
काठमाडौं । नेपाल आयल निगमले टेकुस्थित आफ्नो परिसरबाट तीन वटा कम्पनीको ग्यास बिक्री बितरण गर्न सुरु गरेको छ ।
पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव समस्या समाधान गर्न निगमले ग्यास उद्योगीको सहकार्यमा अवस्थामा सुधार नहुँदासम्म टेकु परिसरबाट नेपाल ग्यास, सुगम ग्यास र एभरेष्ट ग्यासको बिक्री गर्न सुरु गरेको हो ।
निगमको एलपी ग्यास एभिएसन विभागका प्रमुख बिनितमणि उपाध्यायका अनुसार पछिल्लो समयमा विभिन्न प्राविधिक कारणले गर्दा प्रमुख तीन कम्पनीको ग्यास सिलिण्डरको बजारमा अभाव सिर्जना भएको थियो । हल्लाको भरमा आम उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर जम्माखोरी गर्न थालेपछि नेपाल, सुगम र एभरेष्ट ब्राण्डको सिलिण्डरको अभाव देखिएको थियो ।
बजारलाई पूर्ववत् रुपमा चलायमान बनाउन टेकु कार्यालयबाट उक्त तीनवटै कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाइएको उपाध्यायले जानकारी दिए । टेकु बिक्री केन्द्रबाट आवश्यकताको आधारमा आम उपभोक्ताले ग्यास सिलिण्डर खरिद गर्न पाउने सुविधा उपलब्ध गराइएको छ ।
यसअघि हिजो ग्यास डिलर, ग्यास उद्योगी र निगमबीच बजार सुधार गर्ने बिषयमा छलफल भएको थियो ।
उपाध्यायका अनुसार घरायसी, होटल तथा रेस्टुरेन्ट, उद्योगको नियमित माग र आगामी निर्वाचनको समयमा बढ्ने मागका आधारमा फेब्रुअरी महिना (माघ १८ देखि फागुन १६ गते) का लागि ग्यासको कोटा ५२ हजार मेट्रिक टन तोकेर आईओसीलाई पत्र पठाएको छ । आईओसीले नेपाललाई ४९ हजार ५ सय मेट्रिक टनको मासिक कोटा उपलब्ध गराएको छ ।
पछिल्लो समय सामान्य अवस्थामा भन्दा बढी परिमाणमा ग्यास आयात भए तापनि माघ महिनाको दोस्रो सातादेखि तेस्रो साताको मध्यसम्म काठमाडौं उपत्यकाका उपभोक्ताले केही ब्रान्डका ग्यासको अभाव झेल्न बाध्य भएका थिए ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सामान्य महिनामा खपत हुने परिमाणको तुलनामा जनवरी महिना (पुस १७ देखि माघ १७ सम्म) मा साढे २ हजार मेट्रिक टन बढी ग्यास आयात भएको थियो ।
सामान्यतया देशभर मासिक ४५ हजार मेट्रिक टन खाना पकाउने ग्यास खपत भइरहँदा नोभेम्बर २०२५ मा ४७ हजार २ सय ६४ मेट्रिक टन, डिसेम्बरमा ४८ हजार ५ सय ३१ मेट्रिक टन र जनवरी २०२६ मा ४७ हजार ३ सय ४ मेट्रिक टन ग्यास आयात भएको थियो ।
बजारमा देखा परेको कृत्रिम अभावलाई समाधान गर्ने उद्देश्यले निगमले पछिल्लो समय मागभन्दा बढी परिमाणमा आपूर्ति बढाएको छ । जसका कारण बजारमा बिस्तारै ग्यासको समस्या समाधान हुँदै गएको छ ।
निगमका अनुसार करिब डेढ महिनाअघि भारतको बरौनीस्थित रिफाइनरी केन्द्र नियमित कार्यतालिका अनुसार मर्मतसम्भार तथा सरसफाइ प्रक्रियामा गएको थियो । यसले गर्दा माग अनुसारको ‘लोडिङ’ मा समस्या भई उपत्यकाको बजारमा केही प्रभाव परेको थियो ।
पछिल्लो समय जाडोयामका साथै आसन्न निर्वाचनका कारण पनि सिलिण्डरको माग बढ्दै गएको छ । अर्कोतर्फ, केही साताअघिसम्म रिफाइनरी केन्द्रबाट पर्याप्त आपूर्ति हुन नसक्नु र ढुवानीमा संलग्न भारतीय नम्बर प्लेटका झन्डै २५ प्रतिशत (करिब १ हजार ७ सय ५०) बुलेटले ढुवानी कटौती गर्नुले पनि अभाव सिर्जना भएको थियो ।
यसबाहेक, निर्वाचनको मुखमा ढुवानी भाडादर वृद्धि गराउन दबाब दिने उद्देश्यले केही उद्योगीले कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ ।
निगमका अनुसार भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई चारवटा बरौनी, हल्दिया, मथुरा र पारादीप रिफाइनरी केन्द्रबाट मासिक रुपमा ग्यास आयात गर्नका लागि कोटा निर्धारण गरेको छ । यी चार स्थानबाट स्थानअनुसार कोटा तोकेको हुन्छ ।
त्यो कोटाअनुसार निगमले ग्यास उद्योगलाई पायक पर्ने रिफाइनरी केन्द्रका नाममा प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गर्छ । त्यो पीडीओका आधारमा ग्यास उद्योगीले भारतीय ट्रान्सपोर्टरको सहयोगमा ग्यास आयात गर्दै आएका छन् ।








प्रतिक्रिया