।’

सावित्राको उपचारमा सहयोग गर्न चाहनेहरुका लागि नेपालमा रहेकाहरुले बैंक खाता वा QR कोडमार्फत र विदेशमा रहेकाहरुले ‘गिभ अ लिटल’ लिंकमार्फत सहयोग गर्न सक्नेछन् ।

यस्तो छ, साम्बाको अपिलः