
काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको विकासमा हुवावेले पछिल्ला दुई दशकदेखि निरन्तर योगदान दिँदै आएको छ । नेपालका टेलिकम कम्पनीहरूसँग सहकार्य गर्दै टुजी, थ्रीजी हुँदै फोरजी सेवाको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको हुवावेले डाटा सेन्टर, आईसीटी पूर्वाधार, नेटवर्क निर्माण, स्मार्टफोन तथा कन्ज्युमर इलेक्ट्रोनिक्स क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याएको छ ।
पूर्वाधार विकाससँगै हुवावेले दक्ष मानवस्रोत विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ । डिजिटल रूपान्तरणका लागि सीपयुक्त जनशक्तिलाई आधारस्तम्भ मानेर कम्पनीले नेपालको राष्ट्रिय डिजिटल प्राथमिकतासँग मेल खाने गरी आईसीटी प्रतिभा उत्पादनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यसै पहलअन्तर्गत हुवावे नेपालले सन् २०१९ मा ‘सिड्स फर द फ्युचर’ कार्यक्रम नेपालमा सुरु गरेको हो । हुवावेको विश्वव्यापी संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन भइरहेको यस कार्यक्रमको उद्देश्य युवा आईसीटी प्रतिभा विकास, डिजिटल नवप्रवर्तनको प्रवर्द्धन तथा भावी प्रविधि नेतृत्व तयार गर्नु रहेको छ ।
कार्यक्रम सुरु भएयता चीन, थाइल्यान्ड र सिंगापुरमा भौतिक तथा भर्चुअल रूपमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक तथा प्राविधिक आदान–प्रदान कार्यक्रममा ४९ जना नेपाली विद्यार्थी सहभागी भई तालिम लिइसकेका छन् । यस्तै, नेपालमै सञ्चालन गरिएका स्थानीय तालिम तथा डिजिटल सीप विकास कार्यक्रमबाट १७० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् ।
विश्वव्यापी रूपमा सन् २००८ मा थाइल्यान्डबाट सुरु भएको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमबाट हालसम्म १४० भन्दा बढी देशका १९ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् ।
यसैक्रममा सन् २०२५ मा पाँच जना उत्कृष्ट नेपाली विद्यार्थी ‘सिड्स फर द फ्युचर’ कार्यक्रममा छनोट भएका थिए । उक्त कार्यक्रममा विश्वका १० भन्दा बढी देशका ६५ भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रमका दौरान सहभागी विद्यार्थीहरूले फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र क्लाउड कम्प्युटिङसम्बन्धी व्यवहारिक आईसीटी तालिम लिँदै डिजिटल अर्थतन्त्रका उदीयमान प्रविधिबारे प्रत्यक्ष अनुभव प्राप्त गरेका थिए । साथै, हुवावेका स्मार्ट पीभी समाधानमार्फत सौर्य ऊर्जा र ऊर्जा व्यवस्थापनले दिगो सहर तथा औद्योगिक सञ्चालन कसरी सम्भव बनाइरहेको छ भन्नेबारे अध्ययन गरिएको थियो ।
विद्यार्थीहरूले स्मार्ट गभर्नेन्स मोडलमार्फत एआईलाई शासन प्रणालीमा समावेश गरी कार्यक्षमता वृद्धि र नागरिक–केन्द्रित सेवा प्रवर्द्धनका अभ्यासबारे जानकारी लिएका थिए । त्यस्तै, ड्रोन प्रविधि र स्वचालित प्रणालीको प्रयोग कृषि, विपद् व्यवस्थापन तथा सार्वजनिक सेवामा कसरी भइरहेको छ भन्ने विषयमा अनुभव आदान–प्रदान गरिएको थियो ।
कार्यक्रमअन्तर्गत इनोएक्स एकेडेमीमार्फत चीनको इनोभेसन इकोसिस्टम तथा स्टार्टअप संस्कृतिबारे अवलोकन गराइएको थियो । विश्वका प्रतिष्ठित व्यवसायिक व्यक्तिहरूसँग नवप्रवर्तन र नेतृत्व विकासमा केन्द्रित छलफल हुनुका साथै चीनका विभिन्न सहरस्थित नवप्रवर्तन केन्द्रहरूको भ्रमणमार्फत प्रविधिको विकासबारे प्रत्यक्ष अनुभूति लिने अवसर समेत सहभागी विद्यार्थीले पाए ।
यस कार्यक्रमले प्राविधिक ज्ञानसँगै विद्यार्थीहरूलाई विश्वभरका सहकर्मीहरूसँग नेटवर्क विस्तार, विचार आदान–प्रदान तथा अन्तर–सांस्कृतिक मित्रता निर्माण गर्नसमेत सहयोग पुर्याएको हुवावेले जनाएको छ ।
हुवावे नेपालले ‘सिड्स फर द फ्युचर’ कार्यक्रम नेपालका चर्चित विश्वविद्यालयहरू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युनेस्कोसँगको सहकार्यमा सञ्चालन गर्दै आएको छ । यस सहकार्यले राष्ट्रिय युवा सशक्तीकरण तथा डिजिटल विकास नीतिसँग कार्यक्रमको स्पष्ट सामञ्जस्य सुनिश्चित गरेको बताइएको छ ।










प्रतिक्रिया