डिजेल र पेट्रोलको मूल्य बढ्यो, सोमबारदेखि लागू

0
Shares

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भोलि सोमबारदेखि लागू हुने गरी डिजेल÷मट्टितेल र पेट्रोलको मूूल्य बढाएको छ । निगमले डिजेल÷मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर १ रुपैयाँका दरले खुद्रा मूूल्य बढाएको हो ।

निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै सीमित मूल्य समायोजन गरिएको जनाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार फागुन ४ गते बिहान ००ः०१ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको हो।

नयाँ मूल्यअनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका क्षेत्रमा पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५४.५० रुपैयाँ, दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी डिजेल÷मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १३९.५० रुपैयाँ, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ तोकिएको निगमले जनाएको छ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्र पर्दछन्। दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समावेश छन्।