
काठमाडौं । गत शुक्रबारदेखि आइतबार (फेब्रुअरी १३ देखि १५) सम्म आयोजित ६२औं म्युनिख सिक्योरिटी कन्फरेन्सलाई सम्भवतः सन् १९४५ पछिको अन्तर्राष्ट्रिय सहमतिको आधिकारिक रूपमा अन्त्य भएको क्षणका रूपमा इतिहासले सम्झिनेछ ।
अमेरिकाको विध्वंसकारी राजनीतिले परिभाषित गरेको वैश्विक परिदृश्यको पृष्ठभूमिमा सम्पन्न यस कार्यक्रमले उच्च जोखिमयुक्त भूराजनीतिक नाटकको रूपमा काम गरेको विश्लेषकहरूको मत छ । यस वर्षको म्युनिख सुरक्षा रिपोर्टको शीर्षक ‘विनाशको प्रक्रियामा’ (अन्डर डिस्ट्रक्शन) ले पनि त्यही विध्वंसलाई संकेत गरेको छ ।
दशकौंदेखि म्युनिख सम्मेलन नियममा आधारित व्यवस्थाको आधारशिलाको रूपमा रहिआएको छ । यस सम्मेलनमा सहभागी भएर अमेरिका र युरोपले बहुपक्षीयता, मानवअधिकार र सिमानाको पवित्रताप्रति आफ्नो साझा प्रतिबद्धता दोहोर्याउने गरेका छन् । तर, सन् २०२६ मा आइपुग्दा यसलाई नयाँ सिद्धान्तहरूले हल्लाइदिएका छन् ।
यस सम्मेलनमा अमेरिकाका विदेशमन्त्री मार्को रुबियोको साम्राज्यवादी सम्बोधन र युरोपेली नेताहरूको चिन्तित स्वरले विश्व नयाँ प्रभावक्षेत्रहरूमा बाँडिँदै गएको तथा आधुनिक नवउपनिवेशवादतर्फ धकेलिएको अनुभव गरायो ।
रुबियो नयाँ विश्व व्यवस्थाको निर्माताका रूपमा म्युनिख पुगे । सम्मेलनको दोस्रो दिन उनले दिएको भाषण महत्त्वपूर्ण रह्यो । त्यो सम्बोधन विद्रोही, अतीतको सम्झना दिलाउने र शर्तैशर्तहरूको पुलिन्दा थियो ।
अघिल्लो वर्ष सोही स्थानमा अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले दिएको आक्रामक भाषणभन्दा रुबियोको स्वर केही नरम देखिए पनि उनको सन्देश उत्तिकै क्रान्तिकारी थियो ।
रुबियोले अमेरिकालाई फरक महाशक्तिको रूपमा नभई युरोपको सन्तानको रूपमा चित्रण गरे । उनले साझा इसाई सम्पदा र पश्चिमी सभ्यताको कुरा गरे । त्यसलाई उनले अद्वितीय, विशिष्ट र विस्थापन गर्न नमिल्ने भने । तर, पश्चिमी सभ्यताको जननी युरोपले अँगालेको नियममा आधारित विश्व व्यवस्थालाई उनले खतरनाक भ्रमको संज्ञा दिए । यसले संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूलाई व्यवस्थापन गरिएको पतन (म्यानेज्ड डिक्लाइन) को औजार मात्र बनाएको उनको भनाइ रह्यो ।
पश्चिमी जगतको पतनको व्यवस्थित केयरटेकर बन्न अमेरिकालाई कुनै चासो नरहेको उनले बताए । उनले युरोपेली नेताहरूलाई जलवायु पन्थ (क्लाइमेट कल्टिजम) र खुला सीमा नीति त्यागेर आफ्नो सार्वभौमसत्ता पुनः प्राप्त गर्न आग्रह गरे ।
आन्ध्र महासागरका दुई किनारा (अमेरिका र युरोप) बीचको फाटो अब नीतिमा मात्र सीमित नभई आधारभूत मान्यताहरूमा पनि देखिएको छ । रुबियोले विगतका महान् पश्चिमी साम्राज्यहरूको गौरवगान गरिरहँदा मर्ज र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ज्ञानोदय (इन्लाइटनमेन्ट) र अन्तर्राष्ट्रिय कानुनको आवश्यकताको बारेमा बोले
