
काठमाडौं । चुनावी सरगर्मीसँगै स्मार्टफोनको आयातसमेत बढेको छ । यही फागुन २१ गते देशैभर प्रतिनिधिसभाको निर्वाचन हुन लागेको समयमा सार्वजनिक भएको भन्सार विभागको तथ्यांकले स्मार्टफोनको आयात बढेको देखिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउन–माघ)मा नेपालमा २६ अर्ब ६८ करोड रुपैयाँ भन्सार मूल्यका स्मार्टफोन भित्रिएका छन । माघसम्ममा भित्रिएका १४ लाख १४ हजार वटा स्मार्टफोनबाट राज्यले ४ अर्ब ९७ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
स्मार्टफोन आयात गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ४०.५९ प्रतिशतले बढेको देखिएको छ । यो अवधिमा गत वर्ष १८ अर्ब ९३ करोड रुपैयाँ भन्सार मूल्यका १२ लाख २२ २९ हजार वटा स्मार्ट फोनको तुलनामा ७ अर्ब ७० करोड रुपैयाँले मोबाइलको आयात बढेको देखिएको छ ।
माघ महिनामा मात्रै नेपालमा ३ अर्ब ३८ करोड रुपैयाँको १ लाख ६२ हजार वटा मोबाइल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो तथ्यांक अनुसार नेपालमा माघ महिनाको मात्रै आयात ४९ प्रतिशतले बढेको देखाएको छ ।
गत वर्षको माघमा नेपालमा २ अर्ब २६ करोड रुपैयाँका १ लाख १८ हजारवटा मोबाइल भित्रिएको थियो । यो तथ्यांक अनुसार नेपालमा माघ महिनामा मात्रै आएको मोबाइल आयात ४९ प्रतिशतले र सख्ख्यामा ३७ प्रतिशतले बढेको देखएिको छ ।
नेपालमा आयात भएका मोबाइल बजारमा पुगेर किनबेच हुँदा आयातको तुलनामा आम उपभोक्तासम्म पुग्दा थप ४० प्रतिशत मूल्य जोडिन पुग्छ । यो हिसावले माघ महिनामा ३ अर्ब ३८ करोड रुपैयाँको मोबाइल आयात भएकोमा बजार मूल्यसँग तुलना गर्दा १ अर्ब ३५ करोड रुपैयाँ थपिएर ४ अर्ब ४७ करोड रुपैयाँको भएको पाइएको छ ।


नेपाल भित्रिएका मोबाइलमा १३ प्रतिशतका दरले मूल्य अभिबृद्धि कर (भ्याट) र ५.६५ प्रतिशतका दरले अन्तशुल्क लाग्ने गरेका कारण १८.६५ प्रतिशत सरकारलाई राजस्ववापत नै तिर्नुपर्छ ।
आयातकर्ताले र बिक्रेताले राख्ने ५.५ प्रतिशतको मार्जिन, होलसेल हुँदै रिटेलसम्म पुग्दा जोडिने थप मार्जिनका कारण मोबाइल फोन भित्रदाको भन्दा ग्राहकले खरिद गर्दासम्म थप ४० प्रतिशत लागत थपिने गरेको मोबाइल आयातकर्ता संघको भनाइ छ ।
नेपालमा मासिक रुपमै १ लाख ६२ हजार वटा स्मार्टफोन आइरहेको छ भने यसको भन्सार मूल्य ३ अर्ब ३८ करोड छ भने बजार मूल्य पौने ५ अर्ब रुपैयाँ छ ।
यो तथ्यांक अनुसार मासिक रुपमा नेपालमा आइरहेको मोबाइल यही बजारमै खपत भइरहेको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार बजारमा एउटा मोबाइलको औसत मूल्य २९ हजार रुपैयाँ हुन आउँछ । मोबाइल व्यवसायीका अनुसार उपभोक्ताले प्रयोग गर्नेमध्ये २० देखि ३० हजार रुपैयाँको मोबाइलको खपत अधिक हुने गरेको छ । त्यसपपछि महंगो र मध्यम मूल्यमा हुने खपतले औषतमा प्रतिमोबाइल खर्च ३० हजार रुपैयाँ भएको पनि देखिएको छ ।
बजारमा नयाँ मोबाइल आएसँगै पुरानो भइसकेका ग्राहकले नयाँ लिने, हराउने, बिग्रने, माथिल्लो भर्सनमा जाने र आवश्यकताले थप महंगो डिमाण्ड गर्दै जाने गरेको पनि देखिएको छ । पछिल्लो समय एआई सपोर्ट गर्ने आधुनिक प्रविधियुक्त मोबाइलको प्रयोग पनि बढ्नुले पनि महंगा मोबाइलको प्रयोग बढ्दै गएको देखिएको छ ।








प्रतिक्रिया