
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगले यही फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन आग्रह गरेको हो ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार मतदानमा व्यापक सहभागिता सुनिश्चित गर्न तीन दिन बिदा सिफारिस गरिएको हो ।
‘मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न नेपाल सरकारलाई सिफारिस गरेका छौं,’ उनले भने । साथै उनले सरकारले आयोगको सिफारिस स्वीकार गर्ने विश्वास पनि व्यक्त गरे ।
प्रतिनिधिसभा सदस्य चयनका लागि फागुन २१ गते मतदान हुँदै छ । अघिल्ला निर्वाचनमा भने सरकारले मतदानको दिनमात्रै सार्वजनिक बिदा दिने गरेको थियो । यसपटक भने सबै नागरिकको सहभागिता वृद्धि गराउने लक्ष्यका साथ तीन दिन बिदा सिफारिस गरिएको आयोगले जनाएको छ ।








प्रतिक्रिया