रुबियोको दृष्टिमा नयाँ विश्व व्यवस्थालाई सन्धिहरूले नभई राष्ट्रहरूले सुरक्षा प्रदान गर्छन् । यो यस्तो संसार हो जहाँ अमेरिका युरोपको सहयोगी तब मात्र रहनेछ जब युरोपले पश्चिमी मूल्यहरूको रक्षाका लागि आफूलाई सैन्य रूपमा मजबुत बनाउनेछ र आफ्नो औपनिवेशिक विगतलाई दोषी भावना र लज्जाको विषय मान्ने छैन । सजिलो गरी भन्दा उनले युरोपेली उपनिवेशवादको गुणगान गर्दै अमेरिका र युरोपले मिलेर नवउपनिवेशवादी नीति अपनाउनुपर्ने सन्देश दिए ।
रुबियोको भाषणले पश्चिमी आधिपत्यलाई पुनःस्थापित गर्नुपर्ने भनिरहँदा सम्मेलन केन्द्रमा उपस्थित युरोपेली नेताहरूले तालीको गडगडाहटका साथ त्यसलाई समर्थन गर्नु चिन्ताजनक थियो ।
यसका बावजुद अमेरिकासँगको सम्बन्धका विषयमा युरोपेली नेताहरूले दिएको प्रतिक्रिया रणनीतिक अस्तित्व रक्षामा केन्द्रित थियो । सम्मेलनको उद्घाटन गर्दै जर्मनीका चान्सलर फ्रेडरिक मर्जले अमेरिकी प्रतिनिधिमण्डललाई प्रत्यक्ष सम्बोधन गर्न अंग्रेजी भाषाको प्रयोग गरे । उनले ठूला शक्तिहरूबीचको प्रतिस्पर्धाको युगमा अमेरिकासँग पनि एक्लै अगाडि बढ्न सक्ने पर्याप्त शक्ति नहुने भनी चेतावनी दिए ।
मर्जको विश्लेषण स्पष्ट थियो । आन्ध्र महासागरका दुई किनारा (अमेरिका र युरोप) बीचको फाटो अब नीतिमा मात्र सीमित नभई आधारभूत मान्यताहरूमा पनि देखिएको छ । रुबियोले विगतका महान् पश्चिमी साम्राज्यहरूको गौरवगान गरिरहँदा मर्ज र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ज्ञानोदय (इन्लाइटनमेन्ट) र अन्तर्राष्ट्रिय कानुनको आवश्यकताको बारेमा बोले ।
म्याक्रोनले केही हप्ताअघि स्विटजरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा व्यक्त गरेको भावनालाई दोहोर्याउँदै युरोपेली जागरणका लागि आह्वान गरे । युरोपले बाह्य शक्तिहरूको प्रतिस्पर्धाको अखडा बन्नुको साटो अन्तरिक्ष, गुप्तचर सूचना र रक्षा क्षेत्रमा आफ्नै रणनीतिक मेरुदण्ड विकास गर्नुपर्ने उनले सुझाव दिए ।
महत्त्वपूर्ण रूपमा, मर्ज र म्याक्रोनले युरोपेली आणविक प्रतिरोध (न्युक्लियर डिटरेन्ट) बारे छलफल गर्ने संकेत दिए । यो युरोपका लागि उपलब्ध अमेरिकाको सुरक्षा छाता अब स्थायी नहुन सक्छ भन्ने कुराको स्पष्ट संकेत थियो ।
बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले यस परिवर्तनलाई समर्थन गर्दै युरोपलाई निदाएको विशाल शक्तिका रूपमा चित्रित गरे । युरोपले अन्ततोगत्वा आफ्नो सुरक्षाको जिम्मेवारी आफैं लिनुपर्ने उनले बताए । युरोपेली नेताहरूले खोजेको यो स्वतन्त्रता सैन्य लक्ष्य मात्र नभई आर्थिक पनि थियो । त्यस अवस्थामा अमेरिका र चीन दुवैले हतियारको रूपमा प्रयोग गरिरहेको विश्वव्यापी व्यापार प्रणालीबाट युरोपलाई जोगाउन सकिने उनीहरूको आशय हो ।
