महाशिवरात्रीका दिन बिहान २ बजे पशुपति मन्दिरका ४ वटै ढोका खोलिने

49
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

महाशिवरात्रीको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट, भक्तजनलाई सहज रुपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कोषले जनाएको छ ।

महाशिवरात्री पर्वलाइ सुरक्षित र मर्यादीत बनाउन नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरिने बताइएको छ ।

महाशिवरात्रीका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने र मन्दिर प्रवेशका लागि विभिन्न चार स्थानबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले जानकारी दिए ।

यस्तै, पाशुपत क्षेत्रमा माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्नरनगराउन समेत कोषले सचेत गराएको छ ।

महाशिवरात्री मनाउन पशुपतिनाथ मन्दिरमा बिभिन्न देशबाट साधुसन्तहरुको समेत आगामन भइसकेको कोषले जनाएको छ । यस बर्षको महशिवरात्री फाल्गुन ३ गते आइतबार मनाइदैछ ।