
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव देखिएको छ । निर्वाचनको चहलपहलले गर्दा आर्थिक गतिविधि बढेसँगै वैदेशिक व्यापारमा पनि वृद्धि देखिएको छ । माघमा आयात बढेर १ खर्ब ८४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको ७ महिनामा कुल ११ खर्ब २३ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चालु आर्थिक वर्षको ७ महिनामा प्रतिमहिना औसत आयात १ खर्ब ६० अर्ब ५० करोड रुपैयाँ रहेको छ । प्रतिमहिना औसत आयातको तुलनामा माघको आयात करिब २४ अर्ब रुपैयाँले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
पुसमा १ खर्ब ७२ अर्ब ८३ करोड रुपैयाँको आयात भएकामा माघमा आयात थप बढेको हो । पछिल्ला महिनामा औसतको तुलनामा आयात बढिरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको माघसम्म वस्तु आयात १३.६५ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको माघसम्म वस्तु आयात ९ खर्ब ८८ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो । आयातसँगै निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ७ महिनामै निर्यात डेढ खर्ब रुपैयाँ नाघेको छ । माघसम्म वस्तु निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ पुगेको हो । गत आबको माघसम्म १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ थियो ।
आयातको तुलनामा निर्यात उच्च भए पनि कुल वैदेशिक व्यापारमा आयातको हिस्सा उच्च हुँदा व्यापार घाटा बढेको छ । माघ मसान्तसम्म व्यापार घाटा १०.९१ प्रतिशतले बढेर ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ । गत आवको माघसम्म ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ व्यापार घाटा थियो । आयात र निर्यात दुवैमा वृद्धि हुँदा कुल वैदेशिक व्यापार १५.७६ प्रतिशतले बढेर १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।
गत आवको माघसम्म ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ रहेको कुल वैदेशिक व्यापार उल्लेख्य रुपमा बढेको हो । आयातको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि हुँदा आयात निर्यात अनुपात पनि ७.७७ गुणाबाट घटेर ६.६८ गुणामा झरेको छ । निर्यातमा भएको वृद्धिले कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ११.४० प्रतिशतबाट बढेर १३.०२ प्रतिशत पुगेको छ । त्यस्तै कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.६० प्रतिशतबाट घटेर ८६.९८ प्रतिशतमा झरेको छ ।
माघसम्म आयात हुने शीर्ष वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ । ११ खर्ब २३ अर्बको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ छ ।








प्रतिक्रिया