म्युनिख सिक्योरिटी कन्फरेन्सको सम्भवतः सबैभन्दा विवादास्पद विषय साम्राज्यवादी तर्कको पुनरुत्थान थियो । त्यसलाई नवउपनिवेशवादको छायाँमा चर्चा गरिएको थियो । यस चर्चाको केन्द्रविन्दुमा ग्रीनल्यान्ड थियो । ट्रम्प प्रशासनले डेनमार्कको यो क्षेत्र प्राप्त गर्न देखाएको आक्रामकतालाई रुबियोले आर्कटिक क्षेत्रको सुरक्षाको लागि आवश्यक कदम भनी जायज ठहर्याउन खोजे । त्यसले धेरैलाई चकित बनायो ।
म्याक्रोनले स्पष्ट रूपमा नयाँ साम्राज्यवादका विरुद्ध चेतावनी दिए । त्यस सोचले क्षेत्र र स्रोतसाधनहरूलाई लेनदेनको गोटीको रूपमा व्यवहार गर्छ । म्युनिख सम्मेलन लगत्तै इथियोपियाको राजधानी अदिस अबाबामा भएको अफ्रिकन युनियनको शिखर सम्मेलनमा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले पनि यस्तै भावना व्यक्त गरे । विश्व यस्तो युगमा प्रवेश गर्दैछ जहाँ प्रमुख शक्तिहरूले महत्त्वपूर्ण खनिजहरूका लागि सार्वभौम राष्ट्रहरूको ढुंगा, माटो र धूलोलाई निशाना बनाउनेछन् भन्दै रामाफोसाले चेतावनी दिएका छन् ।
म्युनिखमा ग्रीनल्यान्ड सम्बन्धी बहसलाई नयाँ विश्व व्यवस्थाको एक परीक्षणका रूपमा हेरिएको छ । अमेरिकाले एकतर्फी रूपमा नेटोको सहसदस्य डेनमार्कको भूभाग कब्जा गर्ने मनसुबा राख्छ भने राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरू म्युनिख सम्मेलनको शीर्षकझैं विनाशको प्रक्रियामा छन् । रुबियोले महान् पश्चिमी साम्राज्यहरूको प्रतिरक्षा गर्नु र युरोपलाई आफ्नो औपनिवेशिक इतिहासप्रति लज्जित नहुनका लागि आह्वान गर्नु वास्तवमा संसाधनमा आधारित विस्तारवादको नयाँ युगलाई वैधता दिने प्रयासहरू हुन् भनी आलोचकहरूले तर्क गरेका छन् ।
अमेरिकाको ट्रम्प प्रशासनको दोस्रो कार्यकालले नयाँ विश्व व्यवस्थालाई बहुपक्षीयताबाट लेनदेनमुखी राजनीतितर्फको परिवर्तनका साथ परिभाषित गरेको छ । नियमहरू बारम्बार उल्लंघन भए पनि नियमहरूको अस्तित्व आवश्यक छ भन्ने धारणा सहित ८० वर्षसम्म विश्व चलिरहेको थियो । तर, म्युनिख सम्मेलनमा व्यक्त गरिएका धारणाले ती नियमहरूको निर्माता अमेरिका स्वयं ती नियमहरू भत्काउने मुख्य पात्र बनेको स्पष्ट पारेको छ ।
उदाउँदै गरेको नयाँ विश्व व्यवस्थाका प्रमुख विशेषताहरूको चर्चा गरौं । पहिलो विशेषता सभ्यतागत यथार्थवाद हो । रुबियोले राष्ट्रभन्दा बढी सभ्यताको भाषा बोले । रुबियोको इसाई धर्ममा आधारित सभ्यतागत गठबन्धनको आह्वानले विश्वलाई बाइडन प्रशासनको लोकतन्त्र विरुद्ध निरंकुशतन्त्र विचारधाराको आधारमा नभई सांस्कृतिक र जातीय पहिचानको आधारमा विभाजित गर्ने संकेत गर्छ । युरोपको खुला सीमाको फाइदा उठाएर अन्य सभ्यताका मानिसको अतिक्रमण भइरहेकाले त्यसलाई प्रतिकार गर्नुपर्ने ट्रम्प प्रशासनका अधिकारीहरूको मत छ । अमेरिकी राजनीतिशास्त्री स्यामुअल पी. हन्टिङटनको सभ्यताको द्वन्द्व अवधारणालाई यसले स्मरण गराउँछ ।
