पूर्वराजाले भने: देश अस्वाभाविक छटपटीको भुमरीमा फस्यो, राष्ट्रिय सहमति आवश्यक

112
Shares

काठमाडौं । प्रजातन्त्र स्थापनाको ७५औँ वर्षगाँठको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले एक सन्देश जारी गर्दै मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले प्रजातन्त्र स्थापनामा योगदान पुर्‍याउने शहीदहरू र त्रिभुवनको स्मरण गर्दै देशलाई सही मार्गमा लैजान राष्ट्रिय सहमति र एकतामा जोड दिएका छन् ।

झापा बसाइपछि राजधानी फर्कने क्रममा उपत्यकावासीले गरेको स्वागतप्रति आभार व्यक्त गर्दै पूर्वराजा शाहले मुलुक अहिले असामान्य परिस्थितिबाट गुज्रिरहेको बताए । ‘विगतमा अनेकौँ नाममा आन्दोलन र सङ्घर्ष भए, तर ती परिवर्तनहरूले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्ने समय आएको छ,’ उनले भनेका छन् ।

पूर्वराजा शाहले देशको अस्मिता र अस्तित्व नै सङ्कटमा परेको महसुस गरिएको उल्लेख गर्दै आसन्न निर्वाचनको प्रक्रियामा जानुअघि राष्ट्रिय समस्याहरूको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्नका लागि राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र अघि बढ्नु उपयुक्त हुन्छ ।’

वर्तमान समयमा अधिकार मात्र खोज्ने तर कर्तव्य नबिर्सने प्रवृत्ति मौलाएको भन्दै उनले दुःख व्यक्त गरेका छन् । उनले ‘आपसी घृणा र द्वन्द्वको राजनीति’ त्यागेर सद्भाव र एकताको बाटो रोज्न आह्वान गरेका छन् । साथै, देशको भू-बनोट र समाज सुहाउँदो व्यवस्थाले मात्र दिगो परिणाम दिन सक्ने उनको तर्क छ ।

यस्तो छ पूर्वराजाको सम्बोधन

नेपाली दिदीबहिनी तथा दाजुभाइहरू

जनता र राजाको संयुक्त प्रयत्नबाट ७५ वर्षअघि नेपालमा प्रजातन्त्रको मिर्मिरे घाम उदाएको सुखद् दिवसको सम्झना गर्दै हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

प्रजातन्त्र स्थापनाको निम्ति उदारता दर्शाइबक्सिने हाम्रो जिजुबुबा राष्ट्रपिता श्री ५ त्रिभुवनको सम्झना गर्दै मौसुफप्रति हामी श्रद्धा-सुमन अर्पण गर्दछौँ ।

प्रजातन्त्रका निम्ति जीवनदान दिने ज्ञात-अज्ञात शहीदहरू र प्रजातन्त्रका लागि क्रियाशील रहने सबै पात्रहरूप्रति पनि हामी श्रद्धाभाव व्यक्त गर्दछौँ ।

केही महिनाको झापा बसाइ पश्चात् राजधानी फर्कने क्रममा हाम्रो स्वागतमा सामेल हुनुहुने उपत्यकाका आदिवासी नागरिक एवं आम जनसमुदायमा हार्दिक आभारसहित धन्यवाद अर्पण गर्दछौँ ।

मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा हामीप्रति दर्शाएको यस्तो प्रेम र सद्भावले हाम्रा मन र मुटु मात्र छोएको नभई हाम्रा निम्ति एउटा अटल दायित्वबोधको प्रेरणा पनि मिलेको छ ।

सिङ्गै मुलुक यतिबेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको छ । देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन् ।

विगतमा अनेकौँ नाममा आन्दोलन र सङ्घर्ष भए । सङ्घर्षको आडमा परिवर्तन पनि गरिए तर सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ ।

हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर एउटा नेपालीको अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढावा दियौँ, जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो दर्दनाक स्थितिमा आइपुगेको छ ।

त्यसैले कठिन परिस्थितिमा परेको आजको मुलुकमा परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्णविराम लगाउँदै सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रवर्धन गरौँ ।

प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यताअनुरूप चल्नु उपयुक्त हुन्छ । प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए तापनि यतिबेलाको आम जनभावना यो छ कि- मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो ।

वर्तमान अवस्थामा अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको यस्तो दुःखद परिस्थितिमा आलोपालो भाग लगाएर खाउँ भन्ने सोचले होइन, मिलेर काम गरौँ भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ ।

प्रजातन्त्रमा जनता आफैँ जागरुक बनेर समाज र राष्ट्र सेवाको सत्कर्ममा अग्रसर हुन पाउनुपर्ने हो तर कसैलाई खुसी पार्नुपर्ने अनि कसैबाट तोकिनुपर्ने बाध्यात्मक व्यवस्थाको जन्जिरमा बाँधिनुपरेको छ ।

देशको भू-बनोट तथा समाजको प्रकृति सुहाउँदो व्यवस्था र प्रणालीले मात्र दिगो र सकारात्मक परिणाम दिन सक्छ । आम जनताको समग्र हित हुने तथा विश्वसामु नेपालीको उच्च शिर हुने व्यवस्था नै प्रजातान्त्रिक व्यवस्था नेपाललाई सुहाउँछ ।

कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ, जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई फाल्नु र फ्याँक्नुपर्छ । त्यसैले विश्वका कयौँ राष्ट्रहरू पहिले आफ्नो देश, पहिला आफ्नो जनता र पहिला आफ्नो आवश्यकता भन्दै त्यही प्राथमिकतामा प्रजातन्त्रको पाइला बसाइरहेका छन् । हो, हामीले पनि हाम्रो धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग, परीक्षण र प्रसोदन गर्दै जानुपर्दछ।

नेपालको एकीकरण, प्रजातान्त्रिकीकरण र आधुनिकीकरणसँगै जनताको बदलिँदो चाहना र आवश्यकतालाई ध्यानमा राखेर समानुकूल परिवर्तन र परिमार्जन गर्दै आम जनताको दैनिक कामकाज सहज र सरल बनाउँदै जानुपर्ने आजको पहिलो आवश्यकता हो ।

प्रजातन्त्रमा सबैथरी विचार, सबैथरी संस्कारको आधार हुनुपर्दछ । सबैले सबैलाई कदर गर्ने समन्वयकारी गुणबाट नै सामाजिक मूल्यको प्रजातन्त्र दिगो र दरिलो हुन्छ । अरूको भरमा परेर हामी अक्करमा नपरौँ । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्, जय नेपाल ।