
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो प्रिय शब्द ट्यारिफ (भन्सार शुल्क) लाई प्रतिस्थापन गर्न शब्दकोशमा कुनै नयाँ सबैभन्दा सुन्दर शब्द खोजिरहेका छैनन् ।
सर्वोच्च अदालतले उनको आपतकालीन व्यापार युद्ध अधिकारको प्रयोगलाई गैरकानूनी घोषणा गरेपछि हार कहिल्यै स्वीकार नगर्ने आफ्नो दर्शनप्रति अडिग रहँदै ट्रम्प अहिले प्रतिकारमा उत्रिएका छन् ।
मंगलबार हुने राष्ट्रको नाममा सम्बोधन स्टेट अफ द युनियनअघि ट्रम्पले आयातमा अझ बढी शुल्क लगाउने वाचा गर्दै आफ्नो दोस्रो कार्यकालको सबैभन्दा ठूलो क्षतिको बदला लिने संकल्प गरिरहेका छन् । तर, मध्यावधि निर्वाचन नजिकिँदै गर्दा धेरै रिपब्लिकनहरू भने यसमा सुधार चाहन्छन् ।
राष्ट्रपतिको यस अवज्ञाले उनी र उनको पार्टीका लागि ठूलो राजनीतिक जोखिम निम्त्याएको छ भने अस्थिर अर्थतन्त्रका लागि नयाँ अनिश्चितताहरू सिर्जना गरेको छ । यसले डेमोक्रेटहरूका लागि आक्रमण गर्ने नयाँ बाटो पनि खोलिदिएको छ ।
तर, ट्यारिफले नै देशमा समृद्धि ल्याउनेछ भन्ने कुरामा उनी अझै विश्वस्त छन् जबकि यसको सम्भावित परिणाम भनेको लाखौं अमेरिकी मतदाताहरूमाथि महँगीको भारी थपिनु नै हो ।
‘सर्वोच्च अदालतले के भनेको छ भने राष्ट्रपतिले यस कार्यका लागि आईईपीए अर्थात् आपतकालीन आर्थिक शक्ति ऐन प्रयोग गर्न सक्नुहुन्न,’ अर्थमन्त्री स्कट बेसन्टले आइतबार सीएनएनकी डाना बासलाई बताए, ‘तर, राष्ट्रपतिसँग अन्य अधिकारहरू छन् ।’
बेसन्टले स्टेट अफ द युनियन कार्यक्रममा ट्रम्पले अन्य कानूनहरू उपयोग गरेर आफ्नो ट्यारिफ नीतिलाई बलियो बनाउने र त्यसलाई स्थायी व्यवस्थातर्फ लैजान पाँच महिनाको अस्थायी बाटोका रूपमा प्रयोग गर्ने बताए ।
तर, डेमोक्रेटिक सिनेटर एन्डी किमले सीएनएनका मानु राजुलाई इन्साइड पोलिटिक्स कार्यक्रममा आफ्नो पार्टीले ट्रम्पलाई ट्यारिफका कारण उपभोक्ताहरूमाथि परेको अतिरिक्त भार फिर्ता गर्न बाध्य पार्ने कानूनमा काम गरिरहेको बताए । त्यो राष्ट्रपतिलाई लज्जित तुल्याउन र रिपब्लिकन सांसदहरूको जीवन कठिन बनाउन चालिने सम्भावित कदमहरूको पहिलो शृंखला हो ।
ट्रम्प दुई मुख्य कारणहरूले गर्दा यसमा अडिग रहनेछन् ।
पहिलो, उनी ट्यारिफमा कट्टर विश्वास राख्छन् । उनको यो विश्वास यति गहिरो छ कि उनले यसबाट उपभोक्ताहरूलाई करको भार पार्छ वा यसले काम गर्दैन भन्ने कुनै पनि प्रमाणलाई वास्ता गर्दैनन् ।
विश्वव्यापीकरणले औद्योगिक क्षेत्रहरूलाई तहसनहस पारेको कुरालाई उनी सन् १९८० को दशकदेखि लिँदै आएको आफ्नो संरक्षणवादी विचारको पुष्टिका रूपमा लिन्छन् । त्यही कुरा भनी भनी उनले लाखौं मत प्राप्त गरेका थिए ।
