इजरायल पश्चिम एसियामा थप भूभागको हकदार भएको अमेरिकी राजदूतको दाबी, रिसाए मुस्लिम देश

182
Shares

एजेन्सी । इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले मध्यपूर्वको ठूलो भूभागमा इजरायलको बाइबलीय अधिकार रहेको संकेत गरेपछि अरब र इस्लामिक देशहरूले आइतबार संयुक्त रूपमा त्यसको निन्दा गरेका छन् ।

पूर्व ब्याप्टिस्ट पादरी तथा इजरायलका कट्टर समर्थक हकाबीले दक्षिणपन्थी टिप्पणीकार तथा इजरायलका आलोचक टकर कार्ल्सनको पोडकास्टमा यस्तो बताएका हुन् ।

शुक्रबार सार्वजनिक भएको एक एपिसोडमा कार्ल्सनले हकाबीलाई बाइबलको एक श्लोकको अर्थबारे सोधेका थिए जसलाई इजरायलले इजिप्टको नील नदीदेखि सिरिया र इराकको युफ्रेटिस नदीसम्मको भूभाग पाउनुपर्ने अधिकारको रूपमा कतिपयले व्याख्या गर्छन् ।

जवाफमा हकाबीले भने, ‘उनीहरूले त्यो सबै लिए भने पनि ठीकै हुन्छ ।’

तर, सोधपुछका क्रममा उनले त्यो सबै इजरायलले लिन नखोजेको भन्दै आफ्नो भनाइलाई एक प्रकारको अतिरञ्जित अभिव्यक्ति मात्र भएको बताए ।

यस टिप्पणीप्रति आइतबार आक्रोश झन् बढ्यो । एक दर्जनभन्दा बढी अरब र इस्लामिक सरकारहरूका साथै तीन प्रमुख क्षेत्रीय संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी कूटनीतिकर्मीको भनाइलाई खतरनाक र उत्तेजक भनेका छन् ।

संयुक्त अरब अमिरात (यूएई) को विदेश मन्त्रालयद्वारा जारी गरिएको उक्त विज्ञप्तिमा युएई, इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, साउदी अरब, कतार, कुवेत, ओमान, बहराइन, लेबनान, सिरिया र प्यालेस्टाइनका साथै इस्लामिक सहयोग संगठन, अरब लिग र खाडी सहयोग परिषद्ले हस्ताक्षर गरेका छन् ।

उनीहरूले हकाबीको टिप्पणी संयुक्त राष्ट्रसंघको बडापत्र, गाजा युद्ध कम गर्ने प्रयास र विस्तृत राजनीतिक समाधानको वातावरण निर्माण गर्ने प्रयास विपरीत रहेको बताएका छन् ।

इरानले पनि यसको विरोध गर्दै हकाबीले प्यालेस्टिनीहरूका विरुद्ध इजरायलको विस्तारवादी युद्धमा अमेरिकाको सक्रिय संलग्नतालाई खुलासा गरेको आरोप लगाएको छ ।

यसअघि धेरै अरब राष्ट्रहरूले व्यक्तिगत रूपमा पनि यसको निन्दा गरेका थिए । साउदी अरबले राजदूतको शब्दलाई लापरवाह र गैरजिम्मेवार भनेको छ भने जोर्डनले यसलाई क्षेत्रका देशहरूको सार्वभौमसत्तामाथिको आक्रमण भनेको छ ।

कुवेतले यसलाई अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तको घोर उल्लंघन भनेको छ भने ओमानले यस टिप्पणीले शान्तिको सम्भावना र क्षेत्रीय स्थिरतालाई खतरामा पारेको बताएको छ ।

इजिप्टको विदेश मन्त्रालयले इजरायलको कब्जा गरिएको प्यालेस्टिनी भूभाग वा अन्य कुनै पनि अरब भूमिमा कुनै सार्वभौमसत्ता नरहेको पुनः पुष्टि गरेको छ ।

प्यालेस्टिनी प्रशासनले हकाबीको भनाइ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको इजरायलले वेस्ट बैंक गाभ्ने कुराको अस्वीकारसँग बाझिएको बताएको छ ।

शनिबार हकाबीले सामाजिक सञ्जाल एक्समा दुईवटा पोस्ट गर्दै अन्तर्वार्तामा उठाइएका अन्य विषयमा आफ्नो धारणा स्पष्ट पारे पनि बाइबलको श्लोकसम्बन्धी आफ्नो टिप्पणीबारे केही उल्लेख गरेनन् ।

इजरायली संसद्का सभामुख अमिर ओहानाले हकाबीको इजरायल समर्थक अडानको प्रशंसा गरेका छन् भने टकर कार्ल्सनमाथि झूट र हेरफेर गरेको आरोप लगाएका छन् ।

कार्ल्सनले हालैका दिनहरूमा यहूदी विरोधी आरोपहरूको सामना गरिरहेका छन् । विशेषगरी, हिटलरको प्रशंसा गर्ने र यहूदीहरूलाई अविश्वासी ठान्ने निक फुएन्टेससँगको अन्तर्वार्तापछि उनी विवादमा तानिएका छन् ।