
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी आर्थिक वृद्धिलाई ०.८ प्रतिशतले बढाउने अपेक्षा गरिएको बताएकी छन् ।
तर, यसले गर्दा रोजगारीको बजारमा आउन सक्ने सम्भावित सुनामी लगायतका महत्त्वपूर्ण जोखिमहरूबारे उनले चेतावनी पनि दिएकी छन् । उनले एआईका कारण ४० प्रतिशत रोजगारी प्रभावित हुने कुरा पनि थपिन् ।
उनले भारतको विकसित राष्ट्र बन्ने लक्ष्य हासिल गर्न सकिने खालको रहेको पनि बताइन् ।
नयाँ दिल्लीमा आयोजित एआई इम्प्याक्ट समिटको प्यानल छलफलमा बोल्दै जर्जिएभाले आईएमएफको एक अनुसन्धानले एआईमा विश्वव्यापी वृद्धिलाई उल्लेख्य रूपमा गति दिने सम्भावना रहेको देखाएको बताइन् ।
प्रेस ट्रस्ट अफ इन्डियाको रिपोर्ट अनुसार उनले भनिन्, ‘हामीले केही अनुसन्धान गर्यौं र यसको जवाफ यहाँ छ । हामीलाई थाहा भएको जानकारीको आधारमा एआईले विश्वव्यापी वृद्धिलाई झण्डै १ प्रतिशत विन्दुले बढाउन सक्छ । हामी यसलाई ०.८ प्रतिशत भन्छौं… यसको अर्थ विश्व कोभिड महामारीअघिको तुलनामा तीव्र गतिमा बढ्नेछ ।’
तीव्र आर्थिक वृद्धि अत्यन्त राम्रो हो किनकि यसले थप अवसर र रोजगारी सिर्जना गर्छ भन्दै उनले भारतको दीर्घकालीन दृष्टिकोणप्रति आशा व्यक्त गरिन् । सन् २०४७ सम्ममा विकसित राष्ट्र बन्ने र ३० ट्रिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने भारतको महत्त्वाकांक्षालाई उल्लेख गर्दै जर्जिएभाले भनिन्, ‘हामीले भारतका लागि देखेको परिमाण यही हो र यसको अर्थ भारतको विकसित राष्ट्रको लक्ष्य प्राप्त गर्न सकिन्छ ।’
त्यसै समयमा आईएमएफका प्रबन्ध निर्देशकले आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरको रोजगारीमा गम्भीर जोखिम निम्त्याउने चेतावनी दिइन् । उनले भनिन्, ‘हामीले यो जोखिम धेरै उच्च रहेको गणना गरेका छौं । हामी वास्तवमा एआईको प्रभावलाई सुनामी जस्तै देख्छौं । विश्वव्यापी रूपमा ४० प्रतिशत रोजगारी एआईबाट प्रभावित हुनेछन्… उदीयमान बजारहरूमा ४० प्रतिशत, तर उन्नत अर्थतन्त्रहरूमा ६० प्रतिशत ।’
यसैबीच, फेब्रुअरी १७ मा इन्फोसिसका अध्यक्ष नन्दन निलेकानीले पनि जारी एआई क्रान्तिका बीच अब कोड लेख्नु मात्र लक्ष्य नहुने तर रोजगारीका भूमिकाहरू कोडिङबाट एआई प्रणालीहरूलाई काम गराउने र तिनको सञ्चालन गर्नेतर्फ सर्ने बताए । यस प्रविधिले विश्वभर १७ करोड नयाँ उच्च–वृद्धिका रोजगारीहरू सिर्जना गर्न सक्ने कुरा पनि उनले थपे ।
इन्फोसिस इन्भेस्टर एआई डे २०२६ मा बोल्दै निलेकानीले भने, ‘यो (एआई क्रान्ति) व्यवसाय सञ्चालन हुने तरिकामा धेरै मौलिक परिवर्तन हो । यो केवल प्रविधिको एउटा तह मात्र होइन । स्मार्टफोन आएपछि हामीले एप्लिकेसनको अगाडिको भाग परिवर्तन गरेर पीसीबाट फोनमा एप्लिकेसनहरू बनाउन सक्यौं । क्लाउड आएपछि हामीले एउटा ठाउँबाट अर्को ठाउँमा सार्न सक्यौं ।
तपाईंले एपलाई अन–प्रिम मोडबाट क्लाउडमा लैजान सक्नुहुन्थ्यो । तर, यसपटक यो त्यस्तो छैन । यो हामीले काम गर्ने तरिकामा मौलिक परिवर्तन हो । हामी पुरानो तरिकाले व्यवसाय चलाउन सक्दैनौं ।’
यसैबीच, माइक्रोसफ्ट इन्डिया र दक्षिण एसियाका अध्यक्ष पुनित चान्दोकले पनि आर्टिफिसियल इन्टेलिजेन्सले रोजगारी नष्ट गर्नुको साटो कामलाई साना कार्य घटकहरूमा विभाजन गरेर कामको स्वरूपलाई मौलिक रूपमा पुनःसंरचना गर्ने बताएका छन् । उनी भारतीय उद्योग परिसंघ (सीआईआई) को डेमोक्रेटाइजिङ एआई रिसोर्सेस फर इकोनोमिक ग्रोथ एण्ड सोसल गुड कार्यक्रम अर्थात् इन्डिया एआई इम्प्याक्ट समिट २०२६ को उद्घाटन सत्रमा बोलिरहेका थिए ।
चान्दोकले एआईको वास्तविक प्रभाव विस्थापन नभई संरचनात्मक रूपान्तरण हुने बताए ।








प्रतिक्रिया