औषधि उत्पादनको केन्द्र बन्ने भारतको पहल, बजेटमा बायोफर्मा शक्ति मिशनको घोषणा


एजेन्सी । भारतलाई जटिल जैविक औषधिहरूको उत्पादन केन्द्रका रूपमा प्रवर्धन गर्नका लागि संघीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार १० हजार करोड भारुको बजेट विनियोजनसहित आगामी पाँच वर्षका लागि बायोफर्मा शक्ति मिशनको घोषणा गरेकी छन् ।

‘यसले बायोलोजिक्स र बायोसिमिलरको स्वदेशी उत्पादनका लागि एउटा पारिस्थितिक प्रणाली निर्माण गर्नेछ । भारतमा मधुमेह, क्यान्सर र अटोइम्युन विकार जस्ता नसर्ने रोग हरू बढी देखिएका छन् । जैविक औषधिहरू सुलभ लागतमा दीर्घायु र गुणस्तरीय जीवनका लागि महत्त्वपूर्ण हुन्छन्,’ उनले भनिन् ।

यस मिशनअन्तर्गत तीनवटा नयाँ नेशनल इन्स्टिच्युट अफ फर्मास्युटिकल एजुकेशन एन्ड रिसर्च स्थापना गरिनेछन् र अन्य सातवटाको स्तरोन्नति गरिनेछ । साथै, यस मिशनले १ हजारवटा मान्यताप्राप्त क्लिनिकल ट्रायल साइटहरूको सञ्जाल पनि तयार गर्नेछ । औषधिहरूलाई बजारमा लैजानुअघि गरिने परीक्षणका लागि त्यो अनिवार्य हुन्छ ।

बायोफर्मा हब बनाउने लक्ष्यलाई सघाउन सरकारले केन्द्रीय औषधि मानक नियन्त्रण संगठनलाई विश्वव्यापी मापदण्ड अनुसार सुदृढ बनाउन काम गर्ने सीतारमणले थपिन् । औषधि नियामकले विश्वव्यापी रूपमा प्रचलित अनुमोदन समयसीमा पालना गर्न सकोस् भन्ने सुनिश्चित गर्न सरकारले एक समर्पित वैज्ञानिक समीक्षा क्याडर र विशेषज्ञ टोली बनाउने योजना पनि राखेको छ ।

Skip This