‘मैले अमेरिकालाई फेरि महान् बनाउन सन् २०२५ मा ट्यारिफलाई धेरै प्रभावकारी रूपमा प्रयोग गरेको छु,’ राष्ट्रपतिले शुक्रबार बताए जबकि नयाँ तथ्यांकले वार्षिक व्यापार घाटा स्थिर रहेको र उत्पादन क्षेत्रमा रोजगारी घटेको देखाएको छ ।
ट्रम्प पछि नहट्नुको दोस्रो कारण यो हो कि ट्यारिफ उनका लागि राष्ट्रपतिको निरंकुश अधिकार प्राप्त गर्ने र शक्ति बाँडफाँट गर्ने संवैधानिक प्रणालीलाई अस्वीकार गर्ने एउटा माध्यम हो ।
अदालतको निर्णयपछि शुक्रबार आयोजित आक्रोशपूर्ण पत्रकार सम्मेलनमा ट्रम्पले दिएको प्रतिक्रियाबाट यो कुरा प्रस्ट हुन्छ जब उनलाई किन कांग्रेससँग मिलेर नयाँ ट्यारिफ पारित नगरेको भनेर सोधिएको थियो ।
‘मैले गर्नुपर्दैन । मसँग ट्यारिफ लगाउने अधिकार छ,’ उनले भने ।
ट्रम्पले आर्थिक नीतिभन्दा धेरै पर गएर कुनै पनि आधुनिक राष्ट्रपतिले भन्दा बढी व्यापक रूपमा ट्यारिफ प्रयोग गरेका छन् ।
कुनै विदेशी राष्ट्रले उनलाई रिसाउन पुग्यो भने उसले सजाय भोग्नुपर्छ । जस्तै, ब्राजिललाई ५० प्रतिशत ट्यारिफ लगाइयो किनभने उसले उनका साथी पूर्व राष्ट्रपति जायर बोल्जोनारोमाथि कथित चुनावी हस्तक्षेपको अनुसन्धान गरेको थियो ।
कुनै विश्व नेताले पर्याप्त सम्मान देखाउँदैनन् भने उसको देशले त्यसको मूल्य चुकाउनुपर्छ । उदाहरणका लागि, ट्रम्पले स्विट्जरल्याण्डका नेतासँग गरेको कुराकानीमा चित्त नबुझेपछि ट्यारिफ बढाएको बताएका थिए ।
तर, यस्तो शक्ति प्रदर्शन गर्न अबका दिनमा कठिन हुनेछ ।
ट्रम्पले ट्यारिफ कायम राख्न प्रयोग गर्न खोजेका वैकल्पिक शक्तिहरूमा अनुपालनका सर्तहरू र सीमित अधिकारहरू छन् जसको अर्थ उनले आफ्नो इच्छा अनुसार ट्यारिफलाई व्यक्तिगत थर्मोस्ट्याट जस्तै प्रयोग गर्न पाउने छैनन् ।
संसारलाई हेर्ने ट्रम्पको दृष्टिकोण लेनदेनमा आधारित छ । ट्यारिफ लगाउने उनको शक्तिमा लगाइएको अंकुशलाई उनी प्रतिद्वन्द्वीहरूका विरुद्ध अमेरिका कमजोर भएको रूपमा लिन्छन् जसले विश्वको सबैभन्दा शक्तिशाली अर्थतन्त्रको निरन्तर शोषण गरिरहेको उनलाई लाग्छ । सर्वोच्च अदालतको यस फैसलाले यसै वर्ष चीनका राष्ट्रपति सी चिनपिङसँग हुने भनिएको शिखर सम्मेलनअघि उनको व्यापार युद्धलाई कमजोर बनाउन सक्छ ।
‘वर्षौंदेखि हामीलाई लुटिरहेका विदेशी मुलुकहरू दंग छन् । उनीहरू धेरै खुसी छन् र सडकमा नाचिरहेका छन् । तर, उनीहरू धेरै समय नाच्न पाउने छैनन् । म तपाईंलाई यसको आश्वासन दिन सक्छु,’ राष्ट्रपतिले शुक्रबार बताए ।
बेसन्टले सीएनएनमा स्पष्ट पारेअनुसार, सरकारले आपतकालीन शक्ति गुमेको अवस्थामा अन्य कानूनी उपायहरू प्रयोग गर्नेछ । यसमा राष्ट्रिय सुरक्षाका नाममा लगाइने सेक्सन २३२ ट्यारिफ र अनुचित व्यापारिक अभ्यास गर्ने देशहरूलाई लक्षित गरी लगाइने सेक्सन ३०१ ट्यारिफ समावेश छन् ।