दोस्रो विशेषता आवश्यकताका रूपमा रणनीतिक स्वायत्तताको यथार्थ हो । युरोपले रक्षा र ऊर्जामा स्वतन्त्रतातर्फ झुकाव राख्नु सामूहिक पश्चिम (कलेक्टिभ वेस्ट) खण्डित हुँदै गइरहेको संकेत हो । यसको साटो बहुकेन्द्रीय व्यवस्थाको उदय देखिँदैछ । त्यसअन्तर्गत अमेरिकाको अनिश्चितता र चीनको कठोरताबाट जोगिन युरोप तेस्रो ध्रुवको रूपमा खडा हुन खोज्दैछ । तर, युरोपसँग त्यसका लागि आवश्यक शक्ति छ कि छैन भन्ने प्रश्न उठाउन सकिन्छ ।
तेस्रो विशेषता विश्वव्यापी शासनको अन्त्य हो । राष्ट्रसंघ र नियममा आधारित व्यवस्थाप्रति रुबियोको अपमानजनक टिप्पणीले दोस्रो विश्वयुद्ध पछिको संस्थागत युगको अन्त्यलाई संकेत गर्छ । अबको नयाँ व्यवस्था बहुपक्षीय भन्दा पनि द्विपक्षीय कूटनीतिबाट परिभाषित हुन्छ । यसमा युक्रेन, गाजा र भेनेजुएला जस्ता संकटहरू अन्तर्राष्ट्रिय मध्यस्थता भन्दा पनि द्विपक्षीय सम्झौता र शक्तिको आधारमा सुल्झाइनेछन् ।
अमेरिकाका लागि जर्मनीका पूर्व राजदूत वुल्फगाङ इशिन्जरले म्युनिख सुरक्षा सम्मेलनमा आफ्नो समापन मन्तव्यमा भने जस्तै पुरानो प्रणाली ध्वस्त भएको जोखिम मात्र नभई यसको ठाउँमा के ल्याउने भन्ने कुरामा अझै दुविधा छ
चौथो विशेषता लेनदेनमुखी सुरक्षा हो । आन्ध्र महासागर वारिपारिको सम्बन्ध अब मूल्यहरूको सम्बन्धबाट सुविधाको साझेदारीमा परिणत भएको छ । अमेरिकी सुरक्षा अब ‘सब्सक्रिप्शन सर्भिस’ र ‘प्रिभिलेज टु बी अर्न्ड’ जस्तो बनेको रुबियोको नरम तर स्पष्ट सन्देशले युरोपेली र एसियाली साझेदारहरूलाई झस्काएको छ । अबदेखि अमेरिकी सुरक्षा प्राप्त गर्नका लागि अमेरिकाको आन्तरिक र आर्थिक प्राथमिकताहरूसँग पूर्ण रूपमा सहमत हुनुपर्नेछ । युरोपको हकमा त्यो भनेको कन्जर्भेटिभ विचारधारालाई अंगीकार गर्ने र युरोपेली संघको प्रशासनतन्त्रबाट छुटकारा पाउने हो ।
ट्रम्प प्रशासनको दोस्रो कार्यकालले पुरानो संसार अब बाँकी नरहेको स्पष्ट पारेको छ । यस पृष्ठभूमिमा म्युनिख सुरक्षा सम्मेलन फगत बैठक मात्र नभई पुरानो युगको अन्त्येष्टि र भविष्यको अराजकताको पूर्वाभ्यास समेत रह्यो भनी विश्लेषकहरू बताउँछन् ।
नयाँ विश्व व्यवस्था पुराना मान्यताहरूको विनाश, क्षेत्रीय शक्तिहरूको उदय र सार्वभौमसत्ता सैन्य शक्तिले मात्र सुरक्षित हुने अवधारणाबाट परिभाषित छ ।
अमेरिकाका लागि जर्मनीका पूर्व राजदूत वुल्फगाङ इशिन्जरले म्युनिख सुरक्षा सम्मेलनमा आफ्नो समापन मन्तव्यमा भने जस्तै पुरानो प्रणाली ध्वस्त भएको जोखिम मात्र नभई यसको ठाउँमा के ल्याउने भन्ने कुरामा अझै दुविधा छ । इटलीका बीसौं शताब्दीका मार्क्सवादी चिन्तक एन्टोनियो ग्राम्स्कीको भनाइ ‘पुरानो विश्व मर्दैछ, नयाँ विश्व जन्म लिनका लागि संघर्ष गर्दैछ, अहिले राक्षसहरूको समय हो’ अहिलेको समयका लागि सान्दर्भिक उद्धरण हो ।










प्रतिक्रिया