धरहराको पार्किङ र व्यवस्थापन अब काठमाडौं महानगरले गर्ने

0
Shares

काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा क्षेत्रको सवारी साधन पार्किङ र सुरक्षाको जिम्मेवारी काठमाडौं महानगरपालिकाले पाएको छ ।

शुक्रबार सरकार र महानगरबीच भएको छलफलमा धरहराको पार्किङ सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरलाई दिने सहमति भएको हो ।

सहमतिअनुसार अब महानगर प्रहरी बलले धरहराको पार्किङ र सुरक्षा सम्बन्धी सम्पूर्ण प्रबन्ध मिलाउनेछ । बैठकले धरहराको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका लागि मोडालिटी तयार पार्न सहरी विकास मन्त्रालय र महानगरका प्रतिनिधि रहने गरी एक अध्ययन समिति समेत गठन गरेको छ ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहराको बाहिरी संरचनाको व्यवस्थापन महानगरले गर्ने र भविष्यमा पूरै धरहरा महानगरलाई हस्तान्तरण गर्न सरकारसँग आग्रह गरिएको जानकारी दिइन् ।

सहरी विकास मन्त्री कुमार इङ्नामका अनुसार बाहिरी संरचनाको आर्थिक दायित्व महानगरले व्यहोर्नेछ । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल लगायतका सरोकारवालाहरूको सहभागिता थियो ।