तर, उच्च ट्यारिफबाट प्रभावित भएका कम्पनी र उपभोक्ताहरूलाई सरकारले पैसा फिर्ता गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्नमा बेसेन्ट पन्छिए । उनले यो सरकारको हातमा नभई तल्लो अदालतको हातमा रहेको बताए ।
यो अहिलेका लागि कानूनी रूपमा जायज अडान हुन सक्छ तर राजनीतिक रूपमा भने खतरनाक छ ।
‘यस प्रशासनले अमेरिकी परिवारहरूको खल्तीबाट प्रति परिवार १७ सय डलरभन्दा बढी पैसा निकाल्यो । उनीहरूले त्यो फिर्ता गर्नुपर्छ,’ किमले सीएनएनलाई भने, ‘हामी यस्तो कानूनमा काम गरिरहेका छौं जसले यो रकम अमेरिकी जनतालाई फिर्ता दिलाउन सकोस् ।’
सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पले ढिला नगरी सन् १९७४ को व्यापार ऐनको धारा १२२ प्रयोग गरेर सबै सामानमा १० प्रतिशत विश्वव्यापी ट्यारिफ लगाए जसलाई पछि उनले १५ प्रतिशत पुर्याए । तर, यस्तो कदमलाई १५० दिनभन्दा बढी लम्ब्याउन कांग्रेसको स्वीकृति आवश्यक पर्नेछ । जनमत सर्वेक्षणहरूले निकै अलोकप्रिय देखाएको यस मुद्दामा जुलाईको मध्यमा मतदान गर्न धेरै कम रिपब्लिकन सांसदहरू इच्छुक हुनेछन् ।
प्रशासनका लागि उपलब्ध एक दीर्घकालीन विकल्प सन् १९३० को स्मूट–हली कानून प्रयोग गरेर नयाँ ट्यारिफ लागू गर्नु हो । तर, यसले कांग्रेसका पछिल्ला ऐनहरूले यस्तो शक्तिलाई विस्थापित गरिसकेको विश्वास गर्ने पक्षहरूबाट कानूनी चुनौती निम्त्याउन सक्छ ।
र मतदाताहरू पहिले नै ट्रम्पको अर्थतन्त्रसँग असन्तुष्ट रहेको बेला ग्रेट डिप्रेसनलाई झनै खराब बनाएको आरोप लागेको कुख्यात कानूनको सहारा लिनु राजनीतिक रूपमा बुद्धिमानी नहुन सक्छ ।
ट्रम्पले ट्यारिफको विषयमा पहिले नै धेरैपटक रिपब्लिकन विद्रोहको सामना गरिसकेका छन् । अब यस मुद्दामा हुने प्रत्येक मतदान अझ बढी महत्त्वपूर्ण हुनेछ ।
एकपटक प्राइमरी सिजन सकिएपछि विद्रोही रिपब्लिकनहरूलाई दबाब दिन ट्रम्पसँग कम शक्ति हुनेछ । कोलोराडोका सांसद जेफ हर्डको उदाहरण पछ्याउँदै थप सांसदहरू डेमोक्रेटसँग मिल्न सक्छन् । हर्डले क्यानडा ट्यारिफको विरुद्धमा मतदान गर्दै यसले आफ्नो क्षेत्रका मतदाता र उद्योगलाई हानि पुर्याउने बताएका थिए ।
ट्यारिफले धेरै क्षति गरिरहेको र लाभ भने थोरै मात्र दिएको आलोचकहरू बताउँछन् । तर, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले फक्स न्यूज सन्डेलाई बताएअनुसार, ट्रम्पले विरासतमा एउटा आपतकालीन अवस्था पाएका थिए र उनले पहिले नै विश्वव्यापी व्यापारलाई परिवर्तन गरिसकेका छन् ।
‘तुरुन्तै विश्वभरका हाम्रा सबै व्यापार साझेदारहरू हामीसँग बजार खुला गर्ने सम्झौताका लागि वार्ताको टेबुलमा आए । र हामीले हाम्रा उद्योगहरूलाई तत्काल सुरक्षा दियौं । त्यसैले यो एकदमै सही कदम हो,’ ग्रियरले भने ।








प्रतिक्रिया