बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, टिपरमा आगजनी

126
Shares

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–७ चाँदनीचोकस्थित सडक खण्डमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

फागुन ६ गते बिहान करिब सवा ८ बजे बा.प्र.०२–०६३प ९१८९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०१–००४ क ३४२३ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक धुलिखेल नगरपालिका–८ घर भई हाल धुलिखेल नगरपालिका–५ बस्दै आएका अन्दाजी ३१/३२ वर्षीय ओमन प्रधानलाई तत्काल उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै बिहान ८:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनापछि टिपर र स्कुटर दुवै सवारी साधन घटनास्थलमै रहेका थिए । टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ बस्ने अन्दाजी ३२ वर्षीय दिपक रोक्का जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

टिपरले ठक्कर दिएको भन्दै आक्रोशित भीडले टिपरमा आगजनी गर्दै केहीबेर सडक अवरुद्ध गरेका थिए । पछि प्रहरीको पहलमा टिपर हटाएर सडक सुचारु गरिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।